बङ्गलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचन सफलताको कामना - kendrabindu.com
काठमाडौं। बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना गरेका छन् । बङ्गलादेशका प्रधानमन्त्रीले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग मङ्गलबार साँझ भएको भेटमा नेपालमा आसन्न संसदीय निर्वाचनको सफलताको शुभकामना व्यक्त गरेका छन् । ढाकास्थित नेपाली राजदूतावासले उक्त जानकारी दिएको छ । त्यस अवसरमा मन्त्री शर्माले बङ्गलादेशको प्रधानमन्त्री बनेकोमा बधाई दिँदै प्रधानमन्त्री सुशीला कार्कीले पठाएको बधाई सन्देश हस्तान्तरण गरेका थिए। सन्देशमा प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री रहमानलाई बधाई दिँदै दुवै देश र जनताका साझा हितका लागि आपसी सम्मान, साझा प्रतिबद्धता र साझेदारीको भावनाका साथ काम गर्ने इच्छा व्यक्त गरेकी छन् । दूतावासका अनुसार परराष्ट्रमन्त्री शर्माले निर्वाचन सञ्चालन गरी लोकतान्त्रिक प्रक्रियामा सङ्क्रमण सुनिश्चित गरेको भन्दै बङ्गलादेश सरकारको प्रशंसा गरेका थिए । साथै नेता रहमान नेतृत्वको बङ्गलादेश नेशनलिस्ट पार्टीले बहुमत प्राप्त गरेकोमा बधाई दिएका थिए । प्रधानमन्त्री रहमानले शपथग्रहण समारोहमा सहभागी भएकोमा मन्त्री शर्मालाई धन्यवाद दिँदै यसले नेपाल सरकार र जनताका तर्फबाट बङ्गलादेश सरकार र जनताप्रति देखाइएको सद्भाव र एकता प्रतिबिम्बित गरेको बताएका छन् । नेपाल र बङ्गलादेशबीचको साझेदारी सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याउँदै प्रधानमन्त्री रहमान र परराष्ट्रमन्त्री शर्माले व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार, शिक्षा, पर्यटनलगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल गरेका छन् । त्यसअघि, परराष्ट्रमन्त्री शर्मा बङ्गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूको शपथग्रहण समारोहमा सहभागी भएका थिए । साथै उनले बङ्गलादेश जमत–ए–इस्लामीका नेता शफिकुर रहमानसँग भेटवार्ता गरेका थिए । उक्त भेटमा द्विपक्षीय सहकार्यका विषयमा विचारविमर्श भएको थियो । परराष्ट्रमन्त्री शर्मा बिहीबार स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री रहमानको शपथ समारोहमा सहभागी हुन उनी गत सोमबार ढाका गएका थिए ।