Redirecting...

रौतहटमा बाढी र चट्याङको कहर: पाँच दिनमा सात जनाको मृत्यु - nagariknews.nagariknetwork.com

रौतहटमा बाढी र चट्याङको कहर: पाँच दिनमा सात जनाको मृत्यु - nagariknews.nagariknetwork.com
Source: ngrk

विगत पाँच दिनदेखिको अविरल वर्षापछिको बाढी र चट्याङका कारण रौतहटमा ७ जनाले ज्यान गुमाएका छन्।गत शुक्रबारदेखि सुरु भएको भीषण वर्षाले जिल्लाका विभिन्न नदीहरूमा बाढी आउँदा डुबेर ५ जनाको र चट्याङ लागेर २ जनाको मृत्यु भएको हो।घटनाक्रम अनुसार रौतहटको देवाही गोनाही नगरपालिका-६ कर्कचमा बाढीको पानीमा डुबेर बेपत्ता भएका दुई बालिकाको शव मंगलबार फेला परेको छ।सोमबार गाउँ नजिकै जमेको पानीमा नुहाउन जाँदा स्थानीय रामदयाल रामकी १२ वर्षीया छोरी आरती कुमारी र शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमा कुमारी बेपत्ता भएका थिए।लाल बकैया नदीको बाढी गाउँ पसेपछि बनेको भंगालोमा नुहाउने क्रममा उनीहरू डुबेका थिए। स्थानीय बासिन्दा र सुरक्षाकर्मीको संयुक्त प्रयासमा मंगलबार बिहान ११ बजेतिर दुवैको शव फेला परेको प्रहरीले जनाएको छ।दुवै शवलाई पोस्टमार्टमका लागि गौर अस्पताल पठाइएको छ।यसअघि आइतबार पनि बाढीमा डुबेर तीन जनाको मृत्यु भएको थियो। राजपुर नगरपालिका-८ बलुवामा लाल बकैया नदीमा नुहाउने क्रममा स्थानीय गोनउर मियाका १० वर्षीय छोरा अरबाज मियाको डुबेर मृत्यु भयो।त्यसैगरी, इशनाथ नगरपालिका-१ बन्जरहाकी ६० वर्षीया राज कुमारी देवी र माधवनारायण नगरपालिका-८ खरकी रजबाडाकी ७५ वर्षीया पन्मा देवीको बागमती नदीमा डुबेर ज्यान गएको थियो।त्यस्तै, शनिबार चट्याङ लागेर रौतहटको कटहरिया नगरपालिका-२ हथियाहीका १७ वर्षीय सरोज लहेरी र १६ वर्षीय नविन यादवको मृत्यु भएको थियो। लगातारको प्राकृतिक विपत्तिले जिल्लाका विभिन्न स्थानमा मानवीय क्षति पुर्‍याएको छ भने जनजीवन प्रभावित बनेको छ।