Redirecting...

जागृति महिला सामुदायिक वनको कोष हिनामिनाः अध्यक्ष–सचिवसहित ४ जनाविरुद्ध मुद्दा दायर - ehimalayatimes.com

जागृति महिला सामुदायिक वनको कोष हिनामिनाः अध्यक्ष–सचिवसहित ४ जनाविरुद्ध मुद्दा दायर - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला उदयपुरको त्रियुगा नगरपालिका–१ स्थित जागृति महिला सामुदायिक वन उपभोक्ता समूहको कोष हिनामिना गरेको अभियोगमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखापरीक्षकविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ। अख्तियारका अनुसार तत्कालीन अध्यक्ष मिना कुमारी चौधरी, सचिव जानकी कुमारी चौधरी, कोषाध्यक्ष निलम चौधरी थारु तथा लेखापरीक्षक तनुक लाल चौधरीले आपसी मिलेमतोमा उपभोक्ता समूहको सार्वजनिक सम्पत्तिको दुरुपयोग गरी कुल रु. ५ लाख १५ हजार ३०२ रुपैयाँ ५८ पैसा हिनामिना गरेका छन्। अनुसन्धानबाट सामुदायिक वनको भवन निर्माणमा प्राविधिक प्रतिवेदन अनुसार रु. ४,९५,२५१.७३ मात्र खर्च भएको देखिए पनि लेखापरीक्षण प्रतिवेदनमा रु. ८,०८,४५३.३१ खर्च भएको देखाई रु. ३,१३,२०१.५८ हिनामिना गरिएको खुलेको छ। त्यस्तै, वन पैदावार संकलन खर्च साधारण सभाबाट रु. २,३७,८४३ स्वीकृत भए पनि रु. ३,५४,६२४ खर्च देखाई रु. १,१६,७८१ हिनामिना गरिएको अख्तियारको निष्कर्ष छ। उपभोक्तालाई ग्यास सिलिण्डर वितरणमा स्थलगत जाँचबाट रु. ५,०९,२०० पुष्टि भएकोमा रु. ५,१६,९२० खर्च देखाई रु. ७,७२० अतिरिक्त रकम दुरुपयोग गरिएको पाइएको छ। साथै, हुँदै नभएको सडक ग्राभेल कार्य देखाई रु. ७७,६०० हिनामिना गरिएको पनि अनुसन्धानमा देखिएको छ। दर्तावाला लेखापरीक्षक तनुक लाल चौधरीले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण गर्दा नापी किताब तथा बिल भरपाई नहेरी प्रतिवादीहरूसँग मिलेमतो गरी झुट्टा विवरण प्रस्तुत गरेको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार प्रतिवादीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर ठहर हुने भएकाले आज विशेष अदालत, काठमाडौंमा सजायको मागदाबी सहित आरोपपत्र दायर गरिएको हो।