निर्वाचन लक्षित अभियानमा वाईसिएल सुनकोशी सक्रिय, ३५१ युवा परिचालन गर्ने तयारी - kendrabindu.com
सिन्धुली। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल, सुनकोशीले ३५१ जना युवालाई परिचालन गर्ने निर्णय गरेको छ। सुनकोशी गाउँपालिकामा आयोजित विस्तारित बैठकले सिन्धुली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ केन्द्रित अभियानलाई व्यवस्थित बनाउने रणनीति तय गरेको जनाएको छ। बैठकपछि जारी जानकारीअनुसार युवाहरूलाई घरदैलो, टोल–समुदायस्तर र प्रचार कार्यक्रममा सक्रिय बनाइनेछ। निर्वाचन अभियानलाई तीव्र बनाउने उद्देश्यले संगठनले युवामार्फत पार्टीका नीति, कार्यक्रम र उम्मेदवारको धारणा मतदातामाझ पु¥याउने योजना बनाएको छ। सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ दाहाल ‘राजन’लाई समर्थन गर्ने निर्णयसमेत बैठकले गरेको छ। वाईसिएलका अनुसार युवाशक्ति परिचालनमार्फत निर्वाचन गतिविधिलाई थप सक्रिय बनाउने र मतदातासँग प्रत्यक्ष संवाद बढाउने लक्ष्य लिइएको छ। जिल्लाभर अभियान विस्तार गर्ने तयारी भइरहेको संगठनले जनाएको छ।