‘दामली अक्षर’ संयुक्त कृतिको लोकार्पण - sahityapost.com
पोखरा । शब्दालयको प्रकाशन तथा आयोजनामा संयुक्त कृति ‘दामली अक्षर’ एक समारोहबीच लोकार्पण गरिएको छ। प्रणय दिवसका अवसर पारेर आयोजित कार्यक्रममा कृतिका स्रष्टाहरू लक्ष्मण थापा, डा. ईश्वरमणि अधिकारी, दीपक समीप र जीवन सागर भण्डारीका धर्मपत्नीहरू क्रमशः मैंया थापा, रीता अधिकारी ‘ऋतु’, शर्मिला श्रेष्ठ र मञ्जु भण्डारीले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभएकाे थियाे । कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ र रमेश श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । शुभकामना दिने क्रममा बिम्बकवि रमेश श्रेष्ठले अक्षरको शक्ति र सौन्दर्यको महत्त्व उल्लेख गर्दै कृतिको सफलताको कामना गर्नुभयाे । साहित्यकार तीर्थ श्रेष्ठले नेपाली मुक्तक लेखन तथा वाचनमा पोखराको विशिष्ट स्थान रहेको उल्लेख गर्दै समकालीन स्रष्टाहरूको सहकार्यले नेपाली मुक्तक तथा समग्र साहित्यिक क्षेत्र समृद्ध हुने विश्वास व्यक्त गर्नुभयाे । त्यसैगरी सरुभक्तले नेपाली तथा विश्व साहित्यमा संयुक्त कृति प्रकाशनको परम्परा र इतिहासको चर्चा गर्दै ‘दामली अक्षर’ले नेपाली मुक्तकमा पोखरेली सर्जकहरूको सशक्त प्रतिनिधित्व गरेको धारणा राख्नुभयाे । स्रष्टाहरूका तर्फबाट डा. ईश्वरमणि अधिकारीले शब्द सूक्ष्म देखिए पनि प्रकाश, सौन्दर्य र शक्तिको स्रोत भएको उल्लेख गर्दै मानवीय चेतना, अनुभूति र संवेदनाको समष्टिगत अभिव्यक्ति नै ‘दामली अक्षर’ रहेको बताउनुभयाे । उहाँका अनुसार शब्दालयमार्फत उक्त चेतन प्रवाहलाई जीवन्त राख्ने प्रयास गरिएको हो। कृतिका सह–सर्जक लक्ष्मण थापा, दीपक समीप र जीवन सागर भण्डारीले पनि आफ्ना रचना प्रस्तुत गर्दै लेखन तथा प्रकाशन प्रक्रियाका अनुभव सुनाउनुभएकाे थियाे । उहाँहरूले ‘दामली अक्षर’ अब सम्पूर्ण दामली तथा शुभेच्छुकहरूको साझा कृति भएको उल्लेख गर्दै शब्दालयलाई अक्षरजीवीहरूको साझा घरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । कार्यक्रममा प्रमुख अतिथिमध्ये एक साहित्यकार तथा विभिन्न वाङ्मयिक संस्थाहरूको नेतृत्व गरिरहेकाे कवि रीता अधिकारी ‘ऋतु’ले दामलीहरूको सहयात्राले भविष्यमा अझ सार्थकता र सौन्दर्य प्राप्त गर्ने विश्वास व्यक्त गर्दै सिर्जनात्मक सफलताको शुभेच्छा व्यक्त गर्नुभयाे । उहाँले कृति विमोचनमार्फत नारी शक्तिलाई सिर्जना र संवेदनाको निरन्तरताको प्रतीकका रूपमा प्रस्तुत गरिएको उल्लेख गर्नुभयाे । कवि अमृत क्षेत्रीले सञ्चालन गरेको कार्यक्रममा साहित्य विमर्श, मुक्तक लेखन तथा पोखरेली काव्य परम्पराबारे चर्चा गरिएको थियो। उहाँले ‘दामली अक्षर’ र शब्दालय भविष्यमा काव्यिक बहस र चिन्तनको केन्द्रका रूपमा विकसित हुने विश्वास व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएकाे थियाे ।