ढुकुटी डेढ खर्ब घाटामा: अर्थतन्त्रका अवयव चापमा - nagariknews.nagariknetwork.com
लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्दा सरकारको ढुकुटी करिब डेढ खर्ब रुपैयाँ घाटामा गएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्म आम्दानीभन्दा खर्च एक खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँले बढी भएर ढुकुटी घाटामा गएको हो। चालु आवका पाँच महिनासम्म सरकारले राजस्व, वैदेशिक अनुदानलगायतबाट चार खर्ब ११ अर्ब ४५ करोड रुपैयाँ प्राप्त गरेको छ। चालु, पुँजीगत, वित्तीय व्यवस्थापनसहित पाँच खर्ब ५९ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको छ।आर्थिक गतिविधि संकुचित हुँदा सरकारी ढुकुटीमा दबाब बढेको अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालले बताए। ‘ढुकुटी घाटामा हुँदा अर्थतन्त्रका अवयवमा चाप पर्छ’? उनले भने, ‘विगतका वर्षदेखिनै ढुकुटी घाटामा थियो।’ढुकुटी घाटामा हुँदा सरकारसँग लगानी गर्ने पैसाको हभाव हुने, सार्वजनिक वित्तमा दबाब पर्ने, योजनाअनुसार खर्च गर्न नसकिने, सार्वजनिक ऋणमा चाप पर्ने सचिव बरालले बताए।सरकारले चालु आवमा राजस्व संकलनमा महत्त्वाकांक्षी लक्ष्य राखेको छ। चालु आवका पाँच महिनामा लक्ष्यअनुसार राजस्व संकलन गर्न सरकारले सकेको छैन। चालु आर्थिक वर्षमा १५ खर्ब ३३ अर्ब ४४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य छ। पाँच महिनामा चार खर्ब दुई अर्ब राजस्व संकलन भएको छ। यो वार्षिक लक्ष्यको २७.६ प्रतिशत हो। कर राजस्वतर्फ वार्षिक लक्ष्यको २८ दशमलव ८३ प्रतिशत अर्थात् तीन खर्ब ७९ अर्ब २६ करोड संकलन भएको छ।त्यसैगरी गैरकर राजस्वतर्फ १५ दशमलव ५९ प्रतिशत अर्थात् २३ अर्ब ६० करोड रुपैयाँ संकलन भएको छ। चालु आवमा ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान लिने वार्षिक लक्ष्य राखेको सरकारले हालसम्म नौ दशमलव ५८ प्रतिशत अर्थात् पाँच अर्ब ११ करोड रुपैयाँ अनुदान प्राप्त गरेको छ।सरकारले महत्त्वाकांक्षी राजस्व संकलनको लक्ष्य राखेको सचिव वरालले स्वीकार गरे। ‘जेनजी आन्दोनलले राजस्वको लक्ष्य पूरा गर्न कठिन छ,’ उनले भने, ‘राजस्व संकलन गत वर्षकै लयमा छ। जेनजी आन्दोलनले व्यावसायिक क्षेत्र त्रसित छ। बैंकमा पैसा थुप्रिएको छ। लगानी बढेको छैन। यसको असर आर्थिक क्षेत्रमा परेको छ’, उनले भने।आर्थिक वर्षको पाँच महिना पुग्दा पनि सरकारले पुँजीगत खर्च बढाउन सकेको छैन। सरकारको विकास खर्च निकै कमजोर देखिएको छ। आर्थिक वर्ष सुरु भएको पाँच महिनामा सवा आठ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ।चालु आवका लागि पुँजीगततर्फ चार खर्ब सात अर्ब ८८ करोड ८० लाख रुपैयाँबराबर विनियोजन भएकोमा पाँच महिनामा ३२ अर्ब ९५ करोड रुपैयाँ मात्र खर्च भएको छ। यसले सरकारको खर्च गर्ने क्षमतामा प्रश्न उठेको छ।त्यसैगरी चालुगततर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएकोमा अहिलेसम्म ३३ दशमलव सात प्रतिशत खर्च भएको छ। चालुगततर्फ यो अवधिमा तीन खर्ब ९४ अर्ब ३६ करोड रुपैयाँ खर्च भएको छ।पाँच महिनामा सरकारको कुल खर्च वार्षिक विनियोजन बजेटको २८ दशमलव ७४ प्रतिशत भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। सरकारले चालु आवका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँबराबरको बजेट ल्याएको थियो। अहिलेसम्म पाँच खर्ब ५९ अर्ब ८५ करोड रुपैयाँ मात्र खर्च भएको छ।अर्थतन्त्रका आन्तरिक सूचक कमजोर देखिए पनि बाह्य सूचक भने राम्रा छन्। कुल विदेशी विनिमय सञ्चिति कात्तिक मसान्तसम्म ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।अमेरिकी डलरमा उक्त सञ्चिति २१ अर्ब ५२ करोड छ। यो सञ्चिति १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। चालु खाता दुई खर्ब ७९ अर्ब ६५ करोड र शोधनान्तर तीन खर्ब १८ अर्ब ४० करोड रुपैयाँ बचतमा छ।त्यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३१.४ प्रतिशतले र अमेरिकी डलरमा २५.३ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको कात्तिक महिनाको विप्रेषण आप्रवाह एक खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ छ। त्यसैगरी निर्यात ७७.५ प्रतिशतले र आयात १८.७ प्रतिशतले बढेको छ।