Redirecting...

पश्चिम नेपालमा वर्षा र हिमपात - nepalnews.com

पश्चिम नेपालमा वर्षा र हिमपात - nepalnews.com
Source: NPNW

काठमाडौँ। पश्चिम नेपालबाट वर्षा र हिमपात सुरु भएको छ। आज साँझ प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण वर्षा र हिमपात सुरु भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिए। उनले अहिले बैतडी र दार्चुला, चाँदनी दोधाराबाट वर्षा सुरु भएको तथा डोल्पा, हुम्लातिर हिमपात सुरु भएको जानकारी दिए। यो प्रणालीका कारण राति थप वर्षा र हिमपात हुँदै प्रणाली पूर्व सर्दै आउने पनि उनको भनाइ छ। पौडेलका अनुसार बुधबार बिहानैबाट देशभर नै बादल लाग्ने र काठमाडौँमा पनि हल्कादेखि मध्यमसम्म वर्षा गराउन सक्नेछ। प्रणाली पूर्वतर्फ सर्दै आउँदा कोसी र मधेसमा अलि कम असर देखिने सम्भावना रहेको पनि उनले बताए। पछिल्लो एक घण्टामा दार्चुलामा दार्चुला र बैतडीमा ०.८ मिलिमिटर वर्षा भएको छ। विभागले साँझ सार्वजनिक गरेको विवरणमा आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी उच्च पहाडी तथा हिमाली भू-भागमा पूर्णत: बादल लाग्ने तथा बाँकी पहाडी र तराईका भू–भागमा आंशिक बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम हिमपात/वर्षा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ। साथै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको सम्भावना छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङको सम्भावना छ। बुधबार दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू-भागमा पूर्णत: बादल लाग्ने र बाँकी पहाडी तथा तराईका भू-भागमा साधारणत: बादल लाग्नेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम हिमपात/वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू-भागका केही स्थानमा मध्यम वर्षा तथा बागमती, मधेस र कोसी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र कोसीको तराईको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ।