समृद्ध नेपाल र सुखी नेपालीभन्दा ठूलो लक्ष्य हुन सक्दैन : प्रधानमन्त्री - ehimalayatimes.com
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्दा ठूलो र पवित्र राष्ट्रिय लक्ष्य अरु हुन नसक्ने स्पष्ट गर्नुभएको छ। शुक्रवार भक्तपुरमा आयोजित वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार यही लक्ष्य प्राप्तिको दिशामा अघि बढिरहेको बताउनुभयो। “हामी नेपाललाई समृद्ध, आधुनिक र विकसित बनाउन चाहन्छौं। नेपाली जनतालाई सुखी बनाउन चाहन्छौं। यो भन्दा ठूलो, पवित्र र महान उद्देश्य अर्को हुन सक्दैन,” प्रधानमन्त्री ओलीले भन्नुभयो। उहाँले उक्त लक्ष्य हासिल गर्न सरकार स्वास्थ्य क्षेत्रमा ‘निरोगी नेपाल’ को गन्तव्यमा केन्द्रित रहेको बताउनुभयो। “नेपालमा मानिस मात्र होइन, पशुपंक्षी, वनस्पति, माछा, चरा सबै निरोगी हुनुपर्छ,” उहाँले भन्नुभयो, “जहाँ कुनै किसिमको विषादी खान नपरोस् भन्ने अवस्था सिर्जना गर्नुपर्छ।” प्रधानमन्त्री ओलीले रोग लाग्नै नदिने वातावरण निर्माण गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै स्वस्थ समाजमार्फत समृद्ध राष्ट्र निर्माण सम्भव हुने धारणा राख्नुभयो।