Redirecting...

वन्दन भगवती निर्माण सेवाको स्पष्टोक्ति - ehimalayatimes.com

वन्दन भगवती निर्माण सेवाको स्पष्टोक्ति - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । वन्दन भगवती निर्माण सेवा प्रालिले काभ्रेको पाँचखालमा स्थापना गर्न लागेको अम्मान कम्पनीको विश्वस्तरीय ‘असफाल्ट ब्याच मिक्स प्लान्ट’का विषयमा स्थानीय तहदेखि सदनसम्म अनर्गल प्रचारबाजी एवं भ्रम छरिएको भन्दै कम्पनीले आपत्ति जनाएको छ । कम्पनीले बुधबार धुलिखेलमा पत्रकार सम्मेलन गरी असफाल्ट ब्याच मिक्स प्लान्ट पूर्ण वातावरणमैत्री रहेको दाबी गर्दै मुलुकका विभिन्न भागमा त्यस्ता प्लान्ट स्थापना भइसकेको जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक रामजी पन्त ‘मुकेश’ ले सूचना प्रविधिमा आएको सहजताका कारण जोकोहीले निर्माण उद्योगमा प्रयोग हुने उपकरणका विषयमा तत्काल सबै जानकारी पाउन सक्ने अवस्था रहेको बताउनुभयो । पाँचखालमा स्थापना गर्न लागिएको प्लान्टका विषयमा फैलाइएको भ्रमबाट स्थानीय बासिन्दा, सचेत युवावर्ग, बुद्धिजीवी, स्थानीय जनप्रतिनिधिसहित संघीय सांसदहरू र सञ्चार जगत्समेत ग्रस्त हुनु विडम्बना भएको उहाँको भनाइ थियो । राष्ट्रिय प्रतिष्ठाको विषय बनेको सूर्यविनायक-साँगा—धुलिखेल तथा निकट भविष्यमा निर्माण हुने धुलिखेल-खावा सडकसहित पाँचखाल नगरपालिकाभित्रका विभिन्न सडकमा असफाल्ट पिच गर्ने उद्देश्यले उक्त प्लान्ट स्थापना गर्न लागिएको पन्तले बताउनुभयो । अम्मान कम्पनी निर्माण उद्योगका लागि अत्यावश्यक असफाल्ट ब्याच मिक्स प्लान्ट उत्पादनका लागि संसारभर ख्याति कमाएको र एक सय ५० वर्षअघि नै स्थापित सो कम्पनी युरोपेली मापदण्डको स्विस प्रविधिमा आधारित विश्वप्रसिद्ध कम्पनी रहेको उहाँले दाबी गर्नुभयो । पन्तले भन्नुभयो, ‘समयसापेक्ष रूपमा आफूलाई प्रविधि तथा पूर्ण वातावरणमैत्री बनाउँदै आएकाले यो कम्पनी गुणस्तरीय निर्माण कार्यमा प्रतिबद्ध विश्वभरका कम्पनीहरूको पहिलो रोजाइमा पर्ने गरेको छ ।’ अम्मान कम्पनीले निर्माण कार्यसँग सम्बन्धित दुई सय ८० भन्दा बढी निर्माण यन्त्र तथा उपकरणहरू उत्पादन गर्दै आएको र विश्वका एक सयभन्दा बढी मुलुकमा उक्त कम्पनीका प्लान्टहरू स्थापना भई सञ्चालनमा आइरहेको पनि कम्पनीको भनाइ छ । भुक्तानी अभाव, अव्यावहारिक ऐन, नियमलगायतका कारण निर्माण उद्योग अत्यन्त समस्याग्रस्त भई समग्र आर्थिकस्थिति नै नाजुक भएको वर्तमान परिप्रेक्ष्यमा निर्माण कार्यमा अहोरात्र खटिँदै आएको कम्पनीहरूको मनोबल गिर्ने गरी बिना ठोस प्रमाण तथा आधार कोहीकसैको उक्साहटमा अभिव्यक्ति नदिन कम्पनीले आग्रह गरेको छ । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेले विकास निर्माणको सवालमा सम्बन्धित सबै पक्षहरू सहकार्य गर्दै अघि बढ्नुपर्ने बताउनुभएको थियो ।