Redirecting...

नेकपा एमालेको ११औँ महाधिवेशन - ehimalayatimes.com

नेकपा एमालेको ११औँ महाधिवेशन - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया आज (बुधबार) बिहान ८ बजेबाट शुरु हुने भएको छ । मंगलबार मतदान हुने भनिएपनि पटक-पटक समय परिवर्तन गरेर अन्तिम समयमा स्थगित गरिएको हो । नेतृत्व चयनका लागि अन्तिम पटक मंगलबार साँझ ७ बजेदेखि मतदान गर्ने निर्वाचन कार्यतालिका तय गरिएको थियो । तर, प्राविधिक तयारी पूरा नभएको जनाउँदै हुने भनिएको मतदान कार्यक्रम स्थगित गरिएको एमालेको निर्वाचन आयोगले जनाएको हो । आयोगका अनुसार प्रतिनिधिहरूलाई आज बिहान भृकुटीमण्डपमा उपस्थित हुन आग्रह गरिएको छ । निर्वाचनमा विद्युतीय मतदान प्रणाली प्रयोग गरिनेछ भने रामलक्ष्मण भोटिङ मेसिनमार्फत मतदान हुने आयोगले जानकारी दिएको छ । महाधिवेशनको निर्वाचनअन्तर्गत वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलै बनाएर चुनावी मैदानमा छन् । पार्टीको निर्वाचन आयोगले विभिन्न पदका लागि परेका उम्मेदवारहरूको सम्बन्धमा दाबी, विरोध, उजुरी र छानविनपछि अन्तिम नामावली प्रकाशन गरेको थियो । जसअनुसार अध्यक्षमा दुईजना, उपाध्यक्षमा ११ जना, महासचिवमा दुईजना, उपमहासचिवमा सातजना, सचिवमा २० जना उम्मेदवार छन् । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल उम्मेदवार हुनुहुन्छ । पाँचजना उपाध्यक्षका लागि अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, डा. विन्दा पाण्डे र विष्णु पौडेल उम्मेदवार हुनुहुन्छ । महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे उम्मेदवार हुनुहुन्छ । त्यस्तै, तीनजना उपमहासचिवका लागि आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरी उम्मेदवार हुनुहुन्छ । नौजना सचिव पदका लागि अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुर गैरे, पद्माकुमारी अर्याल, पुरुषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की हुनुहुन्छ । १६ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोधनेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि दर्ता भएको उम्मेदवारीमा १६ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । १६ जना केन्द्रीय सदस्यमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् । जसमा लुम्बिनी प्रदेश महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल निर्विरोध निर्वाचित भएका छन् । प्रदेशबाट महिला केन्द्रीय सदस्य तीनजना निर्वाचित हुने भएकाले तीन जनाको मात्रै उम्मेदवारी परेका कारण उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, मधेसी महिलातर्फ ६ जना निर्वाचित हुनुपर्नेमा पाँच जनाको मात्रै उम्मेदवारी परेपछि पाँचजना नै निर्विरोध निर्वाचित भएका छन् । जसमा ज्वालाकुमारी साह, रेखा झा, प्रतीक्षा तिवारी, सविता यादव र सरिताकुमारी गिरी रहनुभएको छ । क्लष्टरबाट युवातर्फ अमरकुमार यादव निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै, केन्द्रीय सदस्य समावेशी मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्धकीको एकल एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हुनुभएको छ । केन्द्रीय सदस्य समावेशी श्रमिक महिलातर्फ कमलादेवी श्रेष्ठ र सीता लामा निर्विरोध निर्वाचित हुनुभएको छ । पिछडिएको क्षेत्रतर्फको महिलामा बदमीक्वारी बुढा, प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे, ४० वर्षमुनिको केन्द्रीय सदस्य युवामा नरेश रोकाया र सुशीलकुमार थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।पार्टीको अनुशासन आयोगको अध्यक्षमा प्राडा.भरतराज पहारी, उपाध्यक्ष चक्रबहादुर पराजुली र सचिवमा डा.राजेन्द्र घिमिरेको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हुनुभएको छ । लेखा आयोगको अध्यक्षमा डा.पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेलको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हुनुभएको छ । १९ पदाधिकारीका लागि चुनावी मैदानमा चारजना मात्र महिलानेकपा एमालेको ११औँ अधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनमा महिला उम्मेदवार संख्या अत्यन्त न्यून देखिँदा नेतृत्व तहमा महिलाको उपस्थिति कमजोर हुने जोखिम बढेको छ । अध्यक्षदेखि सचिवसम्मका १९ पदाधिकारी पदका लागि ४२ जना उम्मेदवार मैदानमा उत्रिँदा महिला चारजना मात्र छन् । उपाध्यक्ष पदका लागि पाँच सिटमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहँदा महिला उम्मेदवार बिन्दा पाण्डे मात्रै एक्ली प्रतिस्पर्धामा रहनुभएको छ । नौ सचिव पदका लागि २० जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा तीनजना महिला उम्मेदवार छन् । महासचिव र उपमहासचिव पदमा भने महिला उम्मेदवारी परेको छैन । उपमहासचिवका तीन पदका लागि सातजना पुरुष उम्मेदवार मात्रै प्रतिस्पर्धामा छन् । पदाधिकारीमा दलितबाट छविलाल एक्ला उम्मेदवारएमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुन भएको निर्वाचनमा पदाधिकारी तहमा दलित समुदायको प्रतिनिधित्व पनि न्यून देखिएको छ । १९ पदाधिकारी पदमध्ये दलित समुदायबाट छविलाल विश्वकर्मा एक्ला उम्मेदवार बन्नुभएको छ । यसअघि सचिव निर्वाचित भइसक्नुभएका विश्वकर्मा दोस्रो कार्यकालका लागि पनि सचिव पदमा उम्मेदवार बन्नुभएको हो । विश्वकर्मा पार्टी अध्यक्ष केपी शर्मा ओली प्यानलबाट उम्मेदवार बन्नुभएको छ । नौजना सचिव पदका लागि २० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये उत्कृष्ट नौजना मत प्राप्त गर्ने उम्मेदवार सचिवमा निर्वाचित हुने व्यवस्था छ । आरक्षणको अभावमा दलित समुदायबाट एक्ला उम्मेदवार रहेका विश्वकर्माले खुला प्रतिस्पर्धामै आफ्नो स्थान सुरक्षित गर्नुपर्ने अवस्था छ । केन्द्रीय सदस्य खुलातर्फ १२६ पदका लागि १६८ जनाको उम्मेदवारी दर्ता हुँदा दलित समुदायबाट पाँच जनाको उम्मेदवारी परेको छ । केन्द्रीय सदस्य खुला महिलातर्फ ५२ पदका लागि ७२ जनाको उम्मेदवारी पर्दा दलित समुदायबाट विमला विक र सीताकुमारी सुन्दास गरी दुईजना महिला मात्र उम्मेदवार छन् । आरक्षणअन्तर्गत दलिततर्फ १२ जना केन्द्रीय सदस्यका लागि २८ जनाको उम्मेदवारी दर्ता भएको छ । रघुजी पन्तलाई ओली पक्षको साथनेकपा एमालेको केपी शर्मा ओली प्यानलले उपाध्यक्षमा रघुजी पन्तलाई समेटेको छ । प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी नदिएपछि ओली प्यालनमा एकजना उपाध्यक्षको कोटा खाली थियो । ओली पक्षले मंगलबार सार्वजनिक गरेको आफ्नो पक्षका उम्मेदवारको नाममा पन्तलाई राखेको छ । पन्त यसअघि स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । तर, उपाध्यक्षमै उम्मेदवारी दिनुभएका भीम आचार्यलाई भने ओली पक्षले समर्थन गरेको छैन । दुवै प्यानलमा नपरेपछि आचार्यले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । अग्नि खरेल ईश्वर पोखरेल समूहमाएमाले अध्यक्ष केपी शर्मा ओलीका अत्यन्तै विश्वास पात्र पूर्व–कानुनमन्त्री अग्नि खरेललाई ईश्वर पोखरेल समूहले आफ्नो प्यानलमा समेटेको छ । पोखरेल समूहले सचिवमा स्वतन्त्र उम्मेदवारी दिनुभएका खरेललाई आफ्नो प्यानलमा समेटेको हो । ओलीका अति निकट मानिनुभएका खरेल पदाधिकारीको सूचीमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । पछि स्वतन्त्र उम्मेदवारी दिएका उपाध्यक्षका उम्मेदवार टंक कार्की र उपमहासचिवमा उम्मेदवारी दिएका आनन्द पोखरेल पनि पोखरेल समूहमा परेका छन् । महाधिवेशन स्थलमा शंकर सँगसँगै हिँडे प्रदीपनेकपा एमालेको महासचिवका आकांक्षी रहनुभएका प्रदीप ज्ञवाली महासचिवको उम्मेदवार बन्नुभएका शंकर पोखरेल सँगसँगै देखिनुभएको छ । भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा उम्मेदवार प्रचारप्रसारको क्रममा ज्ञवाली शंकर पोखरेलसँगै देखिनुभएको हो । ओली समूहबाट उपाध्यक्षका उम्मेदवार बनाउन प्रस्ताव गरिए पनि ज्ञवालीले अस्वीकार गर्नुभएको थियो । अन्तिमसम्म महासचिवमा दाबी गर्नुभएका ज्ञवालीले त्यो नपाएपछि केन्द्रीय सदस्यमा नोमिनेसन गर्नुभएको थियो । पोखरेललाई महासचिवको उम्मेदवार बनाएपछि ज्ञवाली असन्तुष्ट बन्नुभएको थियो । तर, मंगलबार बिहानै सामाजिक सञ्जालमा सन्देश लेखेर ज्ञवालीले ओली प्यानलका उम्मेदवारलाई जिताउन अपिल गर्नुभएको थियो । दिउँसो महासचिवका उम्मेदवार शंकरसँगै ज्ञवाली महाधिवेशन स्थलमा देखिनुभएको हो । केपी शर्मा ओलीको टिमले जिते मात्रै एमाले थप बलियो हुने भएकाले सोही समूहका लागि मत मागिरहेको प्रतिक्रिया दिँदै ज्ञवालीले भन्नुभयो, ‘मेरा केही असहमति थिए, मभन्दा माथि पार्टी हो । म पार्टी बलियो बनाउन केपी ओली र शंकर पोखरेलसँगै छु ।’ ओली समूहबाट पदाधिकारी नपाएपछि असन्तुष्ट बन्दै उपमहासचिवमा उम्मेदवारी दिनुभएका राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिनुभएको छ । फेसबुकमार्फत उम्मेदवारी फिर्ता लिएको जानकारी दिँदै गौतमले ओली समूहको लागि मतसमेत माग्नुभएको छ । पासाङ शेर्पाको उम्मेदवारी खारेजएमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ । बहुविवाह मुद्दामा दोषी ठहर हुनुभएका उहाँले आदिवासी-जनजाति खुलातर्फ उम्मेदवारी दर्ता गराउनुभएको थियो । तर, बहुविवाह मुद्दाका दोषी भएकाले उम्मेदवार बन्न नपाउने उजुरी दर्ता भएको थियो । उजुरीपछि शेर्पाको उम्मेदवारी निर्वाचन आयोगले खारेज गर्दै अन्तिम उम्मेदवार सूचीबाट नाम हटाएको हो । शेर्पालाई केपी शर्मा ओली समूहले सूचीमा राखेको थियो । शेर्पालाई बहुविवाह मुद्दामा अदालतले एक वर्ष जेल र पाँच हजार जरिवानाको फैसला गरेको थियो । कैदबापत दिनको ३०० रुपैयाँका दरले कुल एक लाख नौ हजार पाँच सय रुपैयाँ तिरेर उहाँ छुट्नुभएको थियो । शेर्पालाई प्रहरीले गत कात्तिक १८ गते पक्राउ गरेको थियो । केन्द्रीय निर्वाचन आयोगले लुम्बिनीका धर्मराज गिरीको उम्मेदवारी खारेज गरेको छ । एमालेमा पूर्व-माओवादीहरू हराउने संकेततत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण प्रक्रियाबाट एमालेमै रहेका पूर्व-माओवादीहरूको अस्तित्व ११औँ महाधिवेशनमा संकटमा पर्ने अवस्था आएको छ । दुई प्यानल बनेर प्रतिस्पर्धा हुन लागेको महाधिवेशनमा अधिकांशले टिकट नै नपाउने र पाएकाले पनि प्रतिस्पर्धाबाट चुनौती चिर्ने सम्भावना कमजोर देखिएको हो । महाधिवेशन अगाडि एमाले केन्द्रीय समितिमा पदाधिकारीसहित ४० जना पूर्व–माओवादी थिए । तर, महाधिवेशनमा तीमध्ये ७५ प्रतिशतले कुनै पनि प्यानलबाट टिकट पाउन सकेनन् । बलियो मानिएको ओली नेतृत्वको प्यानलबाट पदाधिकारीमा रामबहादुर थापा बादल र लेखराज भट्टले टिकट पाएका छन् । तर, ईश्वर पोखरेल नेतृत्वको प्यानलमा उनीहरूको प्रतिस्पर्धीका रूपमा एमालेमा लामो समयदेखि योगदान पुर्‍याएका र इमान्दार तथा क्षमतावान छवि बनाएका गोकर्ण विष्ट, बिन्दा पाण्डे, योगेश भट्टराई, आनन्दप्रसाद पोखरेल लगायतका नेताको उम्मेदवारी रहेकाले जित्ने सम्भावना कमजोर छ । तत्कालीन नेकपा निर्माणको प्रक्रियासँगै ०७४ सालबाट एमालेमा जोडिएका अधिकांश पूर्व- माओवादीको संगठन र सदस्यमा अत्यन्त कम पहुँच छ । उम्मेदवारबाटै उठ्यो ३७ लाख ६५ हजार शुल्कनेकपा एमालेले पार्टीको ११औँ महाधिवेशनमा उम्मेदवारहरूबाटै साढे ३७ लाखभन्दा बढी शुल्क उठाएको छ । अध्यक्ष, पदाधिकारीसहित ७०९ सदस्यहरूको उम्मेदवारीबाट कुल ३७ लाख ६५ हजार रुपैयाँ उम्मेदवारी शुल्क उठाएको हो । एमालेले अध्यक्षको उम्मेदवारका लागि प्रतिउम्मेदवार १५ हजार रुपैयाँ शुल्क तोकेको थियो भने पदाधिकारीको उम्मेदवारका लागि १० हजार रुपैयाँ र केन्द्रीय सदस्यहरूका लागि प्रतिउम्मेदवार पाँच हजार रुपैयाँ शुल्क तोकेको थियो । जसअनुसार अध्यक्षका दुई उम्मेदवारबाट ३० हजार, उपाध्यक्षका ११ उम्मेदवारबाट एक लाख १० हजार, महासचिवका दुई उम्मेदवारबाट २० हजार, उपमहासचिव सात उम्मेदवारबाट ७० हजार, सचिवका २० उम्मेदवारबाट दुई लाख र केन्द्रीय सदस्यका ६६७ उम्मेदवारबाट ३३ लाख ३५ हजार गरी कुल ३७ लाख ६५ हजार रुपैयाँ उठाएको हो ।