वुल्भ्सलाई हराउँदै म्यानचेस्टर युनाइटेडको तालिकामा छलाङ - kendrabindu.com
काठमाडाैं । इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले वुल्भ्सलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको छ। वुल्भ्सको घरेलु मैदान मोलिनक्समा भएको खेलमा कप्तान ब्रुनो फर्नान्डेसको उत्कृष्ट प्रदर्शन र दोस्रो हाफको प्रभावशाली खेलका कारण युनाइटेडले महत्वपूर्ण तीन अंक जोड्दै लिग तालिकामा छैटौं स्थानमा उक्लिएको हाे । युनाइटेडले खेलको २५ औं मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोल मार्फत अग्रता लिएको थियो। वुल्भ्सको कमजोर डिफेन्सको फाइदा उठाउँदै म्याथ्युस कुन्हाको पासमा ब्रुनोले गोल गरे। यद्यपि, पहिलो हाफको अन्त्यतिर वुल्भ्सका लागि जिन-रिकनर बेलगार्डले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। वुल्भ्सको यो गोल ५०० मिनेटभन्दा बढी समयपछि प्रिमियर लिगमा पहिलो गोल थियो। तर, दोस्रो हाफमा म्यानचेस्टर युनाइटेडले खेललाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लियो। ५१ औं मिनेटमा डिएगो डालोटको पासमा ब्रायन एमब्युमोले खाली पोस्टमा गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए। ६२ औं मिनेटमा ब्रुनो फर्नान्डेसको सुन्दर चिप पासलाई मेसन माउन्टले उत्कृष्ट भली प्रहार मार्फत गोलमा परिणत गरेपछि युनाइटेड ३–१ ले अगाडि बढ्यो। साथै ८२ औं मिनेटमा वुल्भ्सका खेलाडीको ह्यान्डबलका कारण युनाइटेडले पेनाल्टी पायो, जसमा ब्रुनो फर्नान्डेसले कुनै गल्ती नगरी गोल गर्दै आफ्नो दोस्रो र टोलीका लागि चौथो गोल सुनिश्चित गरे। यो जित म्यानचेस्टर युनाइटेडका लागि जारी सिजनको सबैभन्दा ठूलो जित हो। यो नतिजासँगै युनाइटेड तालिकाको छैटौं स्थानमा उक्लिएको छ । यसैबीच, लगातार आठौं लिग हार व्यहोरेको वुल्भ्स भने लिग तालिकाको पुछारमा रहेको छ, जुन क्लबको इतिहासमा सबैभन्दा खराब सुरुवात मध्ये एक हो।