Redirecting...

भेनेजुएलाका राष्ट्रपति मादुरो पहिलोपटक अमेरिकी अदालतमा, सबै आरोप अस्वीकार - bishwokhabar.com

भेनेजुएलाका राष्ट्रपति मादुरो पहिलोपटक अमेरिकी अदालतमा, सबै आरोप अस्वीकार - bishwokhabar.com
Source: bsbk

काठमाडौं- भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोलाई पहिलोपटक अमेरिकी अदालतमा उपस्थित गराइएको छ । संघीय लागूऔषध तस्करी तथा ‘नार्को–टेररिज्म’ सम्बन्धी आरोपमा अदालतमा पेश गरिएका मादुरोले सबै आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको बताएको बीबीसीले जनाएको छ । उनले न्यायाधीश समक्ष अहिले पनि आफू नै भेनुजुएलाको राष्ट्रपति रहेको बताएका छन् । अदालतमा मादुरोले न्यायाधीशसमक्ष भने, ‘म निर्दोष छु । म दोषी होइन । म राम्रो मान्छे हुँ र आफ्नो देशको राष्ट्रपति हुँ ।’ त्यसपछि अदालतले मादुरोको मुद्दामा मार्च १७ मा अर्को सुनुवाइ हुने जनाएको छ । लामो कानुनी लडाइँ सुरु हुने संकेत लागूऔषध तस्करी गरेको आरोपमा अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासबाट पक्राउ गरेर मादुरोलाई न्यूयोर्क ल्याइएको थियो । सोमबार नीलो जेल पोशाकमा मादुरो र उनकी पत्नीलाई अदालतमा उपस्थित गराइएको थियो । यो प्रारम्भिक कानुनी प्रक्रिया भए पनि यसले मादुरोमाथि अमेरिकामै मुद्दा चलाउन मिल्छ कि मिल्दैन भन्ने विषयमा लामो कानुनी लडाइँ सुरु हुने संकेत गरेको बीबीसीले जनाएको छ । यी आरोपहरू पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मादुरोलाई पक्राउ गरी अमेरिका ल्याउन आधारका रूपमा प्रयोग गरेको बताइएको छ । ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा मादुरो मादुरोलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टर (एमडीसी) मा राखिएको छ । सन् १९९० को सुरुवातमा स्थापना भएको यो कारागारमा हाल करिब १ हजार ३०० कैदी छन् । म्यानह्याटन र ब्रुकलिनका संघीय अदालतमा मुद्दा खेपिरहेका अभियुक्तहरूलाई प्राय: यहीँ राखिने गरिन्छ । यहाँ गिरोहसँग सम्बन्धित अभियुक्त, लागूऔषध तस्करका आरोपीसमेत राखिन्छन् । ब्रुकलिनको डिटेन्सन सेन्टरमा राखिने पहिलो राष्ट्रपति होइनन् मादुरो ब्रुकलिनस्थित डिटेन्सन सेन्टरमा राखिने मादुरो पहिलो राष्ट्रपति भने होइनन् । यसअघि होन्डुरसका पूर्वराष्ट्रपति जुआन ओरल्यान्डो हर्नान्डेजलाई पनि यहीँ राखिएको थियो । उनीमाथि अमेरिकामा सयौं टन कोकिन तस्करीको अभियोग लागेको थियो । दोषी ठहर भई ४५ वर्षको सजाय सुनाइएपछि उनलाई गत डिसेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले माफी दिएर रिहा गरेका थिए । हाल यसै कारागारमा मेक्सिकोको सिनालोआ ड्रग कार्टेलका सह-संस्थापक इस्माइल ‘एल मायो’ जाम्बाडा गार्सिया तथा युनाइटेडहेल्थकेयरका सीईओको हत्या अभियोगमा पक्राउ परेका लुइगी मान्जियोनी पनि थुनामा छन् । यसअघि क्रिप्टो उद्यमी साम बैंकम्यान–फ्राइड र जेफ्री एपस्टिनकी सहयोगी गिस्लेन म्याक्सवेल पनि यही कारागारमा राखिएका थिए ।