Redirecting...

कथा : पश्चातापको जलन - sahityapost.com

कथा : पश्चातापको जलन - sahityapost.com
Source: shpt

तृष्णा त्यस कलेजकी आजसम्म कै पुखली केटी थिई । कुन केटी साथी, कुन केटा साथी केही फरक थिएन उसका लागि । कति केटाहरूले उसको बोलैयापनको फाइदा लुट्न नखोजेका पनि होइनन् । तर सकेका थिएनन् । केटीहरूका माझ भने ऊ पतित केटीमा गनिएकी थिई । अरू त अरू उसका भाइ र बहिनीले समेत उसलाई बानी सुधार्न बेलाबखत भन्ने गर्थे । 0000 एक्कासि उसको अनुहार मलिन देखियो । सधैं त ऊ हँसीखुशी देखिन्थी । बोलैया उस्तै थिई । नहाँसी बोल्न जानेकी थिइन तर किन हो त्यस दिन उसमा कुनै उमङ्ग थिएन । उदास देखिएकी थिई ऊ । तृष्णा अघिअघिकी जस्ती तृष्णा थिइनँ । उसमा वितृष्णा जागे जस्तो देखिन्थ्यो । साथी भाइहरूसँग खालि औपचारिकता पूरा गरिरहेकी थिई । नुर गिरेको थियो उसको । अघिअघि उसमा देखिने हर्ष, उल्लास र अनुहारको कान्ति सबैसबै गुमेको थियो । लाग्थ्यो ऊ नितान्त एक्लो जीवन बाँच्न बाध्य छ । ऊ त्यो क्षण ठूलो आपद्विपद्को सामना गर्दैछे भन्ने भान हुन्थ्यो । मानव जीवन सदा खुशी रहन पनि त कहाँ सम्भव छ र ! आखिरी सङ्घर्ष न हो जीवन । भाँचिएको लट्टाइको धागो जस्तै । उता फुकायो उता अल्झने । उता फुकायो उता अल्झने । गाँठैगाँठा फुकाएर नसकिने । बल्लबल्ल एउटा समस्याको समाधान गर्यो । अर्को समस्या आइपर्छ । त्यो समाधान गर्यो । अर्को आइपर्छ । भोकजस्तै रहेछ जीवन भन्दा पनि हुने । बिहान भोक लाग्छ । टन्न खायो । एकछिन्पछि फेरि भोक लाग्छ । खाइरहनुपर्ने । जीवन पनि समस्यै समस्याको जालो त रहेछ नि । एउटा पूरा गर्यो अर्को देखा पर्छ । समस्याको समाधान गरेर कहिले नसकिने । हुन त समस्याबिना समाधानको अस्तित्व नै कहाँ रहन्थ्यो र । जीवन छ र सङ्घर्ष गर्नुपरेको छ । मरेपछि जोसुकै राजा होस् । त्यसैले त भनेको होला नि । जीवनको अन्त्यसँगै सबै कुरा सकिने भएर । तृष्णा त्यस कलेजकी आजसम्म कै पुखली केटी थिई । सबैसँग समान व्यवहार गर्थी । कुन केटी साथी, कुन केटा साथी केही फरक थिएन उसका लागि । सबै समान थिए । कति केटाहरूले उसको बोलैयापनको फाइदा लुट्न नखोजेका पनि होइनन् । तर सकेका थिएनन् । केटीहरूका माझ भने ऊ पतित केटीमा गनिएकी थिई । अरू त अरू उसका दाजुभाइ र बहिनीले समेत उसलाई आफ्नो बानी सुधार्न बेलाबखत भन्ने गर्थे । एक दिन ऊ कलेजबाट आउँदैथिई । घरमा आमा उसको बाटो हेरेर बसेकी थिइन् । त्यस दिन उसको कक्षाको पढाइ अलि लामै भएको थियो । जाँच नजिकिंदै थियो । पढाइ पूरा भएको थिएन । त्यसैले इतिहासका गुरुले आज अलि ढिलासम्म बसेर पढौं है भनेर सबै विद्यार्थीसँग सहमति लिनुभएको थियो । पढाइ सक्नु जरूरी थियो पनि । त्यस दिनको अन्तिम कक्षा भएकाले कतैबाट बाधा हुने कुरा पनि थिएन । त्यसैले त्यस दिन गुरुजीले दुई घण्टा लामो कक्षा लिनुभयो । त्यसैले ऊ घर पुग्न ढिला भएकी थिई । घरमा आमा कतिखेर आउली र रिस खन्याउँला भनेर बसेकी थिइन् । घरबाहिर के पुगेकी थिई तृष्णालाई झम्टिहालिन् आमाले, “कोसँग कहाँ डुलेर आएकी ए बाइफाला ? तँलाई हाम्रो इज्जतको अलिकति पनि ख्याल छैन हगि ? कसैका छोराछोरीलाई घुम्न नपरेको तँलाई घम्नुपर्ने । उम्रिंदै तीन पात भनेको यही हो । सरम लाग्दैन तँलाई केटाहरू लिएर घुम्न ?” आमाका कुरा सुनेर तृष्णा छक्क परी । उसैलाई थाहा थिएन के भइरहेको छ भन्ने कुरा । “के भयो आमा ? किन यति सारो जङ्गिनुभएको ? तपाईंकी छोरी त्यस्ती छैन जुन तपाईं सोच्दैहुनुहुन्छ । ढुक्क हुनुहोस् आमा । तपाईंको कसम । मैले त्यस्तो नराम्रो बाटो लिएकी छैन । रह्यो तपाईंहरूको इज्जतको कुरा । तपाईंहरूको इज्जत मेरो पनि इज्जत होइन र ? त्यसमा मेरो तर्फबाट म दाग लाग्नदिन्न आमा ! मलाई विश्वास गर्नुहोस् । मलाई बिहे गर्न मन लागेपछि सबैभन्दा पहिला केटा खोज्न तपाईंलाई नै भन्नेछु । तपाईंहरूको रोजाइ नै मेरो रोजाइ हुनेछ । मेरो पीर नगर्नुस् ।” आमाको रिसलाई मत्थर पार्न खोज्दै उसले भनी । “मलाई सब थाहा छ । तैंले एक दिन हाम्रो नाकमा फोहोर दल्छेस् ।” आमाले भनिन् । “दल्दिनँ आमा, दल्दिनँ । बाबाआमाको त्यति राम्रो अनुहारमा म के भनेर फोहोर दलुँला । क्रिम पाउडर दलेर टल्काउँछु । हेर्दै जानु होला ।” उसले भनेकी थिई । उता रातोदिन आमाका कान भरेर डङ्किनी चढाउने उसकै भाइ र बहिनी थिए । त्यसमा थपथाप गर्थे छिमेकीका छोराछोरी । तर तृष्णामा उनीहरूले भनेअनुसारको तृष्णा पटक्कै थिएन । कति केटाहरूले छिर्के लगाउन नखोजेका त होइनन् तर कोही पनि सफल हुन सकेका थिएनन् । वास्तवमा भन्ने नै हो भने तृष्णा त्यस्ती खाले केटी होइन भनेर कसैले चिन्नै सकिरहेका थिएनन् । खराब बानी भने पनि असल बानी भने पनि उसको बानी थियो ढुङ्गाको बदला लिनुपर्दा फूलको प्रयोग गर्थी ऊ । आफ्नो इच्छा पूर्ति गर्ने चाहना सफल हुन नसक्दा पनि उसलाई नकारात्मक दृष्टिले हेर्ने आँट कसैले गर्नसकेका थिएनन् । बरु उल्टै आफूले आफैंलाई धिक्कार्नु पर्ने स्थितिको सिर्जना हुन्थ्यो केटाहरूमा । शुरूशुरूमा उसलाई कुदृष्टिले हेर्ने केटाहरू नै पछि ऊप्रति सुदृष्टि लगाउन थालेका थिए । उता तृष्णाको अरूप्रतिको व्यवहारले भने उसका भाइ र बहिनीलाई अवाक बनाएको थियो । “दिदी तैंले गर्दा हामीलाई समेत कलेजमा मुख देखाउन नहुने अवस्था आउन लाग्यो । कि तँ कलेज छोड् कि आफ्नो बानी सुधार ।” सम्म पनि भनेका थिए उसका भाइ र बहिनीले । अरूलाई खसाल्न खोज्ने समाजले कसैको राम्रो भएको देख्न कहिले पनि सकेन । त्यसैको शिकार बनेकी थिई तृष्णा । कलेजका अन्तिमअन्तिम दिन भएकाले उनीहरूको कक्षाको सामाजिक क्रियाकलाप झन्झन् बढ्दै गएको थियो । स्वाभाविकै पनि थियो । कलेज सकेपछि को कहाँ पुग्छ कसलाई थाहा । कसैले परदेश ताकेका थिए । कसैले वैवाहिक जीवन ताकेका थिए । त्यसैले पनि कलेजको जाँच सकेपछि धेरै साथीहरू छुट्टिने पक्कापक्की थियो । त्यसैले त्यो समय तृष्णाका लागि झन् धेरै आरोपित भएर उभिएको थियो । तृष्णाका घर परिवारका मनमा ऊप्रति तिलजौ पाकेका थिए । कतिखेर अभोर पार्ने हो भनेर भयभीत थिए परिवारका सदस्यहरू । बाबुले समेत एक दिन उसलाई सम्झाएका थिए, “छोरी तिमी यसरी हाम्रो बेइज्जत गर्ने काम नगर है । तिम्रो पढाइ सकिनासाथ एउटा राम्रो केटा खोजेर विवाह गरिदिन्छु । हाम्रो इज्जतमा खोट लाग्न नदेऊ है नानी ।” बाबुले यति भन्दा तृष्णाको मनमा तीखो काँडाले घोचेको महसूस भयो । तर पनि ऊ नतमस्तक भएकी थिई । उसको मौनताले बाबुको मनमा उब्जिएको कुरालाई थप पुस्ट्याइँ गरेको थियो र उनले सोचेका थिए, “यसको पारा गतिलो छैन ।” आमाले उसलाई धेरैपटक हकारिसकेकी थिइन् । ऊ आमाले हकार्दा पनि नाजवाफ हुन थालेकी थिई । जसले जे भनोस् सुनिदिन्थी । कसैको प्रतिकार गर्न छाडेकी थिई उसले । प्रतिकार गर्नु बेकार पनि लाग्नथालेको थियो उसलाई । वनका चरा के बोल्छन् के बोल्छन् । कसलाई चासो । ऊप्रतिका टीकाटिप्पणीलाई पनि वनका चराहरूको भाषा सम्झन्थी ऊ । तृष्णाहरूको कक्षाको परीक्षा सकियो । चारचार वर्ष लामो पढाइ सकिंदा ठूलो भारी गन्तव्यमा पुगेर बिसाएको महसूस भएको थियो उनीहरूलाई । परीक्षा सकेर पिक्निक र घुमघाममा लगभग एक महिना बिते उनीहरूका । पिक्निक मात्र होइन रात बस्दै क्याम्प फायरसम्म गरेर खुशियाली मनाए उनीहरूले । घर परिवारमा सबैलाई जितेकी थिई तृष्णाले । आमाको अलिकति डर भए तापनि फुस्ल्याउन जानेकी थिई आमालाई । “पख्नोस् यसले तपाईंहरूको मुखमा फोहोर दलिनछे भने त म कान काटिदिन्छु ।” भन्थी उसकी बहिनी आमालाई । उता भाइ चाहिं पनि थपथाप गर्न पछि पर्दैनथ्यो । बाबुआमाले पनि आफ्नै सन्तानका कुरा कसरी नपत्याउनु । परीक्षाको बेला दुब्लाएर सुसुपाल भएकी तृष्णाको शरीर दिनपरदिन पोटिलो हुँदै आएको थियो । त्यसैले शङ्का गर्नुपर्ने ठाउँ प्रशस्त उब्जाएको थियो । उसको सोलोडोलोपन नै उसको जीवनको खतरनाक सङ्केतको रूपमा देखा पर्दै गएको थियो । आज ऊ बिहानै घरबाट निस्केर हिंडी । त्यस दिन दिउँसो स्नातक लेबलमा भर्ना भएका नयाँ विद्यार्थीहरूले तृष्णाहरूको कक्षालाई बिदाइको कार्यक्रम राखेका थिए । त्यहाँ पनि उपस्थित हुनु थियो उसलाई । रातभरि पेट दुखेर वाकवाकी पनि लागेको थियो । त्यसैले एकपटक डक्टरसँग परीक्षण गराएर त्यतैबाट बिदाइ पार्टीमा सम्मिलित हुन ऊ घरबाट निस्केकी थिई । डक्टरले सबै जाँच गरेपछि तुरुन्त अल्ट्रासाउन्ड गर्न लेखेदिइन्, “तिमी अहिले नै अल्ट्रासाउन्ड गर्न दश नम्बर कोठामा जाऊ । म भनिदिन्छु ।” फोन उचालिन् डक्टरले । सम्बन्धित शाखालाई तुरुन्त गरिदिन आदेश पनि दिइन् । उनकै पहलमा सबै काम फटाफट भयो । वास्तवमा डक्टर तृष्णाकी काकी थिइन् भने उनले काम गर्ने अस्पताल पनि उनीहरू साथीसाथी मिलेर खोलेका थिए । डक्टर आफ्नी काकी भएकाले अल्ट्रासाउन्ड गराउन तृष्णाले धेरैबेर कुर्नुपरेन । सबै परीक्षण सकिएपछि तृष्णाले डक्टरलाई भेटिन् । “अब म कहिले आऊँ ?” तृष्णाले सोधिन् । “नानी तिमी अहिले घर जाऊ र आराम गर । तिमी आउनुपर्दैन । मै रिपोर्ट लिएर भोलि घरमा आउँला ।” भनेर तृष्णालाई बिदा गरिन् डक्टरले । यति भन्दै गर्दा डक्टरको मुखाकृति बदलिएको अनुभव गरी तृष्णाले । यी सबै कुराले आफ्नो स्वास्थ्यस्थिति अरू गम्भीर हुँदैगएको अड्कलेकी थिई तृष्णाले । उसले आफ्नो स्वास्थ्यस्थिति बुझ्न नखोजेकी पनि होइन डक्टरसँग । सबै कुरा भोलि रिपोर्ट हेरेर मात्र भन्न सकिने कुरा गरेकी थिइन् डक्टरले । र पनि उसले सोधेकी थिई, “के केस निकै अगाडि बढिसकेको छ अन्टी ? फाल्न सकिने अवस्था छैन ?” किनभने उसलाई पहिला नै थाहा भइसकेको थियो । “होइन होइन, खासै त्यस्तो केही देखिँदैन । पेट दुखेकाले हेरौं भनेर मात्र हो । रिपोर्ट आएपछि भोली घरमै आएर सबै कुरा गरौंला नानु । रेडियोलोजिस्टले रिपोर्ट तयार गर्न समय लाग्छ । रिर्पोट भोलि मात्र आउँछ । तिमी अहिले गए हुन्छ ।” डक्टरले भनिन् । तर पनि पढेकी र चलाक तृष्णालाई उनकी काकीको मन बुझ्न त्यति कठिनाइ परेन । “शायद यो निकाल्न नमिल्ने स्थितिमा पुगिसकेछ ।” भन्ने लाग्यो उसलाई । “हुन्छ अन्टी ।” भन्दै एउटा दर्शन चढाएर ऊ कलेजतिर लागी । सधैँको जस्तै हुन प्रयास गर्दै थिई तर आफूलाई सदाको अवस्थामा पुर्याउन सकिरहेकी थिइन तृष्णाले । गम्भीर स्वास्थ्यस्थितिप्रति ध्यानाकृष्ट भएको थियो उसको । यदि हो भने अब यो अवस्थामा बाँचेर परिवारको बोज बन्नु ठीक लागिरहेको थिएन उसलाई । साथीहरूसँग रमाइलो गरिरहेको नाटक त गर्थी ऊ । उनीहरू माझ आफूलाई सदाझैं उभ्याउन प्रयास पनि गर्थी । तर सक्दिनथी । साथीहरूले तृष्णालाई त्यस दिन अर्कै पाएका थिए । उनीहरूले उसको पीडा बुझ्न नचाहेका होइनन् । तर मनको घाउको पाप्रा उप्काएर पीडा दिन को नै चाहन्थ्यो र । बिस्तारै आफैँ ठीक होस् भन्ने निष्कर्षमा पुगेका थिए साथीहरू । कसैको नुर गिरेको बेला जिज्ञासा राख्नु भनेको उसको पीडामाथी पीडा थप्नु हो । मानिस सम्झाउन प्रयास गर्छ तर त्यो परिस्थितिमा आफैं पर्दा भने सम्झिन सक्दैन । बुझाउन सजिलो हुन्छ । बुझ्न गाह्रो । कलेजको कार्यक्रम सकेर तृष्णा भारी जीउ लिएर घर पुगी । त्यस दिन पनि उसकी आमाले केरकार गरिन् । तर उसले केही भनिन आमालाई । नबोली गएर आफ्नो कोठामा पसी । त्यतिकै ओछ्यानमा पल्टी ऊ । पेटमा भोक थिएन । न त आँखामा निद्रा नै थियो उसको । थियो भने मात्र गह्रुङ्गो हृदय थियो । बाँच्नु र मर्नुको दोसाँधमा छट्पटिएको मुटु थियो खासमा ऊसँग । खाना खान बोलाउँदा पनि कलेजको पार्टीमा धेरै खाएकाले भोक नलागेको कुरा बताई उसले । “घिचाएका होलान् नि बदमासहरूले । अनि किन खान मन लाग्थ्यो मैया साहिबालाई ?” पुनः तीखो सुइराले मुटुमा रोपिन् आमाले । तर पनि त्यसको कुनै पर्बाह भएन तृष्णालाई । “कुकुरझैं पछि लाग्ने जति भए पनि छँदैछन् क्यार ।” बहिनीचाहिंले अर्को बाण हानी । “हाम्रो त बेइज्जतै गरेर छाड्ने भई यसले ।” भाइले अर्को भाला प्रयोग गर्यो । र पनि त्यसले घोचेन उसलाई । जति घोच्नु आफ्नै पीडाले घोचिरहेको थियो । घर परिवार सबै आआफ्नो कोठातिर लागे । सबै सुतिसकेपछि ऊ कोठाबाट निस्केर हिंडी । कहाँ जाने ? के गर्ने ? उसको मनमा खुलदुली चलिरह्यो । उद्देश्यविहीन यात्रामा उसका पाइला अघि बडिरहे । घरभन्दा अलि तल खोरिया बारीको अम्बाको रूखमा हेरी । जुनेली रातमा आकाशमा रूखकै चित्र कोरिएको देखी । फूल फुल्न कोपिला लाग्दै गरेको भए तापनि रातको जूनको उज्यालोमा ठम्म्याउन सकिन उसले । चिलाउनेको रूखका बुढा पातहरू झर्दै थिए । नयाँ राता पाउला पलाउँदै थिए । त्यो पनि उसले देख्नसकिन । जतासुकै उसले केवल अन्धकार मात्र देखी । अम्बाको बोटको फेदमा बसेर धेरै कुरा सम्झी । साथीसङ्गी सम्झी । विद्यार्थी जीवनमा आफूले गरेका रमाइला क्रियाकलापहरू पालैपालो उसको दिमागमा खेल्नथाले । सिनेमाको पर्दामा सिन बदलिए जस्तै एकपछि अर्को गर्दै उसको विगत दिमागमा प्रदर्शित भइरह्यो । जूनको उज्यालोको सहायताले हातको घडीमा आँखा गाडी । त्यसबेला घडीका सबै सुइहरू बाह्रको अङ्कमा गएर टाँसिएका थिए । ऊ केहीबेर घडीलाई एकोहोरो हेरर घोत्ली । जीवनलाई लहरामा झुन्डिएको फर्सी ठानी उसले । जीवन भेलले बगाएर ल्याएको मुढो देखी उसले । जीवन चितामा बलेको खरानी सम्झी उसले । आफ्नो जीवन पनि त्यही खरानी जस्तै लाग्यो उसलाई । जीवन मात्र हुरीले उडाएर लाने खरानीको थुप्रो । भोलिपल्ट तृष्णाको कोठा अबेरसम्म खुलेको थिएन । सबै आआफ्नो काममा लागिसकेका थिए । उसकी आमा तृष्णाको ढोका ढक्ढक्याउन पुगिन् । ढक्ढक्याउन छुनासाथ ढोका खुल्यो । रित्तो थियो कोठा । “बिहानै उठेर कता हिंडिछे ।” भुतभुताइन् आमा । “तृष्णा उठेकी छैन कि क्या हो आज ?” भन्ने लोग्नेको सोधाइमा उनले भनिन्, “किन नउठ्नु । कहाँ जाने काम थियो होला नि महारानीको । आज पनि बिहानै हिंडिसकिछ । कोठामा छैन ।” जवाफमा उनले भनिन् । “कति खेद्छौ त्यसलाई सन्तानै लागेर । तिमीहरूले जे सोचिरहेका छौ त्यस्तो होलाजस्तो त लाग्दैन है मलाई । हिजो त्यसको मूढ ठीक थिएन जस्तो लागेको थियो । सदाभन्दा अँध्यारो अनुहार लगाएकी थिई ।” तृष्णाका बाबुले भने । “कुन्निकुन्नि । पुलपुल्याएर राख्नुभएको छ छोरी महारानीलाई । आफैं जान्नु नि । कुन दिन त्यो नाकमा फोहोर लगाइदिन्छे अनि थाहा हुन्छ ।” भनेर अर्कातिर बटारिइन् उनी । आँगनको डीलमा बसेर एउटा कौवा नराम्रोसँग कराइरहेको थियो । “शुभ बोल बोल । भलो भलो समाचर ले । ठाउँ सरी बस ।” तृष्णाकी आमाले भनिन् । तर कौवा डेक चलेन । न त कराउन नै छोड्यो । उता आकाशमा एक बथान चिलहरू घुमिरहेका थिए । पारिघरे काइँलो घरबाट बाहिर निस्क्यो । उसले तृष्णाको खोरिया बारीमाथि घुमिरहेका चिलको बथानतिर हेर्यो । फेरि बारीतिर हेर्यो । टाढाबाट उसले त्यति ठम्म्याउन सकेन । अम्बाको बोटमा केही झुन्डिएको जस्तो लाग्यो उसलाई । “ए ठुल्दाइ । ठुल्दाइ हो ।” भनेर बोलायो तृष्णाको काकाले पारिबाट । “किन हो काइँला । किन चिच्याउँछस् ? के पर्यो ।” तृष्णाका बाबुले सोधे । “होइन हो दाइ त्यो तल अम्बाको बोटमा केही झुन्डिएको जस्तो देख्छु । ठम्म्याउन सकिन ।” उसले भन्यो । “होइन के भन्छ यो । ए जाजा हेर ।” उनले श्रीमतीलाई भने । तृष्णा कि आमाले ठूलो पाटाको डिलमा गएर हेरिन् । मानिस झुन्डिएको जस्तो लाग्यो उनलाई । “मान्छे झुन्डेको जस्तो छ ।” उनले भनिन् । दुवै जोईपोइ झरे अम्बाको रूखतिर । तृष्णाको लत्रिएको टाउको उनीहरूलाई नै नियालिरहेको थियो । उसको अनुहारले भन्दै थियो, “मलाई शङ्का नगर्नु होस् । म त्यस्ती छैन जुन कुरा तपाईंहरू सोच्दै हुनुहुन्छ ।” “देख्नु भयो त यसका पारा । मैले त भनेकै थिएँ नि । एउटा केटा खोजेर बिहे गरिदिनु भनेको मानेको होइन । कसको बोकी । देखाउन सकिन । अनि यो हालत भयो । कस्तो बेलामा मेरो कोखबाट जन्म लिन आइपुगिछ । यस्ताको त मुख पनि नहेर्नु ।” एकै सासमा भन्दै फन्किन् आमा । छोरी मरेकोमा उनलाई वास्ता भएन । इज्जतको मात्र ख्याल भयो । “छोरी ! के गर्यौ नि यस्तो ?” भन्दै लासलाई अँगालो हाल्न पुगे तृष्णाका बाबु । “के को छोरी नि । कुन असत्तीको पाप छोप्न आत्महत्या गरी ।” भन्दै गनगनाउन थालिन् उनी । त्य सैबेला अस्पतालको सबै प्रतिवेदन बोकेर बाबुआमालाई सुनाउन डक्टर काकी घरबाट निस्किन्, उनलाई त्यहाँ पुग्न झन्डै आधा घण्टा त लाग्थ्यो नै । त्यतिबेलासम्म सबैतिर हल्लाखल्ला भइसकेको थियो । पुलिस पनि आइसकेका थिए । झुन्डिएको लासको स्थिति हेरे पुलिसहरू सरासर तृष्णाको कोठामा गए । पुलिसले सिरानी पल्टाएर हेर्यो । त्यहाँ एउटा कागजको पन्ना फेला पर्यो । त्यसमा लेखिएको थियो, पूज्य मातापिता र मायालु भाइ तथा बहिनी, आज म जीवनको अन्तिम घडीमा अन्तिम निर्णय लिन बाध्य भएकी छु । यसले तपाईंहरूलाई आघात त पुर्याउँछ नै । तर पनि मलाई माफ गरिदिनु होला । मेरो पेटमा बड्दै गरेको रोगले मलाई बाँच्ने सहारा दिन सकेन । यसको उपचार गरेर बाबाको सम्पत्ति सकेर मेरो प्यारो परिवारलाई सडकमा हात थापेर बाँच्न बाध्य बनाउन मेरो मनस्थिति तयार भएन । भाइ र बहिनीको भविष्यका लागि मैले यो निर्णय गर्नु ठीक ठानें । जति बाँचे खुशीसाथ बाँचे । त्यसैमा मलाई गर्भ छ । आफ्ना दिन सकिएपछि सबैले एक दिन जानैपर्छ । मेरो पनि बाँच्ने दिन सकिएको बुझिदिनु भई चिन्ता नगर्नु होला । थाहा छैन अर्को जन्म के हो । यदि भयो भने अर्को जन्ममा पनि हजुरहरूको छोरी होइन त्यतिबेला म छोरो भएर जन्म लिनसकूँ । सबै कुरा डक्टर काकीले ल्याउनु हुने प्रतिवेदनबाट थाहा हुने नै छ । बाबा आमाको सेवा गर्ने ठूलो इरादा थियो । त्यो गर्न नसकेकोमा क्षमा चाहन्छु । सबैमा अन्तिम माया । उही छोरी तृष्णा त्यसैबेला डक्टर आइपुगिन् । घरभरि मानिसहरूको भीडले कुनै अनर्थको सङ्केत दियो उनलाई । “के भयो ? किन यो भीड ?” डक्टरले सोधिन् । “असत्तीले आत्महत्या गरी । कसको पाप…….।” भन्न नपाउँदै, “होइन होइन दिदी । त्यसो नभन्नुस् । यो गलत कुरा हो । छोरी तृष्णा त्यस्ती केटी होइन । मैले हिजो मात्र जाँचेर सब प्रतिवेदन ल्याएकी छु ।” भनेर उनले मेडिकल रिपोर्टको खाम प्रहरी इन्स्पेक्टरको हातमा थमाइन् । खाम खोलेर प्रतिवेदनको अध्ययन गरे उनले । प्रतिवेदनमा लेखिएको थियो, “पेटमा अन्तिम स्टेजको मालिग्नान्ट ट्युमर ।” त्यो प्रतिवेदन सुनेर बेहोस भएकी तृष्णाकी आमालाई अस्पताल पुर्याइयो । केही दिनपछि होसमा आएर घर त फिरिन् तर पश्चातापको ज्वालाले पोलिरह्यो । भाइलाई पोलिरह्यो । बहिनीलाई पोलिरह्यो । सबैलाई पोलिरह्यो । बाबुलाई छोरीले गरेको त्यागको ज्वालाले झन् धेरै पिल्स्यायो । तृष्णा ठीक ठाउँमा थिई । त्यसैले ऊ जीवनमा एकपटक मरेर बिदा भई । आफ्नो ठाउँमा नबस्ने उसका घर परिवारका सदस्यहरू धेरैपटक मरेर पलपल पश्चातापको ज्वालामा पिल्सिरहे । The post कथा : पश्चातापको जलन appeared first on साहित्यपोस्ट.