संस्थागत सिकाइ - nagariknews.nagariknetwork.com
प्रत्येक वर्ष मौसमी विपत्तिका कारण मुलुकले ठुलो जनधनको क्षति भोग्नुपरेको छ। यसपटक पनि शनिबार रातिदेखि परेको अतिवृष्टिले गराएको क्षतिको तथ्यांक संकलन भइरहेको छ। क्षतिको पूर्ण विवरण आएपछि यसले पारेको प्रभावको गहिराइ बुझ्न सकिने छ। अहिलेसम्म ४४ जनाको मृत्यु र पाँच जना बेपत्ता भएको स्थिति छ। मौसमी कारणले पटकपटक हुने यस्तो ठुलो क्षति आफैंमा हाम्रा निम्ति चिन्ताजनक पक्ष हो। त्यसलाई सामना गर्न राज्यका तर्फबाट गरिने तयारीले मात्र क्षति कम गर्छ। यसलाई राज्यले पनि प्रत्येक वर्ष बुझेर काम गरिरहेको छ। यसपटक गत वर्षको तुलनामा कम क्षति हुनुमा संस्थागत सिकाइको भूमिका छ। विगतबाट सिक्दै भावी समस्या सामना गर्नुपर्ने हुन्छ।त्यसो त, मुलुकमा गत भदौ २३ को जेनजी आन्दोलन र त्यसैलाई दुरुपयोग गर्दै भदौ २४ मा आगजनी र तोडफोड गरेपछि बनेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार प्रभावकारी बनेको भनिँदै छ। गत वर्ष असोज १२ मा ठुलो वर्षा र बाढीले गरेको क्षति कल्पनातीत थियो। सरकारका तर्फबाट यथोचित तयारी हुन नसकेको भन्दै त्यतिबेला व्यापक आलोचना भयो। त्यसैका आधारमा त्यसयता राज्यले गरेको तयारीकै प्रतिफलस्वरूप यसपटक पूर्वसतर्कता र उद्धार कार्य भएको हो। सरकारले अहिले गर्न सकेको उद्धार र सचेतनामूलक कार्य त्यसैका आधारमा भएको हो भन्न सकिन्छ। स्वाभाविक रूपमा नयाँ सरकारमा केही गर्ने हुटहुटी हुँदा सकारात्मक प्रभाव पर्नु स्वाभाविक हो।प्राकृतिक प्रकोपका बेला समन्वय गर्ने निकायमा गृह मन्त्रालय र यसमातहतका कार्यालय रहन्छन्। विशेषगरी सुरक्षा निकायमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष भूमिका रहन्छ। उनीहरू विपद्का बेला अहोरात्र खट्छन्। त्यसैगरी स्थानीय सरकार र प्रदेश सरकारको भूमिका पनि उत्तिकै रहन्छ। यसपटक सबैभन्दा उल्लेख्य भूमिका मौसम पूर्वानुमानबाट पनि निर्वाह भएको छ। यसले विज्ञानमा विश्वास गरेर तदनुकूलको तयारी गर्न सकेको खण्डमा जनधनको क्षति रोक्न सकिन्छ भन्ने भएको छ। समुदायलाई दिग्भ्रमित गर्न केही भविश्यवाणीकर्ताले कोसिस गरेका पनि हुन्। हाम्रो समाजलाई भविष्यवाणीकर्ताबाट जोगाउनु र विज्ञानमा विश्वास गर्ने बनाउनु अति आवश्यक छ।आफूलाई ‘जेनजी’ नेताका रूपमा चिनाउन चाहने केही व्यक्तिले उच्च सरकारी पदाधिकारीसँग लिएको ‘रिपोर्टिङ’ का आधारमा हेर्दा फेरि पनि समाजमा विभाजित अभिव्यक्ति आइरहेका छन्। यस्तो गर्न पाउनुपर्छ वा पर्दैन भन्ने परस्पर विरोधी दाबी भइरहेका छन्। उच्च पदस्थ पदाधिकारीले आफैं सुझाव माग्न यस्ता व्यक्तिलाई बोलाएर सुनेका हुन् भने बेग्लै हो, अन्यथा अनधिकृत व्यक्तिले मन्त्रालय, कार्यालय आदिमा जथाभावी ‘निर्देशन’ गर्ने होइन। निर्देशन गर्नु छ भने त्यसको नेतृत्वमा आए हुन्छ। अहिलेको तरल अवस्थालाई दुरुपयोग गर्दै जथाभावी गरिरहेका यस्ता ‘तत्व’ लाई काबुमा राख्नुपर्ने अवस्था पनि आएको छ, अन्यथा यस्तो स्थितिले आपत्कालीन व्यवस्थापनमा अनावश्यक झैझमेला खडा गर्ने स्थिति आउँछ।राज्यलाई भदौ २४ गते पूर्णरूपमा असफल बनाउन जुन तत्वले अग्निदाह गर्न रुचायो, त्यसले पूर्णरूपमा हाम्रा संस्थाको मनोबल गिराउने काम गरेको छ। यति हुँदाहुँदै पनि एक महिना नपुग्दै आफ्नो भूमिका निर्वाह गर्न तत्पर राष्ट्रसेवकहरूको भूमिकालाई कम आँक्न सकिँदैन। यस्तो विषम परिस्थितिमा पनि काम गरिरहेकाहरूको मनोबल गिराउने गरी कुनै तत्व सक्रिय हुन्छन् भने त्यो चिन्ताको विषय हो। यसै पनि हाम्रो मुलुकलाई असफल बनाउन विभिन्न घटना गराइँदै आएको छ भन्ने बिर्सन मिल्दैन। एसियाकै पुरानोमध्येको एक देश नेपाललाई यो तहको अस्थिर बनाउन चाहने तत्वहरूको भूमिकाबारे गौर गर्नु अहिलेको आवश्यकता हो।प्राकृतिक प्रकोप मात्र होइन प्रत्येक दशकजसो यहाँ परिवर्तनका नाममा भइरहेका खेलले नेपाललाई गम्भीर अवस्थामा पु¥याएको छ। यस्तो अवस्थामा जेनजी आन्दोलनको पवित्र उद्देश्यबाट स्थापित सरकारको ध्यान पुग्नु उत्तिकै जरुरी छ। यो सरकारलाई अप्ठ्यारोमा पारेर आफ्ना अजेन्डा विभिन्न समूहका नाममा लागु गराउन खोज्नेहरूको पनि कमी छैन। यो स्थितिमा अहिलेको सरकार विगत सरकारहरूकै निरन्तरता र लोकतन्त्र रक्षाका निम्ति स्थापित भएको पक्षलाई बिर्सन मिल्दैन। त्यसैले सरकारका निम्ति विभिन्न कोणबाट आउने संविधानविरोधी र लोकतान्त्रिक संस्थाको अहित गर्ने दबाबबाट जोगिन पनि उत्तिकै जरुरी छ। लोकरिझ्याइँ अहिलेको सबैभन्दा खतरनाक अस्त्र हो। त्यसबाट जोगिँदै संविधान, कानुन र मुलुकका लोकतान्त्रिक संस्थाको रक्षाबाट मात्र कुनै पनि सरकारको वैधता कायम हुन्छ, अन्यथा त्यसले भविष्यमा ल्याउन सक्ने दुष्परिणाम डरलाग्दा हुनेछन् भन्ने महसुस गर्नुपर्छ। राज्य संयन्त्रलाई कुनै पनि नाममा कमजोर बनाउने काम नहोस्।