ओदानः ओदानको आगोमा पाकेका लघुकथाका परिकारहरू - sahityapost.com
ओदान अझै सेलाएको छैन, किनभने यो भर्खर मात्र – २०८२ असार ३० गते, सर्वनाम थिएटर, कालिकास्थानमा भव्य रूपमा विमोचित भएको हो । ओदान नसेलाउँदै एकै बसाइमा पढेर सकिसकेको छु । ‘ओदान’ पढ्न थालेपछि बिर्सिनु परेको समय, हराउनु परेको आफू, र भेटिएका कथाहरू पाठकका मानसमा लामो समयसम्म बास बस्नेछन् । लघुकथा प्रेमी, अध्येता र नवलेखक सबैका लागि यो कृति दिशानिर्देशक सन्देश हो । तीन साहित्यकार, एउटै ओदान ओदान— नाममै जादु छ । यसको मेरुदण्ड बनेका छन् तीन सशक्त साहित्यिक हस्तीहरूः विश्वराज अधिकारी, डा. कुसुमाकर शर्मा गौतम, र खेमराज पोखरेल । तीनै जना हाल अमेरिका र क्यानडामा बसे पनि मातृभूमि र मातृभाषाप्रतिको निष्ठा यो कृतिमा उजागर भएको छ । देश–विदेशको भौगोलिक दूरीले उनीहरूको भावनात्मक निकटतालाई टाढा पार्न सकेको छैन । रचना, संरचना र गहिराइ १९० पृष्ठको यो पुस्तक लेखकीय प्रस्तावनाबाहेक तीन खण्डमा बाँडिएको छः (क) लघुकथासम्बन्धी आलेख, (ख) लघुकथा संग्रह, र (ग) लघुकथाकार परिचय । पहिलो खण्डको आलेख लघुकथाको मापदण्ड निर्माणको सारगर्भित प्रयास हो – जुन लघुकथाको अध्ययन र सिर्जनामा रुचि राख्नेहरूका लागि अमूल्य ‘गाइड’ जस्तै हो । यहाँ लघुकथाको उद्देश्य, बनावट, प्रभाव र सम्भाव्यताको पक्ष विस्तृत उदाहरणसहित व्याख्या गरिएको छ । तीन स्वाद, एउटै थाली लघुकथाका खण्डमा कथाकार त्रयका लघुकथाहरू विषयवस्तु र शैलीका दृष्टिले पृथक छन्ः विश्वराज अधिकारीका २५ लघुकथाहरू राजनीति र सामाजिक यथार्थका ऐना हुन् । दल, राजनीति, विचार र विडम्बनाहरूलाई कलात्मक ढंगले चित्रण गरिएको छ । डा. कुसुमाकर शर्मा गौतमका ५० लघुकथाहरू गम्भीर विचार, सौन्दर्य चेत, र भाषिक लालित्यले भरिएका छन् । तिनमा दर्शन र साहित्यको रमणीय संयोजन देखिन्छ । खेमराज पोखरेलका ७५ लघुकथाहरू अनौठो तरिकाले ’अ’ अक्षरबाट शुरु भएर प्रायः त्यही अक्षरमै टुंगिन्छन् । प्रयोगात्मक रचनाहरू भए पनि ती पठनीयता र सौन्दर्यमा कुनै कमी देखिँदैन । जीवनयात्रा र योगदान अन्तिम खण्डमा ती लेखकहरूको साहित्यिक यात्रा, जीवनी र प्रकाशन कृतिहरू उल्लेख गरिएका छन् — विश्वराज अधिकारीका चार दर्जन, डा. गौतमका तीन पुस्तक, र खेमराज पोखरेलका दुई दर्जन कृतिहरूले तिनको साहित्यिक योगदानको परिप्रेक्ष्य दिन्छन् । शुभ अवसर र सन्देश मेरा लागि यो पुस्तक विमोचन समारोहमा सहभागी हुन पाउनु र नसेलाउँदै पढ्न पाउनु— एक दुर्लभ र भाग्यशाली संयोग बन्यो । यसले मलाई गौरवान्वित बनायो । यस्तो मीठो स्वाद, यति गहिरो साहित्यिकता र यति समर्पित साहित्यकारहरूसँगको साक्षात्कार सबै नेपाली साहित्यप्रेमीका लागि प्रेरणादायी हुन सक्छ । किनकि यो सङ्ग्रहमा विविध स्वादका लघुकथाहरू मात्र समावेश भएको छैनन्, लघुकथा लेखनमा कालखण्ड दोष जस्तो गहनतम् आलेख पनि समावेश भएको छ । लघुकथाकारका लघुकथा-यात्राले पनि एउटा गोरेँटो निर्देश गरेको देखिन्छ । लघुकथाको रचनागर्भ, सिद्धान्त, लघुकथा तथा लघुकथाकारको परिचयसमेत एकै ओदानभित्र पाकेकाले यो कृति पाठकका लागि त सुन्दर छँदैछ; अध्येता, लेखक, समीक्षक तथा लघुकथाको इतिहासका लागि पनि ओदान उत्तिकै काम लाग्ने र पठनीय कृति हुन पुगेको छ । अन्त्यमाः साहित्यकार त्रय— विश्वराज अधिकारी, डा. कुसुमाकर शर्मा गौतम र खेमराज पोखरेलप्रति हार्दिक सम्मान प्रकट गर्दै उहाँहरूको नेपाली साहित्यको उन्नयनप्रति अटल समर्पण, देशप्रेम र सशक्त सिर्जनशीलतालाई सलाम गर्दछु । साथै उहाँहरूको उत्तरोत्तर सुस्वास्थ्य, सिर्जनात्मक ऊर्जा र साहित्यिक सफलताको शुभकामना प्रकट गर्दछु । The post ओदानः ओदानको आगोमा पाकेका लघुकथाका परिकारहरू appeared first on साहित्यपोस्ट.