लघुकथा: शरणार्थी - sahityapost.com
“ तिमीलाई पुग्यो ? ” इब्राईमले सोध्यो । समुन्द्रको किनारमा बनेको कटेज बारमा चन्द्रमाको प्रतिबिम्ब पानीमा हेर्दै मैले पुग्यो भन्ने आशयले टाउको हल्लाएँ । “ इब्राईम तिमीले एम. डि/ कहाँ गरेको रे ? ” मैले सोधेँ । “ अस्मानी मेडिकल कलेज, बंगलादेश ।” उसले भन्यो । बियर उसलाई पनि पुगेछ कि । उसले थप बियर मगाएन । “ इण्डियामा पढेनौ ? ” मैले सोधेँ । “ एम. बि. बि. एस. त दिल्लीबाट हो ।” उसले जवाफ दियो । हामी बारको बन्द घेराबाट बाहिर निस्क्यौँ । अलि पर पुगेर सुनसान रातमा जुत्ता खोलेर समुन्द्रको पानीमा खुट्टा डुबाएर पेटीमा बस्यौँ । दुई महिना अघि आफूले काम गरेको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको आफ्नै कार्यकक्षबाट समेत देखिने सुन्दर हिमृश्रृङ्खलाले मन रमाएको सम्झना आयो । महिनाको दुई चार हजार बढी आउने लोभमा राष्ट्रले आफू प्रति गरेको लगानीलाई बेवास्ता गरी परदेसिएकोमा कता कता नरमाइलो पनि लागेको थियो । अझ आफ्नो जन्म शहरको भर्खरै स्थापित स्वास्थ्य संस्थाको उन्नति र प्रगति गर्ने अवसर छोडेर आएको थिएँ म । “ समुन्द्रको र हिमालको सौन्दर्य दुवै पृथक, रमणीय र प्राकृतिक है ? ” मैले भने । “तिमीहरू त जहाँ गए पनि तिम्रो हिमाल, देश कतै जाँदैन नि है ? ” भन्दा उसलाई आज बियर अलि बढी लागेछ जस्तो लाग्यो । समुन्द्रको किनारमा बसेको पनि फोटो खिच्नु पर्यो भनेर मोबाइल क्यामरा मिलाउँदै गर्दा उसको आँखाबाट आँसु झरेको देखियो । “ इब्राईम अलि बढी भयो कि ? ” मैले भने । “ मलाई बियरले छोएको पनि छैन । केही दशकमा अहिले हाम्रो खुट्टासम्म आएको यो समुन्द्रको पानीले हाम्रो देश नै डुबाउने छ । हामी समुन्द्रले लखेटेका शरणार्थी हुनेछौँ ।” लामो श्वास तानेर इब्राइमले भन्यो । The post लघुकथा: शरणार्थी appeared first on साहित्यपोस्ट.