पुस ९ देखि विराटनगरमा ‘विराट ट्रेड एक्स्पो–२०२५’ - www.onlinepana.com
काठमाडाैं । आउँदो पुस ९ देखि १९ गतेसम्म ‘विराट ट्रेड एक्स्पो–२०२५’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले एक्स्पो आयोजना गर्न लागेको हो। सोमबार संघले विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरेर एक्स्पोको तयारी तीव्र पारेको जानकारी दिएको छ। विराटनगर–१ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय मोरङको दक्षिणमा रहेको खाली ठाउँमा एक्स्पो आयोजना हुन लागेको हो। एक्स्पोलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आवश्यक तयारी अघि बढाइएको मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले बताए। उनले कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको थलोका साथै नयाँ पुस्तालाई मनोरञ्जन प्रदान गर्न एक्स्पो आयोजक संस्थाले सबै प्रकारले तयारी गर्ने जानकारी दिएका छन्। स्वदेशी विदेशी गरी विभिन्न कम्पनीका उत्पादनको प्रवर्द्धन र बिक्री वितरणका लागि २३० वटा स्टल समावेश गरिने राठीले बताए। जसमध्ये ८० प्रतिशत अर्थात १९२ भन्दा बढी स्टल ‘बुकिङ’ भइसकेको विराट ट्रेड एक्स्पो–२०२५ का संयोजक अमित कुमार सारडाले जानकारी दिए। २३० मध्ये भारत, बंगलादेश र पाकिस्तान लगायतका मुलुकबाट अहिलेसम्म २६ वटा स्टलहरू बुकिङ भइसकेको छ। एक्स्पोमा अटो मोबाइल्स क्षेत्रलाई छुट्टै पेभिलयनमार्फत प्रदर्शन र बिक्री वितरणका लागि राखिनेछ। दुई करोड ५० लाख रुपैयाँको लागतमा एक्स्पोको डोम र पेभिलियन निर्माण गर्ने काम अघि बढेको पत्रकार सम्मेलनमा संघले जानकारी दिएको छ। एक्स्पोका लागि जर्मन प्रविधिको ह्याङ्गर, अक्टानमसहित स्टल रहनेछ। घरेलु, साना, मझौला तथा ठूला उद्योगका अतिरिक्त कोशी प्रदेशको महत्व झल्किने कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य तथा औद्योगिक उत्पादनको प्रदर्शनी हुनेछ। एक्स्पोमा स्टार्टअप, साना तथा मध्यम उद्यम, पर्यटन, सूचना प्रविधि, कर तथा लेखा र महिला उद्यमशीलता सम्बन्धी छलफल तथा गोष्ठीमार्फत सहभागीहरूलाई उपयोगी ज्ञान, सीप र अवसर प्रदान गरिने पनि संघले जनाएको छ। एक्पोको मुख्य प्रायोजन रमपम तयारी चाउचाउ र मारुती सिमेन्टले गरेका छन्। संघले पहिलो पटक कोशी महोत्सव २०५३ मार्फत औद्योगिक तथा व्यापारिक मेलाको प्रवर्द्धन सुरू गरेको थियो। त्यसपछि पूर्वाञ्चल औद्योगिक व्यापार मेला २०५७, विराट महोत्सव २०६२, विराट महोत्सव २०७०, विराट ट्रेड एक्स्पो २०१८ (२०७५), विराट ट्रेड एक्स्पो २०२२ (२०७८), मोरङ व्यापार संघ एक्स्पो–२०२३ पनि आयोजना गरिसकेको छ। The post पुस ९ देखि विराटनगरमा ‘विराट ट्रेड एक्स्पो–२०२५’ appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).