भक्तपुरबाट एमालेको उद्घोष - ehimalayatimes.com
काठमाडौं । नेकपा एमालेले देशका प्रमुख राष्ट्रिय धरोहरहरू सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत जलाउने घटनामा संलग्नहरूलाई कहिल्यै नबिर्सिने र माफी नदिने उद्घोष गरेको छ । भक्तपुरको सल्लाघारीमा शनिबारबाट सुरु भएको पार्टीको ११औँ महाधिवेशनको उद्घाटन समारोहमा एमालेले गत भदौ २४ गतेको विध्वंशमा संलग्नहरूलाई लक्षित गर्दै माफी दिने चेतावनी दिएको हो । भक्तपुरको सल्लाघारी चौरमा अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झण्डोत्तोलन गरेर बत्ती बाल्दै महाधिवेशनको उद्घाटन गर्नुभएको थियो । अध्यक्ष ओलीले रिमोटबाट झण्डोत्तलन गरेलगत्तै भिडियो देखाइएको थियो । उक्त भिडियोमा ‘जेन-जी’ प्रदर्शनका क्रममा जलेका र आगलागी भएका सरकारी संरचनाहरू देखाउँदै त्यो दिन एमालेले बिर्सन नसक्ने बताइएको छ । भिडियोमा भनिएको छ, ‘कामरेडहरू एकैछिन आँखा चिम्लनुहोस् जलेको हाम्रो न्यायको मन्दिर सम्झिनुहोस्, बलेको हाम्रो संसद् भवन सम्झनुहोस्, खरानी बनाइएको हाम्रो सिंहदरबार । भन्नुहोस् जलाएको सिंहदरबार, बिर्सेका छैनौँ ।’ भिडियोमा प्रदर्शनका जलेका अन्य संरचनाहरू पनि देखाइएको छ अनि भनिएको छ, ‘न बिर्सन्छौँ, हातमा आगो बोक्नेहरू, न बिर्सन्छौँ प्रहरीका बन्दुक खोस्नेहरू न बिर्सन्छौँ भागेका कैदीहरू ।’ देशको लागि जाग्नुपर्ने भन्दै उक्त भिडियोमा ढलेको आस्था उठाउन लाग्नुपर्ने, संसद् पुनःस्थापनाका लागि लाग्नुपर्ने र च्यातिएको संविधान मर्मत गर्न जाग्नुपर्ने भनिएको छ । हिंसा भड्काउने तत्वका कारण युवा विद्यार्थीको ज्यान गएको जिकिरनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा भड्काउने तत्वका कारण भदौ २३ गते ‘जेन–जी’ आन्दोलनका क्रममा युवा विद्यार्थीको ज्यान गएको जिकिर गर्नुभएको छ । पार्टीको ११औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले युवा विद्यार्थीलाई अगाडि सारेर संसद् भवनमा आगजनी गरिएको टिप्पणीसमेत गर्नुभयो । तत्कालीन प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले हिंसा भड्काउने तत्वका कारण युवा विद्यार्थीको ज्यान जाने अवस्था आएको जिकिर गर्दै भन्नुभयो, ‘हिंसा भड्काउने तत्वका कारण युवा विद्यार्थीको ज्यान जाने अकल्पनीय परस्थिति बन्यो । नवयुवाको मागप्रति कसैको असहमति थिएन । सामाजिक सञ्जाल बन्द गर्ने होइन, नियमन गर्ने मात्रै हाम्रो चाहना थियो । युवा विद्यार्थीको शान्तिपूर्ण कार्यक्रममा घुसपैठ भयो ।’ सरकारलक्षित ओलीको टिप्पणी- ‘हिंसा र युद्धबाट भएका परिवर्तन स्वीकार्दैनौँ’पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा र युद्धबाट भएका परिवर्तनहरू स्वीकार गर्न नसकिने चेतावनी दिनुभएको छ । पार्टीको ११औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले वर्तमान सरकार हिंसाबाट आएकोले आफूहरूले नस्वीकारेको र नस्वीकार्ने स्पष्ट पार्दै भन्नुभयो, ‘हामी हिंसा या युद्ध समय परिवर्तनको साधन हुन सक्दैन, हुन हुँदैन भन्छौँ । जनताको मन जितेर पनि शान्तिपूर्ण ढंगले पनि समाज बदल्न सकिन्छ । हामी भन्छौँ अनि प्रहार हुन्छ । विविधता र बहुलता हाम्रो सम्पदा हो दूरी बढाउने विषय होइन भन्छौँ । विविधतामा एकता हाम्रो मूलमन्त्र हो भन्छौँ अनि हामीमाथि प्रहार हुन्छ । संविधान संशोधन गर्ने अधिकार हाम्रो हो भन्छौँ, हाम्रो स्वतन्त्रताको प्रयोग, सुउपयोग हामी गर्छौं भन्छौँ । स्पष्ट रूपमा भन्छौँ । हामी जन्मजात श्रेष्ठताका आधारमा शासन गर्ने व्यवस्था सामन्ती हो । आजको युगमा अनिर्वाचित सत्ता हामीलाई मञ्जुर छैन ।’ ‘लोकतन्त्र अजेय छ, एमाले अजम्बरी’अध्यक्ष ओलीले लोकतन्त्र अजेय र एमाले अजम्बरी रहेको दाबी गर्नुभएको छ । तीन महिनाअघि कहालीलाग्दा दिनहरूबीच एमालेको सान्दर्भिकता समाप्त भएको भन्ने भाष्य खडा गर्न खोजिए पनि त्यो सम्भव नभएको जिकिर गर्दै ओलीले भन्नुभयो, ‘एउटा भाष्य निर्माण गर्ने कोसिस भइरहेको थियो । पुराना पार्टीहरू सकिए । पुराना नेताहरूको दिन गए । नेकपा एमालेको सान्दर्भिकता समाप्त भयो । यस्तो भाष्य खडा गर्न खोजिएको थियो । धुवाँ खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै जनसागर ओर्लिएको छ । लोकतन्त्र अजेय छ । नेकपा एमाले अजम्बरी छ ।’ सल्लाघारीमा महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित भएकाहरूलाई मात्रै एमाले नठान्न चुनौती दिँदै उहाँले भन्नुभयो, ‘यहाँ उपस्थित भएका महासागरको थोपा मात्रै हो । यो उपस्थिति गर्वको विषय हो । अध्यक्ष ओलीले आफूहरू निर्णायक राष्ट्रिय शक्ति बन्दै अगाडि बढेको दाबीसमेत गर्नुभएको छ । ‘सरकार-‘जेन-जी’ सम्झौता देशलाई भिडन्ततर्फ गम्भीर षड्यन्त्र’अध्यक्ष ओलीले सरकारले ‘जेन-जी’सँग गरेको सम्झौता देशलाई गम्भीर भिडन्ततर्फ लाने षड्यन्त्र भएको टिप्पणी गर्नुभएको छ । वर्तमान सरकार एकातिर निर्वाचनको हल्ला गर्ने र अर्कोतिर निर्वाचन बिथोल्ने काम गरिरहेको आरोप लगाउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘एकातिर निर्वाचनको हल्ला गर्ने, अर्कोतिर निर्वाचन बिथोल्ने । सरकार ‘जेन-जी’ सम्झौताजस्ता नाटकमञ्चन गरेर, यो विल्कुल नाटक हो, अनधिकृत हर्कत हो । यो देशलाई भिडन्ततर्फ गम्भीर षड्यन्त्र हो । र यस्ता नाटक मञ्चन गरेर लोकतन्त्रलाई रोक्ने वातावरण गर्ने अनेक प्रपञ्चको यो सरकार जालो बुनिरहेको छ ।’ अध्यक्ष ओलीले आफ्नो पार्टी नेकपा एमाले चुनावबाट भाग्छ भन्ने नसोच्न आग्रह गर्दै भन्नुभयो, ‘डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ । तर अहिले चुनाव हुँदै छ र ? होइन चुनाव हुँदै छैन । चुनावको कुरा मात्रै भइरहेको छ, देशलाई अल्मल्याउनका लागि । त्यसैले हाम्रो अडान छ प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ ।’ स्वाधीनताको कुरा गर्दा एमालेमाथि कलर रिभोलुसन भएको टिप्पणीअध्यक्ष ओलीले स्वतन्त्र र सार्वभौम राष्ट्रको अभ्यास गर्दा एमालेमाथि आक्रमण हुने गरेको टिप्पणी गर्नुभएको छ । नेपालीको सार्वभौम राष्ट्रियता कमजोर हुने ठानेर कसैले हिसाबकिताब गरिरहेको दाबी गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘मुलुक बन्छ र बन्दै छ भरोसा गर्छौं, निराशा र नकारात्मकता अभियन्ताहरूलाई यो मन पर्दैन अनि फेरि हामीमाथि हमला हुन्छ, हामी कमजोर भयौँ भने मात्र नेपालको राष्ट्रिय स्वाधीनता कमजोर हुन्छ भनेर कसैले हिसाबकिताब गरिरहेका हुन्छन्, कहिले असन्तुष्टि पोख्दै, कहिले परिवर्तनको नारा बोकेर कलर कलरमा, कलर रिभोलुसन भन्दै देखापर्छन्, तर तिनको उद्देश्य एउटै छ हामीलाई विभाजन गर्ने ।’ एमाले नेतृत्वविरुद्ध संगठित र सुनियोजित प्रहार : पोखरेलनेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गतेको घटनाको जिम्मेवारका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चित्रण गर्ने दुष्प्रयास गरिएको आरोप लगाउनुभएको छ । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनमा उद्घाटन मन्तव्य राख्ने क्रममा महासचिव पोखरेलले भदौ २३ र २४ गतेको घटनाको पछाडि एमाले र त्यसको नेतृत्वविरुद्ध संगठित र सुनियोजित प्रहार भइरहेको दाबी गर्दै भन्नुभयो, ‘भदौ २३ र २४ गतेको घटना पछाडि एमाले र त्यसको नेतृत्वविरुद्ध संगठित र सुनियोजित प्रहार भइरहेको थियो । कतिपयलाई लागेको थियो एमालेको भविष्य समाप्त भयो । षड्यन्त्रबाट हामी सरकारबाट बाहिरिएका छौँ । तर, जनताको मनमा गहिरो गरी बसेका थियौँ । खरानीको थुप्रोबाट हामी फेरि उठ्नेछौँ ।’ नेपालको इतिहासमा भदौ २३ र २४ गते जुन प्रकारका घटना भए, नवयुवाको भावनामा खेलेर राष्ट्रविरोधी, लोकतन्त्र, गणतन्त्र र नेपालका राजनीतिक दलका विरुद्धमा षड्यन्त्रपूर्ण गतिविधि भएका उहाँको दाबी छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भदौ २४ गतेको विध्वंशपछि मुलुकमा विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको टिप्पणी गर्नुभएको छ । सरकारका काम कारबाहीप्रति राजनीतिक दलहरूले पोखे असन्तुष्टिनेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिनेक्रममा अन्य राजनीतिक दलहरूले ‘जेन–जी’ आन्दोलनको बलमा गठन भएको सुशीला कार्की नेतृत्वको सरकारका काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसदेखि विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व नरहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी लगायतका दलहरूले असन्तुष्टि जनाएका हुन् । जाँचबुझ आयोग सतर्क हुन जरुरी छ : खड्कानेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले २३ र २४ भदौमा भएको घटनाको उच्चस्तरीय न्यायिक छानविन आयोगले बिनाआग्रह-पूर्वाग्रह छानविन गर्नुपर्ने बताउनुभएको छ । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिनेक्रममा खड्काले अन्तरिम सरकारले गठन गरेको आयोगलाई सचेत गराउँदै भन्नुभयो, ‘घटनाहरूको सत्यतथ्य छानविन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन गठित उच्चस्तरीय न्यायिक छानविन आयोगले आग्रह, पूर्वाग्रह, दबाब र प्रभावबाट मुक्त भई निष्पक्ष प्रतिवेदन तयार गर्नुपर्दछ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि सरकारले लगाएको स्थानहदले धेरै प्रश्नहरू उब्जाएको छ । त्यसैले यसतर्फ आयोग सतर्क हुन जरुरी छ ।’ कार्यवाहक सभापति खड्काले लोकतन्त्रमाथि कुनै निरंकुशता वा अस्थिरताको कालो बादल मडारिँदा तत्कालै कांग्रेस, एमाले र अन्य लोकतान्त्रिक दलहरू एक ठाउँमा उभिएर परिस्थितिको डटेर प्रतिवाद गर्ने गरेको इतिहास पनि स्मरण गर्नुभयो । वामपन्थीहरूबीच एकताको विकल्प छैन : गुरुङनेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता देव गुरुङले वामपन्थीहरूबीच एकताको विकल्प नभएको बताउनुभएको छ । नेकपा एमालेको महाधिवेशनलाई सफलताको शुभकामना दिनेक्रममा नेता गुरुङले भन्नुभयो, ‘विखण्डित कम्युनिष्ट आन्दोलनलाई एकता नगरी लोकतन्त्र रक्षा गर्न कठिन छ । यतिखेर संघीय लोकतान्त्रिक गणतन्त्र गम्भीर संकटमा छ । संविधान कोमामा छ । मुलुकको राष्ट्रिय स्वाधीनता सुगौली सन्धिपछि सबैभन्दा संकटमा छ । यो संकट सम्बोधन गर्ने अग्रगामी शक्ति कम्युनिष्ट पार्टी मात्र हुनसक्छ ।’ अवैध सरकारलाई समर्थन छैन : विप्लवनेकपा माओवादी केन्द्रका महासचिव नेत्रविक्रम चन्द विप्लवले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई अवैध भएको टिप्पणी गर्नुभएको छ । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नेक्रममा महासचिव विप्लवले वर्तमान सरकार अवैध भएको टिप्पणी गर्दै भन्नुभयो, ‘यो अवैध सरकारलाई हाम्रो समर्थन छैन, हुँदैन । राज्य छ कि छैन भन्ने अवस्थामा देश पुगेको छ । देशको स्वाधीनता अझै अधुरो छ । जिम्मेवार दलहरूलाई उपेक्षा गर्ने खेल चलिरहेको छ ।’ ‘जेन-जी’ विद्रोह विस्फोट हुनुमा जिम्मेवारी लिनुपर्छ : बुर्लाकोटीराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले ‘जेन-जी’ आन्दोलन विस्फोट हुनुमा ३०/३५ वर्ष राज्यको नेतृत्व गरेका सबै राजनीतिक दलले जिम्मेवारी दिनुपर्ने जिकिर गर्नुभएको छ । नेकपा एमालेको ११औँ महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै बुर्लाकोटीले भन्नुभयो, ‘सरकारमा रहेका बेलाको जति भाग आए रास्वपाले समेत जिम्मेवारी लिनेछ । केही घण्टा राज्यविहीनता र प्रधानमन्त्रीसमेत सेनाको हेलिकप्टबाट हिँड्नुपर्ने अवस्था कसरी आयो भनेर विश्लेषण गर्न जरुरी छ ।’ संविधान मरिसकेको छ, अब ब्युँताउनु हुँदैन : लिङ्देनराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान मरिसकेकाले अब ब्युँताउन नहुने बताउनुभएको छ । नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्नेक्रममा अध्यक्ष लिङ्देनले ‘जेन-जी’ आन्दोलनपछि संविधान नरहेको जिकिर गर्दै भन्नुभयो, ‘संविधान कहाँ छ ? संविधान मरिसकेको छ । संविधान भन्ने चिज गीता, बाइबल, कुरान होइन, यो फेर्नुपर्छ भन्दै आएका थियौँ । मरिसकेको संविधानलाई ब्युँताउनतिर लाग्नुहुँदैन, अब राजा, राजनीतिक दल र ‘जेन-जी’ पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौँ ।’ राजनीतिक शक्तिहरूबीच विश्वास र सहकार्य अपरिहार्य छ : श्रेष्ठनागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले अहिलेको अवस्थामा राजनीतिक दलहरूबीच सहकार्य आवश्यक भएको बताउनुभएको छ । एमालेको एघारौँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्नेक्रममा अध्यक्ष श्रेष्ठले ‘जेन-जी’ आन्दोलनपछि अवस्था स्मरण गराउँदै भन्नुभयो, ‘एक्लै हिँडेर कोही गन्तव्यमा पुग्न सकिँदैन । यसका लागि सबै राजनीतिक शक्तिहरूबीच विश्वास र उच्चस्तरीय सहकार्य अपरिहार्य छ । मेरो पार्टी नागरिक उन्मुक्ति पार्टीको तर्फबाट प्रष्ट राख्न चाहन्छु, राष्ट्रियता संरक्षण, देशको विकास र लोकतान्त्रिकरण संरचनाको सुदृढीकरण जस्ता बृहत् मुद्दामा एमालेसँग सहकार्यको ढोका सधैँ खुला रहनेछ ।’ मुलुकलाई बंगलादेश जस्तै बनाउने खेल जारी : डा.झालोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) महासचिव डा. सुरेन्द्र झाले बंगलादेश जस्तै नेपाललाई पनि लामो समय जनप्रतिनिधिविहीन बनाउने खेल भइरहेको आरोप लगाउनुभएको छ । नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै डा.झाले नेपाललाई पनि बंगलादेश जस्तै बनाउने षड्यन्त्र भइरहेको आरोप लगाउँदै भन्नुभयो, ‘जेन-जी आन्दोलनका नाममा संसद् विघटन गरिएको छ । पुराना शक्तिलाई एक्ल्याउने गरी सरकार हिँडिरहेको छ । मुलुकलाई बंगलादेशको जस्तै जनप्रतिनिधिविहीन बनाउने खेल भइरहेको छ ।’ महेन्द्र र ज्ञानेन्द्र जस्तै सुशीलाको पहिलो काम संसद्को हत्या गर्नु हो : भट्टराष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले ‘जेन-जी’ आन्दोलनका नाममा बनेको सरकारले जननिर्वाचित संसद्को हत्या गरेको आरोप लगाउनुभएको छ । नेकपा एमालेको महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै भट्टले भन्नुभयो, ‘जेन-जी आन्दोलनका नाममा नागरिक सरकारलाई विस्थापित गरेर बनेको अलोकतान्त्रिक सरकारको पहिलो काम संसद्को हत्या गर्नु भयो । विगतमा राजा महेन्द्र र ज्ञानेन्द्रले जस्तै पहिलो काम जननिर्वाचित संसद्को हत्या गर्ने काम भयो । हामीले राष्ट्रिय झण्डा बोके पनि मुलुक गोप्य रूपमा अर्कैले चलाउँदो रहेछ । सात समुद्रपारिको मित्रले हाम्रै देशका युवालाई तयार गरेको रहेछ । नाम दिइयो जेन-जी ।’