‘एमजी फोर अर्बान’ले परिवर्तन गर्ला नेपालको ह्याचब्याक मार्केट ? - www.meroauto.com
काठमाडौं । मोरिस ग्यारेज (एमजी) को आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले केही महिना भित्रै नयाँ विद्युतीय कार मोडल नेपाल ल्याउँदैछ । कम्पनीले ल्याउने नयाँ मोडल ‘एमजी फोर अर्बान’ हो । ह्याचब्याक कार सेग्मेन्टमा उपलब्ध हुने एमजी फोर अर्बान डिजाइनको हिसाबले एमजी एस फाइभमा आधारित रहेको छ । चीनमा ९ हजार ५६० अमेरिकी डलर सुरूवाती भेरियन्टको तोकेर बिक्री सुरू भएको कारण यसको मूल्य नेपालमा पनि निकै राम्रो आउने अनुमान छ । पारामाउन्ट मोटर्सले ल्याउने एमजी फोर अर्बानले बीवाइडी डल्फिनदेखि नामी बक्ससम्मका मोडललाई टक्कर दिनेछ । कम्पनीले चीनमा सेमी सोलिड स्टेट ब्याट्री र लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री दिएर यसलाई बजारमा ल्याएको छ । सम्भवत: नेपालमा एलएफपी ब्याट्री भर्सन मात्रै उपलब्ध हुनेछ । एसएआइसी ग्रुपले ‘ईथ्री प्योर ईभी प्लेटफर्म’मा बनाएको एमजी फोर अर्बानको लम्बाइ ४३९५ एमएम, चौडाइ १८४२ एमएम र उचाइ १५५१ एमएम छ । साइजको आधारमा निकै ठूलो ह्याचब्याक कारमा ह्वीलबेस पनि निकै लामो २७५० एमएम छ । त्यसैले यो निकै प्रिमियम हयाचब्याक कारको रूपमा बजारमा आउने छ । एमजी फोर अर्बान ईभीमा ४२.८ र ५३.९ किलोवाट अवारको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले क्रमशः ३३७ किलोमिटर र ४३० किलोमिटरको रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । नयाँ ह्याचब्याक कारको क्याबिनमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र ड्यासबोर्डमा ठूलो १५.६ इन्चको इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । ओप्पोले बनाएको ‘एक्स स्मार्ट कनेक्टिभिटी’ उपलब्ध कारमा क्वालकमको स्न्याप ड्रागन ८१५५ चीप प्रयोग भएको छ । सुरक्षाको हिसाबले पनि एमजी फोरमा १२ अल्ट्रासोनिक राडार, चारवटा सराउण्ड भ्यू क्यामरा र ८ मेगापिक्सेलको फ्रन्ट र रियर क्यामेरा दिइएको छ । ड्राइभर असिस्ट सिस्टम (एडास) लेभल टु उपलब्ध कारमा लेन किपिङ असिस्ट, लेन क्रस असिस्ट र इन्टेलिजेन्ट पार्किङ सिस्टम जस्ता फिचर छन् । सेमी सोलिड स्टेट ब्याट्री भएको मोडलमा के छ ? सेमी सोलिड स्टेट ब्याट्री भने ७० किलोवाट आवरको प्रयोग भएको छ । उक्त ब्याट्री भएको मोडलको मूल्य चीनमै १४ हजार अमेरिकी डलर तोकिएको छ । यसको सिंगल चार्जमा रेन्ज ५३० किलोमिटर हाराहारी रहने छ । ब्याट्री बाहेक अन्य फिचरहरू एलएफपी ब्याट्री भएकै भेरियन्टमा जस्तै पाउन सकिने छ । सेमी सोलिड स्टेट ब्याट्री भएको मोडल नआएपनि प्रिमियम ह्याच सेग्मेन्टमा यसले नयाँ बेन्चमार्क भने बनाउन सक्ने देखिन्छ । The post ‘एमजी फोर अर्बान’ले परिवर्तन गर्ला नेपालको ह्याचब्याक मार्केट ? appeared first on Meroauto.