Redirecting...

कोशी प्रदेश सरकार ९ वर्षमा प्रवेश : देखिने र अनुभूति गर्न सकिने सरकार बनाउने मुख्यमन्त्री कार्कीकाे प्रतिबद्धता - janatatimes.com

कोशी प्रदेश सरकार ९ वर्षमा प्रवेश : देखिने र अनुभूति गर्न सकिने सरकार बनाउने मुख्यमन्त्री कार्कीकाे प्रतिबद्धता - janatatimes.com
Source: jant

विराटनगर, फागुन ३ । कोशी प्रदेश सरकार स्थापना भएको आठ वर्ष पूरा भई नवौँ वर्षमा प्रवेश गरेको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशवासी तथा स्वदेश–विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री कार्कीले आइतबार जारी गर्नुभएको शुभकामना सन्देशमा नेपालको संविधान २०७२ घोषणापछि २०७४ साल मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचन र त्यसपछिको फागुन ३ गते गठन भएको प्रदेश सरकार आज नवौँ वर्षमा प्रवेश गरेको उल्लेख गर्नुभएको छ। उहाँले नेपाली जनताको सात दशक लामो संघर्ष तथा ऐतिहासिक जनआन्दोलन ६२/६३ को जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानअनुसार प्रदेश सरकार सञ्चालनमा आएको स्मरण गराउँदै संघीयता कार्यान्वयनको यात्रामा प्रदेश सरकारले उल्लेख्य उपलब्धि हासिल गरेको दाबी गर्नुभएको छ। ‘भौतिक पूर्वाधार निर्माणदेखि सामाजिक विकास र नागरिकको जीवनस्तर उकास्न प्रदेश सरकारले महत्वपूर्ण प्रगति गरेको छ,’ सन्देशमा भनिएको छ, ‘प्रदेश सरकारले गरेका कामलाई नजरअन्दाज गर्दै प्रदेश संरचनामाथि प्रहार गर्ने प्रवृत्ति पनि देखिएको छ।’ मुख्यमन्त्री कार्कीले यस्तो परिवेशमा प्रदेश सरकारलाई पारदर्शी, जवाफदेही, जनमुखी, सुशासनयुक्त र नागरिकमैत्री बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले प्रदेश सरकारको अनुभव अझै सीमित रहेको स्वीकार गर्दै कतिपय आवश्यक कानुन निर्माण हुन नसकेको तथा संघीय सरकारले निर्माण गर्नुपर्ने अत्यावश्यक कानुनमा ढिलाइ हुँदा प्रदेशको कार्यसम्पादनमा असहजता आएको उल्लेख गर्नुभयो। उहाँले संविधानले निर्दिष्ट गरेको सहकार्य, समन्वय र सहअस्तित्वको मर्मलाई आत्मसात् गर्न सके संघीयतालाई अझ बलियो बनाउन सकिने धारणा राख्नुभयो। प्रदेशले केही गर्न सक्दैन भन्ने नकारात्मक प्रचारलाई चिर्दै कोशी प्रदेश सरकारले झन्डै दुई खर्ब रुपैयाँ लगानी भित्र्याउने लक्ष्यसहित लगानी सम्मेलन आयोजना गरेको उदाहरण प्रस्तुत गर्दै मुख्यमन्त्री कार्कीले पर्यटन प्रवर्द्धनका लागि पर्यटन वर्ष घोषणा, पदमार्ग निर्माण, सडक सञ्जाल विस्तार तथा पुल निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। कोरोना महामारीको समयमा प्रदेश सरकारले प्रभावकारी र जनताले प्रत्यक्ष अनुभूति गर्ने काम गरेको दाबी पनि उहाँले गर्नुभयो। ‘प्रदेश सरकार आफ्नो क्षेत्राधिकारभित्र रहेर आफ्नो अस्तित्वलाई प्रभावकारी रूपमा स्थापित गर्दै अघि बढिरहेको छ,’ सन्देशमा उल्लेख छ। प्रदेश सरकार स्थापना दिवसको अवसरमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारलाई ‘देखिने, सुनिने र अनुभव गर्न सकिने सरकार’का रूपमा विकास गर्दै जनताको सरकारका रूपमा स्थापित गर्ने प्रतिबद्धता दोहोर्‍याउनुभएको छ।