नुवाकोटमा ‘स्वास्थ्यका लागि खेलकुद’ विषयक तालिम सम्पन्न - ehimalayatimes.com
काठमाडौं । नुवाकोटको विदुर नगरपालिकामा ‘स्वास्थ्यका लागि खेलकुद’ विषयक तालिम कार्यक्रम आयोजना गरिएको छ । नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सहयोग तथा पाथ संस्थासँगको समन्वयमा उक्त कार्यशाला तालिम सञ्चालन गरेको हो । तालिम कार्यक्रम विदुर नगरपालिकामा र लिखु गाउँपालिकामा भएको थियो । कार्यक्रमको मुख्य उद्देश्य शिक्षक तथा विद्यालय नर्सहरूको क्षमता अभिवृद्धि गर्दै खेलकुदका माध्यमबाट गैर-संक्रामक रोगको रोकथाम तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्दराज वैद्य तथा सचिवद्वय रामकृष्ण श्रेष्ठ र रमेश शिवाकोटी स्रोत व्यक्तिका रूपमा सहभागी हुनुहुन्थ्यो । उहाँहरूले समुदायमा खेलकुदलाई आधार बनाएर स्वास्थ्यसम्बन्धी कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयन गर्न सकिनेमा जोड दिनुभएको थियो । नेपाल ओलम्पिक कमिटीले ‘स्वास्थ्यका लागि खेलकुद’ कार्यक्रम आगामी दिनमा अन्य जिल्लाहरूमा पनि विस्तार गर्ने योजना बनाएको छ । सो कार्यक्रमअन्तर्गत स्थानीय तह तथा विद्यालयका स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै खेलकुदमार्फत् स्वास्थ्य सचेतना बढाउने उद्देश्यका साथ तालिम प्रदान गरिने जनाइएको छ ।