एक्लिँदै केपी ओली : झापा विद्रोहदेखि १०औँ महाधिवेशनसम्मका यी सारथिले छाडे साथ - www.sutranews.com
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशन काठमाडौंमा चलिरहेको छ । गत शनिबारबाट सुरु महाधिवेशनमा मंगलबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै छ । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने भएको छ । उनीहरु प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । ओलीका निकै विश्वासिलो र भरपर्दो सारथिका रुपमा रहेका पोखरेल ११औँ महाधिवेशनमा आइपुग्दा उनै ओलीसँग प्रतिस्पर्धा गरिरहेका छन् । झापा विद्रोहदेखि १०औँ महाधिवेशनसम्मका सहयोगी नेताहरुले ११औँ महाधिवेशनमा आइपुग्दा ओलीको साथमा देखिएनन् । झापा विद्रोहपछि सँगै जेलमा १२ जर्ष बिताएका सहयोद्धा राधाकृष्ण मैनाली (आरके मैनाली) अहिले ओलीको साथमा छैनन् । आरकेसँगै सीपी मैनाली पनि ओलीको साथमा छैनन् । दुवै मैनाली एमालेमै छैनन् । यसपछि एमालेमा रगत र पसिना बगाएका माधव नेपाल, वामदेव गौतम, झलनाथ खनालहरु पनि अहिले एमालेमा छैनन् । उनीहरुलाई एमालेबाट हटाउँदा ओलीले विद्या भण्डारी, ईश्वर पोखरेललगायतको साथ लिएका थिए । तर, तिनै विद्या र ईश्वर पनि ओलीको साथमा छैनन् । तत्कालीन प्रधानमन्त्री ओलीले सरकार चलाउँदा ओलीकै चाहनाअनुसार तत्कालीन राष्ट्रपति विद्या भण्डारीले निर्णय गरेको आरोप लाग्दै आएको छ । एमालेको ओली गुटलाई समर्थन र साथ दिएको आरोप खेपेकी भण्डारी अहिले ओलीसँगै पार्टी सदस्यताका लागि लडिरहेकी छन् । यस्तै ९औँ र १०औँ महाधिवेशनमा ओलीको बलियो खम्बा बनेर उभिएका ईश्वर पोखरेल अहिले ११औँ महाधिवेशनमा अध्यक्षका लागि ओलीसँगै प्रतिस्पर्धा गरिरहेका छन् । ९औँ महाधिवेशनमा ओलीतर्फबाट महासचिवका उम्मेदवार बनेका ईश्वर पोखरेलले माधव नेपालतर्फबाट महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई ४ मतले पराजित गरेका थिए । ११औँ महाधिवेशनमा ओलीको साथमा नरहेका पोखरेल समूहको महासचिव उम्मेदवार बनेका छन् उनै पाण्डे । साथै, जारी ११औँ महाधिवेशनमा महासचिवको आकांक्षी प्रदीप ज्ञवाली ओलीप्रति असन्तुष्ट छन् । उपाध्यक्षको उम्मेदवार अस्वीकार गर्दै महाधिवेशनस्थलबाट बाहिरिएका ज्ञवाली अन्तिम चरणमा आएर केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । तर, उनले ओलीलाई भोट मागे पनि उनीप्रति चिक्त दुखाएको देखिन्छ । ओलीका हरेक त्रियाकलापको समर्थन गर्दै विपक्षीसँग खरो बहसमा उत्रिएका गोकुल बाँस्कोटा, रघुजी पन्त र कृष्णगोपाल श्रेष्ठ पनि ११औँ महाधिवेशनमा आइपुग्दा ओलीको साथमा छैनन् र उनीहरु ओली समूहसँग प्रतिस्पर्धामा उत्रिएका छन् । यसैगरी भीम आचार्य, राजेन्द्र गौतम, अग्नि खरेल, आनन्द पोखरेल, लालबाबु पण्डित, काशीनाथ अधिकारी, शेरबहादुर तामाङलगायत दर्जनौँ नेताहरु ११औँ महाधिवेशनमा आइपुग्दा ओली क्याम्प छाड्न बाध्य भएका छन् । उनीहरुमध्ये धेरैले पोखरेल समूहबाट उम्मेदवारी दिएका छन् ।