जयपुरमा ‘जेरी अन टप’ - ehimalayatimes.com
काठमाडौं । तिहारको अवसरमा आगामी असोज ३१ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जेरी अन टप’ निर्माण टिम गीत छायांकनको लागि भारतको जयपुर पुगेको छ । निर्माता, निर्देशक र कलाकारसहितको टिम यतिबेला राजस्थानमा गीत फिल्मिङ्गमा व्यस्त छ । निर्माता सरोज न्यौपाने, निर्देशक सुयोग गुरुङ, अभिनेता अनमोल केसी, अभिनेत्री आँचल शर्मासहितको टिम भारत पुगेको हो । कथाको माग अनुसार आवश्यक दृश्य छायांकनका लागि जयपुर पुगेको निर्माता न्यौपानेले बताउनुभयो । प्राप्त तस्वीरमा अनमोल र आँचल रोमान्टिक अवतारमा देखिनुहुन्छ । एक गीतको छायांकन सकेर शनिबार नेपाल फर्किनेछ । अनन्या फिल्मस् प्रालिको ब्यानरमा तयार यो चलचित्रको केही हप्ता पहिले पोस्टर सार्वजनिकसँगै निर्माण टिम प्रचारमा जुटिसकेको छ । असोज ३१ मा ‘जेरी अन टप’ सोलो रिलिज हुनेछ । चलचित्रमा अनमोल र आँचलसँगै जसिता गुरुङ, चर्चित हाँस्य अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’, अभिनेता भुवन केसी, अभिनेत्री सुरक्षा पन्त र उषा खड्की प्रमुख अभिनयमा हुनुहुन्छ । चलचित्र निर्माणमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले न्यौपानेसँग लगानिमा साझेदारी गर्नुभएको छ । यो चलचित्रको कथा हेमराज बिसीको हो । कार्यकारी निर्मातामा अनुराधा गिरी र ईश्वर श्रेष्ठ रहँदा एसोसिएट निर्मातामा नवीन घिमिरे, विवेक थापा र भविष्य खड्का हुनुहुन्छ । ‘जेरी अन टप’मा कालीप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । विश्वास तिम्सिनाको पटकथा रहँदा दुलिप रेग्मीको छायांकन छ । हङ्कङको एलजी एसोसिएट्सले यो चलचित्रको (अष्ट्रेलियाबाहेक) अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको छ भने नेपालमा रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार लिएका छन् ।