बहुविवाह गर्न पाउने कानुन बनाउँदै सरकार, यस्तो छ तयारी - www.sutranews.com
काठमाडौं । २०७५ भदौ १ गतेबाट लागु भएको मुलुकी अपराधसंहिताको दफा १७५ ले बहुविवाह गर्न बन्देज लगाएको छ । दफा १७५ को उपदफा १ मा उल्लेख गरिएको छ, ‘विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु हुँदैन ।’ पुरुषलाई मात्र होइन महिलालाई पनि बहुविवाह गर्न रोक लगाइएको छ । सोही दफाको उपदफा २ मा उल्लेख छ, ‘कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्नु हुँदैन ।’ यो कानुनको उल्लंघन गरेर बहुविवाह गरेमा १ वर्षदेखि ५ वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँ जरिवाना गर्दै दोस्रो विवाह स्वतः खारेज हुने व्यवस्था छ । मुलुकी अपराधसंहिताको दफा १७५ को उपदफा ४ मा उल्लेख गरिएको छ, ‘उपदफा १ वा २ बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई १ वर्षदेखि ५ वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’ बहुविवाह स्वतः खारेज हुने व्यवस्था गरेको सोही दफाको उपदफा ५ मा लेखिएको छ, ‘उपदफा १ बमोजिमको विवाह स्वतः बदर हुनेछ ।’ तर, यो व्यवस्थालाई संशोधन गरेर बहुविवाह गर्न पाउने कानुन बनाउन सरकारले तयारी थालेको छ । सरकारले बहुविवाहलाई पूर्ण निषेध गरेको विद्यमान व्यवस्थालाई निश्चित परिस्थितिमा छुट दिने गरी संशोधनको तयारी थालेको हाे । मुलुकी अपराधसंहिताको दफा १७५ लाई संशोधन गर्ने कानुन मन्त्रालयले विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध विस्तार गर्दा गर्भ रहे वा बच्चा जन्मिए दोस्रो विवाह कायम हुने गरी मस्यौदा बनाइसकेको छ । बहुविवाह गर्न नहुने मौजुदा व्यवस्थाले महिला पीडित हुन पुगेको दाबी गर्दै कानुन मन्त्रालयले यो व्यवस्थालाई उल्ट्याएर निश्चित अवस्थाको बहुविवाहलाई कानुन मान्यता दिने तयारी गरेको हो ।