रवि लामिछाने अस्पताल भर्ना, खुट्टामा चोट - www.pardafas.com
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपचारका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका छन्। उनको सचिवालयका अनुसार गत माघ ५ गते जनकपुरमा आयोजित एक सभाका क्रममा उनको देब्रे खुट्टामा सामान्य चोट लागेको थियो। उक्त चोट बढेर छालाको भित्री तहमा संक्रमण भएको उनको सचिवालयले जनाएको छ । अस्पतालका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनुपर्ने उनको सचिवालयले जनाएको छ । ‘चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र उहाँ पुन: नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने जानकारी गराइन्छ,’ सचिवालयले भनेको छ । साथै, अन्य बिरामीहरूको उपचार प्रक्रियामा असर नपरोस् तथा अस्पताल प्रशासनलाई हुनसक्ने असहजतालाई मध्यनजर गर्दै भेटघाटका लागि अस्पताल नआइदिन पनि सचिवालयले आग्रह गरेको छ ।