कांग्रेस कालीकाेटबाट भूपेन्द्रजंग शाहीसहित तीन उम्मेदवार सिफारिस - ehimalayatimes.com
कालीकोट । नेपाली कांग्रेस कालीकोटले आगामी फागुन २१ गते हुँने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । शनिबार बसेको पार्टीको कार्यसम्पादन समिति बैठकले प्रतिनिधि सभातर्फ तीन जनाको नाम सिफारिस गरेको हो । सिफारिस गरिएकामध्ये पहिलो नम्बरमा युवा नेता भूपेन्द्रजंग शाही, दोस्रोमा पार्टी सभापति अम्बबहादुर शाही र महिलातर्फ सिता रावल रहेका छन् । युवा माझ निकै लाेकप्रिय भूपेन्द्रजंग शाही २०७० सालको दोस्रो संविधान सभा तथा ०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार भइसक्नु भएको नेता हाे । कालीकोटमा लोकप्रिय मानिने शाही ०७४ सालमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच बनेको वाम गठबन्धनका कारण पराजित हुनुभएको थियो । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनका कारण कालीकोट निर्वाचन क्षेत्र माओवादी केन्द्रको भागमा परेपछि उहाँ उम्मेदवार बन्न पाउनुभएन । शाहीको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघको विद्यालय इकाइ कार्यसमितिबाट सुरु भएको हाे । उहाँ नेविसंघ केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष हुँदै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको केन्द्रीय महासचिव समेत भइसक्नु भएको छ । यसैगरी, प्रतिनिधि सभा समानुपातिकतर्फ नेपाली कांग्रेस कर्णाली प्रदेश उपसभापति कालीबहादुर सहकारी, महाधिवेशन प्रतिनिधि सुशीला शाही बम र दलिततर्फ मानबहादुर नेपालीको नाम सिफारिस गरिएको छ । यस्तै राष्ट्रिय सभाका लागि युवा नेता टेकराज शाही र यसोधा शाहीको नाम पनि सिफारिस गरिएको कांग्रेस कालीकोटले जनाएको छ ।