शंकर पोखरेलको निष्कर्ष : नेकपा एस अब रहन्न, माओवादीमा बिलय गर्ने वार्ता र पार्टी फुटाउनु गलत भन्ने स्वीकारोक्ति विघटनको सङ्केत - janatatimes.com
काठमाडौं, साउन १६ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विभाजनकारीका कारण जनताको रोजाइको पहिलो पार्टी हुँदाहुँदै पनि नेकपा एमाले परिणामको हिसाबले दोस्रो पार्टी बन्नु पुगेको बताउनु भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आज एमाले विभाजन गर्ने नेताहरू पश्चात्तापमा छटपटाइरहेका बताउनुभयो । ‘जुन नेताहरूले हिजो नेकपा एमाले विभाजन गरेर नेकपा एमालेको विकल्प पार्टी बनाउँछौँ भन्ने ठान्नुभएको थियो, आज एक प्रकारको निराशा र हतासा पनि देखिन्छ, केही नेताहरूले पार्टी फुटाउनु गलत थियो भनेर पनि अभिव्यक्ति दिनुभएको छ, कतिपय नेताहरूले अब पार्टी चलाउन सकिँदैन माओवादीसँग एकता गर्नुपर्छ भन्ने प्रस्ताव गर्नुभएको छ’, उहाँले भन्नुभयो । पार्टी फुटाउन कार्यकर्तालाई उत्तेजित पार्नेहरू आफ्नो अभियानमा असफल भएका पोखरेलले बताउनुभयो । ‘त्यस कारण असफल नेतृत्वका पछाडि लागि रहनु उचित हुँदैन, कार्यकर्ताहरू अब आफ्नै घर फर्कनु पर्दछ’, उहाँले भन्नुभयो । उहाँले एकीकृत समाजवादीमा लागेका नेता कार्यकर्ताहरूलाई अब आफ्नै घर फर्कन आग्रह गर्नुभयो । नेताहरू हताश भएर हिँडेका बेलो कार्यकर्ताहरू सही बाटोमा हिँड्नु पर्नेमा पोखरेलले जोड दिनुभयो ।