Redirecting...

विकास र पूर्वाधारसँगै बेनी बजारको रौनक फेरिँदै - ehimalayatimes.com

विकास र पूर्वाधारसँगै बेनी बजारको रौनक फेरिँदै - ehimalayatimes.com
Source: hmlt

म्याग्दी । उत्तरबाट दक्षिणतर्फ बगेको कालीगण्डकी नदी र पश्चिमबाट पूर्वतर्फ बग्दै आएको म्याग्दी नदीको संगम स्थलमा अवस्थित म्याग्दीको सदरमुकाम बेनी बजारमा विकास र पूर्वाधारहरु थपिदै गएपछि बजारको रौनक फेरिँदै गएको छ । सडक पूर्वाधारको सुधार, व्यापारिक गतिविधिको विस्तार र बढ्दो पर्यटकीय चहलपहलले केही वर्षअघिसम्म सीमित देखिने बजारको स्वरूप फेरिँदै गएको हो । बेनी–जोमसोम, बेनी–दरबाङ र बेनी–बागलुङ सडकखण्डको स्तरोन्नति तथा नियमित यातायात सञ्चालनपछि बजारमा आवतजावत सहज बनेको छ । यसले ग्रामीण क्षेत्रका सेवाग्राहीको संख्या बढाउनुका साथै व्यापार व्यवसायलाई पनि गति दिएको छ । दैनिक उपभोग्य वस्तु, कृषि उपज तथा निर्माण सामग्रीको कारोबारमा उल्लेख्य वृद्धि भएको व्यवसायीहरू बताउँछन् । बेनी नगरपालिका प्रमुख सुरत केसीका अनुसार बजारको समग्र व्यवस्थापन र पूर्वाधार निर्माणका साथै नगरपालिकाका १० वटै वडाहरुमा पुग्नेगरी व्यवस्थित सडक स्तरोन्नतिको काम भइरहेको छ । त्यसैगरी धार्मिक तथा पर्यटकीय स्थलहरुको विकास र व्यवस्थापनका लागि पनि नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको छ । “सडक, सडकबत्ती, सरसफाइ र बजार व्यवस्थापनमा नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको छ,” उहाँले भन्नुभयो “यसको प्रतिफल स्वरूप बेनी बजारको स्वरूप र चहलपहल दुवैमा सुधार देखिएको छ।” बजार क्षेत्रमा पछिल्लो समय नयाँ होटल, लज, रेष्टुरेन्ट, क्याफे, कपडा तथा इलेक्ट्रोनिक सामग्रीका पसल खुल्ने क्रम बढेको छ । निजी क्षेत्रको लगानीसँगै स्थानीय युवाहरू स्वरोजगारतर्फ आकर्षित हुन थालेका छन् । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले सडकको पहुँच र पर्यटकको आगमन बढ्दै जान थालेको बताउनुभयो । उहाँले भन्नुभयो “विशेषगरी होटल, खाद्यान्न र खुद्रा व्यवसायमा चहलपहल बढेको छ ।”अन्नपूर्ण र धौलागिरि हिमश्रृंखलातर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकको मुख्य प्रवेशद्वारका रूपमा रहेको बेनीमा पर्यटकको संख्या बढ्दो क्रममा छ । तातोपानी कुण्ड, घोरेपानी–पुनहिल, मुदी र धौलागिरि आधार शिविर जाने पर्यटकहरू बेनीमै बसाइँ गर्ने गरेका छन् । नगरपालिकाले बजार क्षेक्रमा सडकबत्ती जडान, कालीगण्डकी नदी किनारबाट चत्रपथ निर्माण र नियमित सरसफाइ अभियान सञ्चालन गरेपछि रात्रीकालीन समयमा समेत बजार सुरक्षित र आकर्षक देखिन थालेको स्थानीयवासीको भनाइ छ । ट्राफिक व्यवस्थापन, पार्किङको अभाव र फोहर व्यवस्थापन चुनौतीका रूपमा देखिन थालेका बजारबासीले बताएका छन् । नगरपालिकाले दीर्घकालीन योजनासहित व्यवस्थित बजार विकासमा जोड दिनुपर्ने स्थानीयको भनाइ रहेको छ । समग्रमा, पूर्वाधार, पर्यटन र निजी क्षेक्रको सत्रियताले बेनी बजार नयाँ गतिमा अघि बढिरहेको छ । स्थानीय सरकार, व्यवसायी र नागरिकबीचको सहकार्य निरन्तर रहन सके बेनी बजारलाई दिगो र समृद्ध आर्थिक केन्द्रका रूपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ ।