अष्टलक्ष्मी शाक्यले भनिन्- म चुनाव लड्दिनँ, पार्टी बलियो बनाउने काम जारी रहन्छ - www.onlinepana.com
काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीभित्र चुनाव नलड्ने घोषणा गरेकी छन्। आइतबार भृकुटीमण्डपमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले आफूलाई भोट नहाल्न आग्रहसमेत गरिन्। उनले भनिन्, “म अब चुनाव उठ्दिनँ, मलाई भोट हाल्नु पर्दैन। तर मैले जे गर्दा पार्टी बलियो बन्छ, त्यही गर्ने प्रयत्न भने निरन्तर रहन्छ।” शाक्यले पार्टी विधि र विधानअनुसार चल्नुपर्नेमा जोड दिँदै नेताहरूले फराकिलो सोच राख्नुपर्ने बताइन्। “विधि र विधानसम्मत रूपमा अघि बढौँ, नेताहरूले फराकिलो मन बनाऊन्, पार्टीलाई नीतिगत रूपमा सबल बनाऔँ। मुख्य कुरा विधि हो,” उनले भनिन्। आफू र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच पहिले भएको कुराकानी स्मरण गर्दै उनले ७० वर्षपछि सक्रिय जिम्मेवारी नलिने कुरा उठाएको उल्लेख गरिन्। “मैले ७० पुगेपछि काम गर्दिनँ भनेको थिएँ, उहाँले सँगै बिदा लिऔँला भन्नुभएको थियो,” शाक्यले भनिन्। The post अष्टलक्ष्मी शाक्यले भनिन्- म चुनाव लड्दिनँ, पार्टी बलियो बनाउने काम जारी रहन्छ appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).