Redirecting...

महाधिवेशन : तीन नेताले अडान नछाड्दा ओलीलाई महासचिवको टुंगो लगाउन सकस - bishwokhabar.com

महाधिवेशन : तीन नेताले अडान नछाड्दा ओलीलाई महासचिवको टुंगो लगाउन सकस - bishwokhabar.com
Source: bsbk

काठमाडौं– एमालेको ११औँ महाधिवेशन उद्घाटन सत्र सकिएलगत्तै शनिबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओलीले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वीसुव्वा गुरुङलाई आफ्नो निवासमा बोलाए । ओलीले बोलाएका नेतत्रय ११ औँ महाधिवेशनमा महासचिवको उम्मेदवारका आकांक्षी हुन् । तीनै जनाले महासचिव दाबी गरेपछि अध्यक्ष ओलीले सहमति जुटाउन तीन नेतालाई बोलाएर छलफल गरेका हुन् । तर उक्त छलफलमा नेताहरूले अडान नछाड्दा सहमति जुट्न नसकेको स्रोतको दाबी छ । स्रोतका अनुसार गुण्डुमा करिब ४ घण्टा भएको छलफलमा महासचिव शंकर पोखरेलले आफू महासचिवको उम्मेदवार बन्नबाट पछि नहट्ने अडान राखेका थिए । जवाफमा पृथ्वी सुब्बा गुरुङले पोखरेल महासचिव भएर एक कार्यकाल बिताएकाले महासचिव पद आफूलाई छाड्नुपर्ने आशय व्यक्त गरेका थिए । उता प्रदीप ज्ञवाली दुवै जना अन्य पदमा प्रतिस्पर्धा गरेर आफूलाई महासचिव बनाउन प्रस्ताव गरेका थिए । ओलीले महासचिव टुङ्ग्याएपछि मात्र अरू पद मिलाउन सकिने बताएका थिए । उनले उपाध्यक्षमा रामबहादुर थापा बादल, विष्णु पौडेल र गुरु बराललाई नै अघि सार्ने संकेत गरेका छन् । त्यस्तै उपमहासचिवमा पनि ओलीको चाहना पृथ्वी सुब्बा, प्रदीप ज्ञवाली र विष्णु रिमाललाई नै दोहोर्‍याउने ओलीको तयारी छ । सचिवमा भने ४ जना नयाँ अनुहार र तीनजना पुरानैलाई स्थान दिने ओलीको तयारी रहेको बुझिएको छ । उता ईश्वर पोखरेल समूहमा लागेका नेताहरू छुट्टै प्यानल बनाएर चुनाव लड्ने तयारी गरेपछि ओलीले आफ्नो समूहका नेताहरूको व्यवस्थापनका लागि यस्तो तयारी गरेका हुन् । यद्यपि ईश्वर समूहले पनि आफ्नो पक्षका क–कसलाई पदाधिकारीमा अघि सार्ने भन्ने यकिन गर्न सकेको छैन । पोखरेल समूहले ओली समूहको प्यानल हेरेर मात्र आफ्नो प्यानल बनाउने रणनीति बनाएको छ । त्यसो गर्दा ओलीसँग असन्तुष्टलाई तान्न सकिने सो समूहको बुझाई छ । ओलीलाई आफ्नै समूहका नेताहरूको व्यवस्थापन गर्न र चित्त बुझाउन कठिन भएपछि आज बिहान साढे सात बजेबाट सुरु हुने भनिएको बन्दसत्र नै प्रभावित बनेको छ । बन्दसत्र अघि अध्यक्ष ओलीले भृकुटी मण्डपमा केन्द्रीय कमिटी बैठक बोलाएका छन् । ९ बजे बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले विधान संशोधनको प्रस्ताव लैजान सक्ने एक नेताले बताए ।