भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती - kendrabindu.com
नारायणगढ। भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले सूर्यमुखीखेती लगाएका हुन् । अधिकारीका अनुसार दुई वर्षअघि पनि सोही बाली लगाउँदा दाना तथा तेलको उच्च माग देखिएको र बाली चक्र प्रणालीअनुसार सूर्यमुखी उपयुक्त ठहरेकाले यस वर्ष फेरि सूर्यमुखी लगाइएको हो । उनले भने , “पाँच दिनसम्म दैनिक १० जनाको श्रम प्रयोग गरी रोपाइँ सम्पन्न गरिएको छ, यस वर्ष करिब ३० क्विन्टल उत्पादन हुने अनुमान छ ।” उनले अघिल्लो पटक सूर्यमुखीको तेल लिटरमा रु ८०० र दाना प्रतिकिलो रु ५०० मा बिक्री भएको जानकारी दिए । यसपटक अधिकारीले एकल रूपमा खेती गरेका हुन् । दुई वर्षअघि भने चार जनाको समूह बनाएर सोही स्थानमा प्राङ्गारिक सूर्यमुखीखेती गरिएको थियो । त्यो समयमा फूल फुल्दा खेत क्षेत्र आकर्षक बनेको र दैनिक रूपमा फोटो खिच्न, भिडियो बनाउन तथा घुम्न आउनेको सङ्ख्या उल्लेख्य रहेको उनले जानकारी दिए । बाली राम्रो भएकाले ढकमक फूलले स्थानीय स्तरमा पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने अधिकारीको दाबी छ । फूल फुलेपछि क्षेत्र मौरी चरनका लागि पनि उपयुक्त मानिन्छ । लामो समयदेखि प्राङ्गारिक खेतीमा संलग्न अधिकारीले यस क्षेत्रमा विविध बाली लगाउँदै आएका छन् । सूर्यमुखी खेतीलाई बाह्य प्रभावबाट जोगाउन खेतको छेउ–छेउमा राज्मा रोपेर ‘बफर जोन’ तयार गरिएको उनले बताए । उनले भने, “श्रीपुर गाजर उत्पादनका लागि पनि परिचित क्षेत्र हो, मैले प्राङ्गारिक रूपमा गाजर पनि लगाएको छु । उनको अगुवाइमा यहाँका साथै जिल्लाका प्राङ्गारिक समूहहरूले अन्य विभिन्न बाली लगाउँदै आएका छन् । करिब चार दशकदेखि प्राङ्गारिक खेतीमा संलग्न अधिकारीले धेरै कृषकलाई जैविक खेतीतर्फ आकर्षित गर्दै आएका छन् ।