Redirecting...

उमाकुण्डमा गाउँपालिका स्तरीय विज्ञान–गणित प्रदर्शनी सम्पन्न, शैक्षिक उत्सवको माहौल - janatatimes.com

उमाकुण्डमा गाउँपालिका स्तरीय विज्ञान–गणित प्रदर्शनी सम्पन्न, शैक्षिक उत्सवको माहौल - janatatimes.com
Source: jant

रामेछाप, फागुन २। उमाकुण्ड गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय माध्यमिक तह विज्ञान तथा गणित प्रदर्शनी कार्यक्रम भव्य तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थीहरूमा सृजनशीलता विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रमले समग्र गाउँपालिकालाई नै शैक्षिक उत्सवको माहौलमा डुबाएको थियो। कार्यक्रमका सभाध्यक्षका रूपमा सिद्धेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल प्रसाद त्रिपाठी रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारको उपस्थिति रहेको थियो। कार्यक्रममा वडा नं. १, २ र ३ का वडा अध्यक्षहरू, सिद्देश्वर शिक्षा पब्लिक क्याम्पसका प्रमुख जगदीश बस्नेत, गाउँपालिकाभित्रका सातै वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समिति पदाधिकारीहरू, हिमगंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक हेम बहादुर बस्नेत, वडा सदस्यहरू, फिडर विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक–कर्मचारीहरू तथा कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि सुनुवारले जगबाट माटोको भाँडामा पानी हालेर बत्ती बाल्दै औपचारिक रूपमा शुभारम्भ गर्नुभएको थियो। गाउँपालिकाभित्रका सातै वटा माध्यमिक विद्यालयबीच विज्ञान र गणित विषयमा प्रतिस्पर्धा गरिएको उक्त कार्यक्रममा दुवै विषयमा १००/१०० पूर्णाङ्क गरी जम्मा २०० पूर्णाङ्कका आधारमा मूल्याङ्कन गरिएको थियो। प्रत्येक विद्यालयबाट ६ जना विद्यार्थी र २ जना शिक्षक सहभागी भएका थिए। मूल्याङ्कन कार्य छिमेकी गाउँपालिकाका शिक्षकहरूले निष्पक्ष रूपमा गर्नुभएको जनाइएको छ। प्रदर्शनीको अवसरमा सिद्धेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरूले केमेस्ट्री, मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, ब्रिज निर्माण तथा स्क्र्याच प्रोग्रामिङ जस्ता विषयमा आकर्षक कार्यशाला सञ्चालन गर्नुभएको थियो। शेर्पा स्कुलले समेत प्रदर्शनीमा सहभागिता जनाएको थियो। प्रतियोगिताको नतिजाअनुसार श्री चण्डेश्वरी माध्यमिक विद्यालय प्रथम, सिद्धेश्वर माध्यमिक विद्यालय द्वितीय, श्री जनता माध्यमिक विद्यालय तृतीय तथा श्री कैलेश्वर माध्यमिक विद्यालय सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए। विजयी विद्यालयहरूलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रमुख अतिथि लगायत अतिथिहरूबाट प्रदान गरिएको थियो। सहभागी सबै विद्यालयलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा सहभागी विद्यालयहरूको आवत–जावत यातायात खर्च, खाना तथा खाजाको व्यवस्थासमेत गाउँपालिकाले गरेको थियो। तयारी खर्चस्वरूप प्रत्येक माध्यमिक विद्यालयलाई १० हजार रुपैयाँ उपलब्ध गराइएको जनाइएको छ। अवलोकनका निम्ति उपस्थित फिडर विद्यालयका विद्यार्थी तथा शिक्षकहरूलाई समेत खाजाको व्यवस्था गरिएको थियो। आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत २ लाख ५० हजार रुपैयाँ बजेटमा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रमको अन्त्यमा बोल्दै प्रमुख अतिथि सुनुवारले गाउँपालिकाले शिक्षा क्षेत्रमा निरन्तर लगानी र सुधारका प्रयास गरिरहेको उल्लेख गर्नुभयो। विद्यालयको भौतिक संरचना सुधार, शिक्षक क्षमता अभिवृद्धि तालिम, प्रविधि–मैत्री कक्षा सञ्चालन तथा अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ थियो। विज्ञान तथा गणित प्रदर्शनीजस्ता कार्यक्रमले विद्यार्थीहरूमा तार्किक सोच, सृजनशीलता र आत्मविश्वास विकास गर्ने भएकाले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। परम्परागत घोकन्ते शिक्षण प्रणालीभन्दा प्रयोगात्मक, अनुसन्धानमुखी तथा सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै स्थानीय तह, विद्यालय र अभिभावकबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिएको छ। विज्ञान र गणितलाई व्यवहारिक अभ्याससँग जोडेर सिकाउँदा मात्र दीर्घकालीन रूपमा दक्ष जनशक्ति उत्पादन गर्न सकिने विश्वास व्यक्त गरिएको छ। ग्रामीण क्षेत्रका विद्यार्थीलाई अवसर र प्रेरणा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको विज्ञान तथा गणित प्रदर्शनी कार्यक्रमले विद्यार्थीहरूमा सृजनशीलता, अनुसन्धानात्मक सोच र व्यवहारिक ज्ञान विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।