Redirecting...

उत्तराखण्ड बाढीमा १७ जना बढी नेपाली सम्पर्कविहीन, प्रधानमन्त्रीले भने- कुटनीतिक छलफल भएकाे छ - kendrabindu.com

उत्तराखण्ड बाढीमा १७ जना बढी नेपाली सम्पर्कविहीन, प्रधानमन्त्रीले भने- कुटनीतिक छलफल भएकाे छ - kendrabindu.com
Source: kend

काठमाडौं । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीस्थित हर्षिल नजिकै धारली गाउँमा केही दिनअघि आएको बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि सम्पर्कविहीन भएका छन्। जाजरकोटको कुशे गाउँपालिकाका मात्रै १३ जना सम्पर्कविहीन भएको विज्ञप्तिमार्फत जनाइएको छ । ‘गत साउन २० गते तदअनुरूप (५ अगष्ट २०२५) मा भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा वर्षापछि आएको भीषण बाढी तथा पहिरोको कारण कुशे गाउँपालिका वडा नम्बर २ का करिब १३ जना भन्दा बढी र अन्य वडाका केही व्यक्तिहरू पनि सम्पर्कमा नरहेकोले हराएको हुन सक्ने आशंका सामाजिक सन्जाल मार्फत जानकारी प्राप्त भएकाले हराएकाहरूको खोजी तथा उद्धार कार्यलाई द्रुत र प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक पहल गरिदिनको लागि प्रदेश तथा संघिय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ गाउँपालिकाले विज्ञप्तिमार्फत् भनेको छ। अन्य जिल्लाका पनि नेपाली हुन सक्नेछन् । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीमा परेका नेपाली नागरिकहरूको उद्दारको लागि दूतावासमार्फत तत्काल कुटनीतिक छलफल भएकाे जानकारी दिएका छन् । उनले सामाजिक सञ्जलमार्फत भनेका छन्, ‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु। बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ। उनीहरूको उद्दारको लागि दूतावास मार्फत तत्काल कुटनीतिक छलफल भएको थियो। बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछु।’ खिरगंगा नदीमा मंगलबार दिउँसो १ः४५ बजेतिर आएको बाढीले धराली बजारका दर्जनौं घर र होटल, सैनिक क्याम्प बगाएको थियाे । बाढीमा परी ५० जना बढी बेपत्ता रहेका छन् । तर यो संख्या अझै बढ्न सक्ने बताइएको छ । सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा शहरको मध्य भागबाट बग्ने नदीमा अचानक ठूलो बाढी आएको र नदी किनारका घर र पसलहरु बगाएको देखिन्छ । ऋषिकेश–गंगोत्री मार्गमा पर्ने धराली बजार भागीरथी नदीको किनारमा छ भने बजारको मध्यभाग हुँदै खिरगंगा नदी बग्छ । खिरगंगा भागीरथीमै गएर मिसिन्छ । यो सानो नदीमै मंगलबार भीषण बाढी आएको हो । धरालीबाट गंगोत्री धाम करिब ५० किलोमिटर दूरीमा पर्छ । गंगोत्री यात्रामा नेपालीसमेत ठूलो संख्यामा जान्छन् । वैशाख–जेठदेखि असोज–कात्तिकसम्म गंगोत्री यात्रा चल्छ । धराली बजार भएरै गंगोत्री धाम जानुपर्छ । तर, एक्कासी बादल फाट्दा धराली बजारमा विपद् आइपरेको हो । धराली एउटा प्रमुख बिसौनी हो जहाँ हरेक वर्ष चारधाम यात्राको समयमा ठुलो सङ्ख्यामा भक्तजनहरू बस्छन्। धराली क्षेत्रमा रहेका फार्ममा स्याउ टिप्न पनि ठूलो संख्यामा नेपाली जाने गरेका छन् ।