काठमाडाैं -६ मा ‘जिउँदा सहिद’ हिमाल शर्मा चुनावी मैदानमा - kendrabindu.com
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता हिमाल शर्मा, जसलाई जिउँदा सहिदको संज्ञा दिइन्छ, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँ निर्वाचन क्षेत्र नं. ६ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनी युवा पुस्तामा शालिन,वैचारिक, वौद्धिक,बलियो नेतृत्व, संघर्ष र राजनीतिक प्रतिबद्धताको प्रतीकका रूपमा चिनिन्छन्। हिमाल शर्मा बागलुङ जिल्लाको जैमिनी नगरपालिका मा जन्मिएका हुन्। प्रारम्भिक जीवनदेखि नै सामाजिक न्याय, विद्यार्थी अधिकार र जनअधिकारमा उनको गहिरो चासो थियो। परिवारिक परिवेशले पनि उनको राजनीतिक चेतना र समाजसेवाको रुचिलाई बल पु-याएको थियो। हिमाल शर्माको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भएको हो। उनी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का पूर्व महासचिव र केन्द्रीय अध्यक्ष रहिसकेका छन्। विद्यार्थी जीवनमा उनले शिक्षाको व्यापारीकरण विरुद्ध सडक आन्दोलनको नेतृत्व गर्नुका साथै आम विद्यार्थीको हकहितको संरक्षणमा सक्रिय भूमिका निभाएका थिए । संगठनभित्र उनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने वातावरण तयार पार्न उमेर हद लागू गरे, जसले पार्टी र विद्यार्थी आन्दोलनमा युवा प्रतिनिधित्वलाई बलियो बनायो। विद्यार्थी आन्दोलनले उनलाई युवा नेतृत्व र रणनीतिक क्षमता विकास गर्न महत्वपूर्ण अनुभव दिलायो । शर्मा माओवादी जनयुद्धमा सक्रिय सहभागी भएर लागे । युद्ध कमाण्डर भएर देशका कुना कन्दरामा परिवर्तनको विगुल फूक्दै बारुद र छर्रा संग जीवनलाई साटेका उनी पार्टीको नीति अनुसार काठमाडौं उपत्यका लगायतका क्षेत्रमा संगठन विस्तार र युवा मोर्चा संचालनमा संलग्न भए। शर्मा तत्कालिन माओवादी पार्टीको युवा र विद्यार्थी मोर्चाको अग्रपंक्तिमा रहँदै अभियान सञ्चालनमा सक्रिय राजनीति गरे । २०६० साल कात्तिक ४ गते तत्कालीन संकटकालमा शर्मालाई काठमाडौँको असनबाट सुरक्षा निकायले पक्राउ गरेको थियो। उनी लगभग ५०० दिनसम्म भैरवनाथ गणमा हिरासतमा राखिए। जस अवधिमा राज्यवाट चरम शारीरिक र मानसिक यातना भोग्नुप-यो। यो घटनाले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय मानवअधिकार मञ्चमा पनि ध्यानाकर्षण गराएको थियो। २०६२ साल मंसिरमा सर्वोच्च अदालतले उनको हिरासत गैरकानुनी ठहर गर्दै रिहा गर्न आदेश दियो। हिमाल शर्मा शान्ति प्रक्रियापछि मात्र सार्वजनिक जीवनमा फर्किए । शान्ति प्रक्रियापछि शर्मा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्य बने। उनले पार्टी भित्र एमसीसी, पार्टी एकता, सुशासन र युवा नेतृत्वका मुद्दामा सक्रिय भूमिका निभाए। शर्माले विभिन्न निर्वाचनहरूमा पार्टी प्रतिनिधित्व र चुनावी कमाण्डरको रूपमा पनि काम गरिसकेका छन्। काठमाडौँको राजनीति क्षेत्रमा लामो समयदेखि आफ्नो प्रभाव स्थापित गर्दै आएका उनले पार्टी योगदान, संघर्ष र नेतृत्व अनुभवको आधारमा आफ्नो छवि बलियो बनाउन सफल भएका छन्। हाल शर्मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध छन्। उनी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ–६ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनको चुनावी चिन्ह ‘तारा’ रहेको छ। उनको चुनावी एजेन्डामा मुख्य रूपमा युवा प्रतिनिधित्व, सुशासन, पूर्वाधार विकास, रोजगार सिर्जना र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने लक्ष्य रहेको छ । शर्माले उम्मेदवारी दर्ता गरेसंगै आफ्नो उम्मेदवारी व्यक्तिगत पदको लागि नभएर जनताको सेवा र राजनीतिक प्रतिबद्धतासहित जेन जीहरुले चाहेको शासनव्यवस्थाको लागि भएको बताए। देशमा व्याप्त भ्रष्टाचार,कालोवजारी,घुसपैठको अन्त्य गर्नु,देशलाई समुन्नत वनाउनु,वेरोजगारीको अन्त्य गर्नु,युवा पलायन रोक्नु, निशुल्क शिक्षा, स्वास्थ्यको ग्यारेन्टी गर्नु,सहिदहरुका सपना साकार पार्नु, देशको संविधान,लोकतन्त्र, ,राष्ट्रियता, सार्वभौमिकता र स्वाधिनताको रक्षाका खातिर आफ्नो उम्मेदवारी रहेको शर्माको जिकिर छ। हिमाल शर्माको जीवन र राजनीतिक यात्रा विद्यार्थी नेतृत्व, जनयुद्धकालीन संघर्ष, पार्टी भूमिका, शान्ति प्रक्रिया योगदान र युवा नेतृत्व तथा समाजसेवामा आधारित छ। उनी युवा पुस्तामा प्रभावशाली नेतृत्वको प्रतीक मानिन्छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उनी आफ्नो अनुभव, पार्टी योगदान र स्थानीय जनताको विश्वास लिएर चुनावी मैदानमा सक्रिय छन्।