Redirecting...

अर्जुनको इन्द्रसँग साक्षात्कार - sahityapost.com

अर्जुनको इन्द्रसँग साक्षात्कार - sahityapost.com
Source: shpt

काम्यक वनमा बस्न थालेपछि एकदिन युधिष्ठिरले आफ्ना प्रिय भाइ अर्जुनलाई एकान्तमा बोलाएर भने : भाइ ! यो १२ वर्षको वनवास र एक वर्षको अज्ञातवासपछि कौरवहरूसँग हाम्रो भीषण युद्ध हुने नै छ । त्यसमा हजुरबा भीष्म पितामह, गुरु द्रोणाचार्य र कृपाचार्य अनि कर्णजस्ता धुरन्धरहरूसँग हाम्रो भिडन्त पर्नेछ । उनीहरूलाई परास्त गर्नका लागि हामी दिव्यास्त्रले सम्पन्न हुनुपर्दछ । भाइ ! हामीमध्ये सबैभन्दा कुशल धनुर्धर एवम् वीर योद्धा तिमी नै हौ, त्यसैले अब पाण्डवकुलका उद्धारको समस्त अभिभारा तिम्रै काँधमा आइपुगेको छ । मैले श्रीकृष्णद्वैपायन व्यासजीबाट एउटा रहस्यमय शक्तिशाली विद्या प्राप्त गरेको छु । आज उपयुक्त अवसर आएको छ, उहाँकै निर्देशानुसार आज यो विद्या म तिमीलाई प्रदान गर्दछु । यस विद्याको सम्यक् प्रयोग गर्नाले समस्त जगत्को रहस्य जस्ताको तस्तै यथार्थ रूपमा तिमीले ज्ञात गर्न सक्नेछौ । यस मन्त्रविद्याले युक्त भएपछि तिमीले समस्त देवताहरूलाई प्रसन्न गर्न सक्नेछौ । हे भरतश्रेष्ठ, यस विद्याका प्रभावले तिमीले देवराज इन्द्रको दर्शन पाउनेछौ । देवराज इन्द्रसँग सकल दिव्यास्त्रहरूको अपार सम्पदा रहेको छ । यो विद्या ग्रहण गरेर तिमी सोझै उत्तर दिशातिर लाग, तिमी हिमालयका दुर्गम पथको यात्रा गर्दै इन्द्रकील पर्वतमा पुग्नेछौ र त्यहीं देवराज इन्द्रको दर्शन पाउनेछौ । यति भनेर पाण्डवज्येष्ठ युधिष्ठिरले अर्जुनलाई वेदव्यासप्रदत्त प्रतिस्मृति विद्या प्रदान गरे । विनम्रतापूर्वक दाजुको आज्ञा शिरोपर गरी उक्त विद्या निष्ठाशील बनेर ग्रहण गरिसकेपछि वीरवर अर्जुन उत्तरतिरको यात्राका लागि सन्नद्ध भए । यात्रा लामो थियो, साधना निकै कठिन, अनि सिद्धि तपःसाध्य एवम् दीर्घकालापेक्षी पनि थियो । सबै दाजुभाइ र कृष्णाले अत्यन्त स्नेहका साथ उनलाई भारी मनले विदाइ गरे । पुरोहित धौम्यजीले शिवास्ते सन्तु पन्थानः आशीर्वचनका साथ विदा दिए । बाटो विकट थियो । साथी उनको फगत् धनुर्वाण थियो । तर महाबली अर्जुन प्रतिस्मृति विद्या पाएर योगवान् बनेका थिए । त्यसैका प्रभावले उनलाई बाटोमा कसैले पनि रोकटोक गरेन । उनलाई देख्नासाथ सब प्राणीहरू लाखापाखा लाग्दथे । लामो र विकट यात्रा सम्पन्न गर्दै उनी आखिर उत्तरवर्ती सर्वोच्च हिमकूटमण्डित हिमालयमा पुगे । मनस्वी अर्जुन योगसम्पन्न भएकाले मनको गतिअनुरूप अत्यन्त शीघ्रतासाथ हिंड्न सक्ने भए । उनी वायुवेगले एकै दिनमा हिमालय पुगेका थिए । हिमालय र गन्धमादन पर्वत पनि नाघेर अगि बढ्दै आलस्यरहित भएर दिनरातको अविरत यात्रा सकुशल सम्पन्न गर्दै उनी धेरै अगि बढिसकेका थिए । जाँदाजाँदै उनी आखिर इन्द्रकील पर्वतमा पुगे । त्यसै बेला एक्कासी गम्भीर एवम् अत्यन्त उच्च स्वरमा बोलिएको एक शब्द उनका कानमा गुँज्यो : पर्ख ! उनी छक्क पर्दै त्यहीं रोकिए अनि चारैतिर ध्यान दिएर हेर्न लागे – को बोल्दैछ ? भनेर । अनि उनले देखे : एउटा विशाल वृक्षतलमा एक जना दिव्य तपस्वी महात्मा सिद्धासनमा बसेका रहेछन् । ती ब्रह्मतेजले उद्भासित थिए । उनको अंगकान्ति पहेंलो थियो, शिरमा लामा लामा जटा थिए, शरीर अत्यन्त दुर्बल थियो । उनले भने : बाबु, तिमी को हौ ? हातमा धनुर्वाण भिरेर, तरबार बोकेर, कवच पहिरिएर, पन्जा लगाएर क्षत्रियधर्मको अनुगमन गर्दै किन यहाँ आएका छौ । यो त तपोभूमि पो हो त ! यहाँ अस्त्र शस्त्रको के प्रयोजन ? यो त हर्ष र क्रोधलाई जितेर शान्त भएका तपस्वी ब्राह्मणहरूको स्थान पो हो त । यहाँ कहिल्यै पनि कुनै युद्ध हुँदैन त्यसैले यी हात–हतियारको कुनै काम छैन । यो धनुष अब यहीं फ्याँकिदेऊ, अब तिमी उत्तम गतिमा प्राप्त भइसकेका छौ । अनि फेरि हाँस्दै भने : हे वीरवर, ओज र तेजमा तिमीजत्तिको अरु कुनै पुरुष यस जगत्मा छैन । बार बार अह्राउँदा पनि अर्जुनले आफ्ना आयुधहरू त्यागेनन् । आफ्ना निश्चयमा अटल रहे । अनि ती तपस्वी महात्माले मुसुक्क हाँस्दै भने : हे शत्रुसूदन, तिम्रो कल्याण होस् । म स्वयम् देवराज इन्द्र हुँ । माग, के माग्न चाहन्छौ ? अर्जुनले विस्मयविष्ट हुँदै श्रद्धाका साथ प्रणाम गरेर भने : भगवान्, म हजुरबाट समस्त अस्त्रहरूको ज्ञान प्राप्त गर्न चाहन्छु, मेरो अभीष्ट यही हो, यही वर दिनुहोस् । फेरि मुसुमुसु हाँस्दै तिनले भने : हे धनञ्जय, तिमी यहाँसम्म आइपुग्यौ । अब तिमीलाई अस्त्रको के प्रयोजन ? अब आफ्नो इच्छानुसार उत्तम लोक पो माँग न बरु, तिमीले उत्तम गति पाइसकेका छौ । अर्जुनले भने : हे देवेश्वर, म आफ्ना दाजुभाइहरूलाई वनमा छोडेर आएको छु, शत्रुलाई परास्त नगरी अरु केही चाहन्नँ । लोभ वा कामनाको वशीभूत भएर न देवत्व चाहन्छु, न सुख र न स्वर्गीय ऐश्वर्य नै । म कर्तव्यच्युत भएँ भने त समस्त लोकमा अपयशको भागी हुनेछु । ती महात्मारूपधारी देवराज इन्द्रले अन्त्यमा मधुर वाणीले अर्जुनलाई सान्त्वना दिँदै भने : यदा द्रक्ष्यसि भूतेशं त्र्यक्षं शूलधरं शिवम् तदा दातास्मि ते तात दिव्यान्यस्त्राणि सर्वशः । मभा, वन, ३७अ, ५७श्लो । हे बाबु, जब तिमीले त्रिनेत्रधारी, त्रिशूलधृक्, भूतेश, महादेव शिवजीको दर्शन पाउनेछौ अनि तिमीलाई म समस्त दिव्यास्त्र प्रदान गर्नेछु । हे कुन्तीनन्दन, तिमी भोलेनाथको दर्शन पाउने यत्न गर । उहाँको दर्शन गरेर पूर्णतः सिद्ध भइसकेपछि तिमी स्वर्गलोकमा आउनेछौ । यति भनेर अर्जुनले हेर्दाहेर्दै ती दुब्ला पतला तेजस्वी महात्माका रूपमा प्रस्तुत इन्द्रदेव तत्काल त्यहींबाट अन्तर्धान भए । … देवराजको वचनलाई मनन गर्दै वीरवर अर्जुन देवाधिदेव महादेवलाई तपस्याद्वारा प्रसन्न तुल्याएर उहाँको दर्शन पाउने उत्कट अभिलाषाका साथ आफ्नो सुप्रसिद्ध गाण्डीव धनुष हातमा लिएर वीरतापूर्वक त्यहाँबाट प्रस्थान गरे । धेरै लामो यात्रा सम्पन्न गरी उनी आफ्नो कार्यसिद्धिका लागि एकाग्रमना बनेर उत्तरदिशातिर अगि बढ्दै गए । जाँदा जाँदै उनी एउटा भयंकर काँडैकाँडाले भरिएको जंगलमा पुगे । त्यहाँ नानाभाँतिका चराचुरुंगी र मृगहरू बसोबास गर्दथे । त्यो वन प्रशस्त फलफूलको सम्पदाले पनि सम्पन्न थियो । उनी त्यहाँ पुग्नासाथ आकाशबाट शंखध्वनि र नगरा बजेको गम्भीर निनाद पनि सुनिन लाग्यो । अकस्मात् आकाशबाट फूलको वृष्टि पनि हुन लाग्यो । चारैतिर घनघोर बादलका दल पनि आकाशमा देखिन लागे । त्यस दुर्गम वनलाई पनि पार गरेर उनी अगि बढ्दै गए । हिमालयको पृष्ठभागमा अवस्थित एक दिव्य एवम् महान् पर्वतमा उनी पुगे । त्यो पर्वत अनेकौं दिव्य फूलहरूले ढकमक्क ढाकिएको थियो, पक्षीहरूको सुमधुर कलरवले गुञ्जायमान थियो, वैदूर्यमणि झैं झलझलाकार स्वच्छ कलकल जलप्रवाहले सम्पन्न कैयौं नदीहरू त्यहाँ प्रवाहमान थिए, हंस, कारण्डव, सारस, कोइली, क्रौञ्च, मयूर अदि पक्षीहरूको मनमोहक ध्वनिले सम्पन्न थियो, नदीकिनारमा हरीतिमामय वनश्रेणी सुशोभित थियो । यस्तो भव्य स्थानमा पुगेर अर्जुनको चित्त प्रसन्नताले परिपूर्ण भयो । अनि उनले त्यहीं बसेर तपस्या गर्ने निधो गरेर आसन जमाए । कुशनिर्मित चीरका साथ शरीरमा मृगचर्म धारण गरेर, हातमा दण्ड लिएर उनले सिद्धासन जमाए र एकाग्रमनले देवाधिदेव शिवको ध्यानमा डुब्न लागे । उनले प्रथमतः केवल जमीनमा खसेका सुकेका पातहरू खाएर काम चलाए, अनि एक महीनासम्म तीन तीन रातपछि एकपटक फलाहार गरेर निर्वाह गरे, दोस्रो महीनामा छ छ रातपछि फलाहार गर्न थाले, तेस्रो महीनामा पन्ध्र पन्ध्र दिनमा केवल एक पटक फलाहार गरेर तपस्यारत रहे, चौथो महीना केवल वायुभक्षण गरे । पछि, उनी दुवै हात आकाशतिर उठाएर गोडाका बूढी औंलामा मात्र उभिएर तपस्या गर्न थाले । हेर्दाहेर्दै तेजस्वी अर्जुनका शिरका जटाहरू लम्बायमान एवम् आकाशमा चम्किने विद्युत्सरि चम्किला पहेंला भए । उनको त्यस उग्र तपस्याले त्यहाँको समस्त परिवेश सन्तप्त हुन लागेपछि त्यहाँ बस्ने तपोनिष्ठ सिद्ध महर्षिहरू मिलेर महादेवका समीपमा गए र विन्ती गर्न लागे : हे देवाधिदेव, हजुरलाई त अवगत नै छ, यी वीरवर अर्जुनले गरेका उग्र तपस्याले समस्त भूभाग सन्तप्त हुन लागेको छ, दिशाहरू धूमाच्छादित हुन गएका छन्, उनको उग्र तपस्याले हामी सबै प्रतप्त हुन लागेका छौं, थाहा छैन उनी के पाउन यो भीषण तपस्या गरिरहेका छन्, प्रभो, जसरी हुन्छ हजुरले उनलाई तपस्याबाट निवृत्त गरिबक्सियोस् । महादेवले तिनीहरूलाई आश्वस्त पार्दै भन्नुभयो : तिमीहरू चिन्ता नगर, उनको मनमा के संकल्प छ त्यो मलाई राम्ररी थाहा छ, उनी न त स्वर्ग पाउन चाहन्छन् न त ऐश्वर्य, न दीर्घजीवन नै । उनी जे पाउन चाहन्छन् त्यो म आजै गएर पूर्ण गरिदिन्छु । अब निश्चिन्त भएर जाओ । अनि, सबै महर्षिहरू उहाँलाई प्रणाम गरेर प्रसन्नताका साथ फर्किए । ….. महाभारत वनपर्व, ३७ र ३८ अध्यायमा आधृत । २०८२ साल मंसीर १९ गते शुक्रवार, ॐअक्षरालयः । The post अर्जुनको इन्द्रसँग साक्षात्कार appeared first on साहित्यपोस्ट.