राष्ट्रिय सभा निर्वाचन : बागलुङकी बासकोटासहित गण्डकीमा जनमोर्चाका दुई जनाको उम्मेदवारी - ehimalayatimes.com
बागलुङ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि बागलुङकी लक्ष्मी बासकोटासहित गण्डकीमा राष्ट्रिय जनमोर्चाका दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । बासकोटाले महिला र कास्कीका शंकर बरालले खुल्ला कलस्टरबाट उम्मेदवारी दर्ता गराएका हुन् । गण्डकीमा नेपाली कांग्रेस र नेपपा एमाले गठबन्धन गर्दा राष्ट्रिय जनमोर्चाले एकल उम्मेदवारी दिएको हो । गण्डकी प्रदेशमा जनमोर्चाको ४ जना मतदाता छन् । बराल राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेश अध्यक्ष र बासकोटा अखिल नेपाल महिला संघको केन्द्रीय उपाध्यक्ष हुन् ।गण्डकीको बागलुङका चार पालिकामा मात्रै राष्ट्रिय जनमोर्चाका प्रतिनिधि छन् । जैमिनी नगरपालिका मेयर, बरेङ गाउँपालिका अध्यक्ष तथा बडिगाड र काठेखोला गाउँपालिका उपाध्यक्षमा जनमोर्चाले जितेको छ । उहाँहरूको प्रस्तावकमा जैमिनीका मेयर नरबहादुर पुन र समर्थकमा काठेखोला उपाध्यक्ष तेजबहादुर थापा छन् । मतभार हिसाब गर्दा जनमोर्चाको ७६ मात्रै पुग्छ । यसपाली जनमोर्चाको प्रदेश सभामा सांसद छैनन् । उहाँहरुको समर्थकमा बस्नु भएका काठेखोलाका उपाध्यक्ष एवं जनमोचाका बागलुङ अध्यक्ष तेजबहादुर थापाले हार निश्चित भए पनि देशको वेथितीको विरुद्ध लडि रहेको शक्ति भएको हुँदा चुनावमा भाग लिएको बताए ।