‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार २०८२’ बाट रामविक्रम थापा सम्मानित - sahityapost.com
काठमाडौँ, । साहित्य, शिक्षा, कला र समाजसेवामा उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएकाे बहुआयामिक व्यक्तित्व रामविक्रम थापा ‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार–२०८२’ बाट सम्मानित हुनुभएकाे छ। साहित्य, विशेषतः बालसाहित्य र कविता, गजल, लघुकथा, निबन्ध, संस्मरण लगायतका विधामा कलम चलाउँदै आउनुभएकाे थापालाई उक्त पुरस्कार प्रदान गरिएको हो। खोटाङ बाम्राङ–८ मा वि.सं. २०२६ मा जन्मिनुभएकाे थापाले वि.सं. २०३८ सालदेखि साहित्य यात्रा सुरु गर्नुभएकाे हाे । एम.एड. शैक्षिक योग्यता प्राप्त थापाका ‘पात्रहरू’, ‘छरिएका कविता’, ‘बालपोष’, ‘राम्रो बानी’, ‘ट्याम्केको घुमघाम’, ‘सुनापातालको सुनाझाँक्री’, ‘आकाशको बञ्चरो’, ‘गाउँभरि भूतको हल्ला’ र ‘जे माग्यो त्यही दिने पोखरी’ लगायत नौ कृति प्रकाशित छन्। ‘कृषणगर्तका ताराहरू’, ‘राविथाका गजलहरू’, ‘खोटाङका लोककथा’ लगायत कृतिहरू प्रकाशोन्मुख छन्। उहाँलाई यसअघि पनि धनहाङ्मा–भैरव राई राष्ट्रिय कविता पुरस्कार, मोहन रेग्मी–वाणी सम्मान, ‘प्रहरी’ उत्कृष्ट लेखक पुरस्कार, रावासावा प्रतिभा पुरस्कार, प्रदेश १ स्तरीय प्रादेशिक प्रतिभा पुरस्कार, उत्कृष्ट शिक्षक पुरस्कार लगायत विभिन्न सम्मान प्रदान गरिसकिएको छ। उहाँ १४ वर्ष गाउँ विकास समिति सचिव र १५ वर्ष शिक्षकका रूपमा कार्यरत भइसक्नुभएकाे छ । हाल श्री सरस्वती मावि, दिक्तेल, खोटाङमा माध्यमिक तह गणित शिक्षकको रूपमा कार्यरत थापाको स्थायी ठेगाना सुन्दरहरैँचा नगरपालिका–१०, मोरङ हो। थापाको सादगीपूर्ण जीवनशैली, राष्ट्रिय सोच र सिर्जनात्मक चेतनालाई पुरस्कारद्वारा सम्मान गरिएको आयोजक समितिले जनाएको छ। The post ‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार २०८२’ बाट रामविक्रम थापा सम्मानित appeared first on साहित्यपोस्ट.