महासचिव नपाएपछि ज्ञवालीले च्याते पदाधिकारी सूची, भन्छन् ‘मन एकदमै दुखेको छ’ - www.sutranews.com
काठमाडौं । नेकपा एमालेको महासचिवका स्वाभाविक दाबेदार मानिएका प्रदीप ज्ञवालीलाई अध्यक्ष केपी शर्मा ओलीले नपत्याएपछि खुलेआम विद्रोह गरेका छन्। एमाले राजनीतिमा सधैं ओलीको ढाल बनेर उभिएका ज्ञवालीले एघारौँ महाधिवेशनको औपचारिक घोषणा हुनुअगावै आफूलाई महासचिवको दाबेदारका रूपमा प्रस्तुत गरेका थिए। उनलाई उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव पृथ्वी सुब्बा गुरुङसहितको बलियो समर्थन थियो। तर ओलीले उपमहासचिव विष्णु रिमालको जोडबलमा शंकर पोखरेललाई नै महासचिवमा दोहोर्याउने निर्णय गरे। पोखरेलले मनोनयन दर्ता गरिसकेका छन् र अब उनी सुरेन्द्र पाण्डेसँग प्रतिस्पर्धामा उत्रनेछन्। उपमहासचिव ज्ञवालीको उम्मेदवारीमा पर्शु पाण्डे प्रस्तावक र रामजी ढकाल समर्थक बनेका छन्। ओली टिमले उनलाई उपाध्यक्षको उम्मेदवार बनाउन अन्तिम सूचीसमेत तयार गरेको थियो। तर महासचिव नपाएपछि ज्ञवाली पदाधिकारी सूची नै च्यातेर बाहिरिए। ‘मन एकदमै दुखेको छ’उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुरा गर्दै ज्ञवाली भावुकसमेत देखिए। ‘म एमालेको पदाधिकारीबाट कार्यकर्तामा झरेको छु,’ उनले भने, ‘एउटै व्यक्तिलाई बारम्बार दोहोर्याउने प्रवृत्ति ठीक होइन। मेरो मन एकदमै दुखेको छ।’ उनले आफू पार्टी आन्दोलनको सधैं अग्रमोर्चामा रहेको दाबी गर्दै थपे, ‘पार्टीमा सबैलाई समान प्रतिस्पर्धाको अवसर हुन्छ भन्ने लागेको थियो। तर त्यस्तो रहेन।’