Redirecting...

न्यून आय भएका विद्यार्थी झोला पाउँदा दङ्ग - ehimalayatimes.com

न्यून आय भएका विद्यार्थी झोला पाउँदा दङ्ग - ehimalayatimes.com
Source: hmlt

पाल्पा । जिल्लाको तानसेन नगरपालिका –११ मा रहेको लिपिन्देवी आधारभुत विद्यालयमा अध्यनरत न्यून आय भएका विद्यार्थी स्कुल झोला पाउँदा दङ्ग परेका छन् । वर्षौदेखि च्यातिएका र टालेका झोलामा किताव कापी लिएर विद्यालय पुग्ने गरेका यहाँका विद्यार्थी नयाँ झोला पाएपछि दङ्ग छन् । बुधबार सामाजिक कार्यमा सक्रिय पाल्पा जेसिजले विद्यालयमै पुगेर ३७ जना विद्यार्थीलाई झोलासँगै शैक्षिक सामग्री दिएपछि विद्यार्थी खुसी हुँदै नयाँ झोला, कापी पाएकोमा दङ्ग परे । कक्षा ४ मा अध्ययनरत अञ्जु विक औपचारिक कार्यक्रम चल्दै गर्दा कालो झोला बोकेर मुस्कुराउँदै यता,उता गर्दै झोलाभित्र रहेका शैक्षिक सामग्री खोतल्छिन् । अन्तमा हाँस्दै हिँड्न खोज्दा पुनः रोकिन्छिन् । उनले गरेको गतिबिधिले सबैको ध्यान केन्द्रित गर्छ । गतिबिधि नियालिरहनुभएकी अभिभावक मीना विकले आकर्षक झोलाभित्र रहेको शैक्षिक सामग्री पाउँदा अञ्जु फुरुङ्ग भएको सुनाउनुहुन्छ । ग्रामीण भेगमा शैक्षिक सामग्रीविहीन विद्यालय पुगेका बालबालिका झोला र स्टेस्नरी पाउँदा खुसीको सीमा थिएन ।“गरिब विद्यार्थी झोला, शैक्षिक सामाग्रीका कारण स्कुल पढ्नबाट वञ्चित हुन नपरोस्, बीचमै पढाई छाड्ने समस्या नहोस् भनेर एक वर्षलाई पुग्ने सामान उपलब्ध गराएका छौं,” जेसिजका अध्यक्ष जेसी विवेककाजी शाक्यले भन्नुभयो । विशेषगरी सामुदायिक स्कुलमा अध्ययनरत विद्यार्थीहरु अति विपन्न परिवारका हुने भएकाले तिनीहरुलाई अन्य बालबालिका सरह शिक्षाको पहुँचमा पुर्‍याउन शैक्षिक सामग्री वितरण गर्दै आएको उहाँको भनाई छ । यसले विद्यार्थीलाई विद्यालय आउन आकर्षित गर्नुका साथै शैक्षिक गुणस्तरमा वृद्धि हुने अध्यक्ष शाक्यले विश्वास व्यक्त गर्नुभयो । जेसिजले विद्यालयमै पुगेर विद्यार्थीलाई झोला, कपी, कलम सहयोग गरेको हो । तानसेन नगरपालिकाका नगर प्रमूख तथा जेसिजका पूर्व अध्यक्ष सन्तोषलाल श्रेष्ठ, जेसिजका अध्यक्ष जेसी विवेककाजी शाक्य, नगरपालिका प्रवक्ता तथा तानसेन–११ का वडा अध्यक्ष यादव सिं कार्की, तानसेन– १ का वडा अध्यक्ष तथा जेसिजका पूर्व अध्यक्ष जेसी सुनिल कुमार बस्याल, जेसिजका निवर्तमान अध्यक्ष जेसी अर्जुन कार्की लगायतका जेसिज पदाधिकारीहरुले विद्यार्थीलाई उक्त शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको थियो । नगर प्रमुख श्रेष्ठले यस्ता कार्यक्रम स्थानीय सरकारले आफैँ गर्नुपर्ने भए पनि सामाजिक संघसस्थाले समेत सहयोगी भूमिका खेलेर सघाइरहेको बताउनुभयो । शिक्षाको पहुँचबाट कुनै पनि बालबालिका विमुख नहुने वातावरण निर्माणका लागि सबैको साथ र सहयोग रहनुपर्ने भन्दै नगर प्रमुख श्रेष्ठले शिक्षा क्षेत्रमा नगर सरकारको उच्च प्राथमिकता रहेको बताउनुभयो । उहाँले आफ्नो स्वर्गीय आमाको नामबाट विद्यालयमा ५० हजारको अक्षयकोष समेत स्थापना गरिदिने उद्घोष समेत गर्नुभयो । वडा अध्यक्ष तथा नगर प्रवक्ता कार्कीले शैक्षिक सामग्रीको अभावले विद्यालय जान नसक्ने बालबालिकालाई यो सहयोगले राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अब शैक्षिक सामग्रीको अभावले हाम्रा बालबालिका विद्यालय गएनन् भनेर भन्ने ठाउँ नरहने बताउनुभयो । सहयोगी निकायले गरेको सहयोगले वडालाई धेरै आर्थिक भार कम हुँदै गएको समेत अध्यक्ष कार्कीले विश्वास व्यक्त गर्नुभयो ।