एमाले महाधिवेशन : कसरी हुँदैछ निर्वाचन ? - bishwokhabar.com
काठमाडौं– नेकपा एमालेको शनिबार भक्तपुरमा उद्घाटन भएको एघारौं महाधिवेशनको बन्दसत्र आइतबारदेखि भृकुटीमण्डपमा शुरु हुँदैछ । बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘अध्यक्ष मण्डल’को घोषणा गर्नेछन् । यसपटक केन्द्रीय सचिवालयलाई नै ‘अध्यक्ष मण्डल’ मा परिणत गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले चुनावी प्रक्रिया शुरु गर्नु अघि अध्यक्ष मण्डलले अध्यक्ष र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई धारणा राख्न दिने तय भएको एक नेताले बताए । पोखरेल पक्षले दस्तावेज प्रस्तुत गर्न पाउने भए पनि त्यसमा छलफल भने नहुने ती नेताले जानकारी दिए । एमालेको विधानमा समन्वय कमिटी, सङ्गठन कमिटी, सल्लाहकार परिषद्, विभाग, सयन्त्र र कार्यदल बाहेकका सबै तहका कमिटी र आयोगहरू महाधिवेशन वा अधिवेशनबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित हुने व्यवस्था छ । गत भदौमा गोदावरीमा सम्पन्न विधान महाविधेशनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव सहित २५१ सदस्यीय केन्द्रीय कमिटी रहने तय गरेको छ । केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन प्रतिनिधिको प्रमाणित नामावली र केन्द्रीय कमिटीको बनावट ९क्लस्टर० प्राप्त भएपछि मात्र काम अगाडि बढाउँछ । किनभने महाधिवेशन प्रतिनिधिहरू नै मतदाता हुन । मतदाता नामावली प्रकाशन, दावी विरोधपछि अन्तिम नामावली प्रकाशन हुन्छ । आयोगका अध्यक्ष डा.विजय सुब्बा सोमबार विहानसम्म मतदाता नामावली प्रकाशन गर्न सकिने तर त्यसका लागि आइतबारै प्रतिनिधिको नामावली र केन्द्रीय क्लस्टर आफूहरूलाई चाहिने बताउँछन् । केन्द्रीय कमिटीको निर्वाचन कम्तिमा एक तिहाई महिलासहित नेपालको विविधता प्रतिविम्बित हुने गरी गर्नुपर्ने वैधानिक प्रावधान छ । महिला प्रतिनिधित्वको स्वरुप पनि समावेशी चरित्रको हुनुपर्ने व्यवस्था छ । यसपटक केन्द्रीय कमिटीमा युवाको प्रतिनिधित्व बढाउने विषय टुंगिन बाँकी छ । कुन क्लस्टरमा कति जना निर्वाचित हुने भन्ने तय भएपछि आयोगले विद्युतीय भोटिङ मेशिनमा प्रविष्ट गर्छ । अन्तिम नामावली र मेशिनमा क्लस्टर सेट गरिसकेपछि उम्मेदवारी आव्हान गर्ने आयोगको तयारी छ । उम्मेदवारको नामावली प्रकाशन, दावी विरोध र अन्तिम नामावली प्रकाशन भएपछि फेरि भोटिङ मेशिनमा उम्मेदवारको नाम सेट गर्नुपर्ने हुन्छ । त्यसका लागि करिब १५–२० घण्टा समय चाहिने र उम्मेद्वारको नाम वर्णानुक्रममा राखिनेछन् । पुस १ गते मतदान गर्ने गरी काम भइरहेको अध्यक्ष सुब्बाले जानकारी दिए । केन्द्रीय कमिटीका पदाधिकारीका उम्मेदवार स्वतस् केन्द्रीय सदस्यको खुलातर्फको उम्मेदवार हुन्छ । त्यस्ता उम्मेदवारको हकमा मतदाताले पदाधिकारी र सदस्य दुवैतर्फ मतदान गर्न पाउँछन् । मतदानका लागि एक जनालाई २० देखि २५ मिनेट लाग्ने आयोगका अकिकारीहरूको अनुमान छ । भोट गर्न लाग्ने समय कुन क्लस्टरमा कति उम्मेदवार हुन्छ त्यसले पनि फरक पार्दछ । विद्युतीय भोटिङ मेशिन १०० वटा भए पनि आयोगले एक पटक ८० वटा मात्र चलाउने तयारी गरेको छ । महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधि छन् । महाविधेशनबाट निर्वाचित केन्द्रीय कमिटीले शपथग्रहण गरेपछि पुरानो केन्द्रीय कमिटी स्वत: विघटन हुन्छ ।