सार्वजनिक संस्थानमा सरकारको साढे ९ खर्ब लगानी - arthasarokar.com
काठमाडौँ । सरकारले सार्वजनिक संस्थान र निकायमा ९ खर्ब बढी रुपैयाँ लगानी गरेको पाइएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको ‘नेपाल सरकारको सेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदन’ अनुसार सरकारले विभिन्न १५९ सार्वजनिक संस्थान र निकायमा ९ खर्ब ३० अर्ब ८८ करोड ४ लाख ६८ हजार रुपैयाँ लगानी गरेको पाइएको हो । प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्ममा सरकारको कुल सेयर लगानी १ सय १६ संस्थानमा रु ४ खर्ब ४ अर्ब ८१ करोड ४१ लाख ५८ हजार रहेको छ । सरकारको सबैभन्दा बढी सेयर लगानी नेपाल विद्युत प्राधिकरणमा रहेको छ । त्यस्तै, विद्युत प्राधिकरणपछि सरकारको नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमा धेरै लगानी रहेको छ । समीक्षा अवधिमा सरकारको कुल ऋण लगानी भने पाँच खर्ब २६ अर्ब ६ करोड ६३ लाख १० हजार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । जसमध्ये आन्तरिक स्रोतबाट एक खर्ब ५८ अर्ब १८ करोड २१ लाख ८४ हजार र वैदेशिक स्रोतबाट तीन खर्ब ६७ अर्ब ८८ करोड ४१ लाख २६ हजार रुपैयाँ रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।