नेपाल स्पोर्टस समिट २०२६ को घोषणा - www.pardafas.com
नेपाल स्पोर्टस समिट कमिटीले आधिकारिकरूपमा नेपाल स्पोट्र्स समिट २०२६ को घोषणा गरेको छ । आउँदो फेब्रुअरी ५ मा सोल्टी होटल प्रा.ली.मा यो समिट आयोजना हुन लागेको हो । आयोजकका अनुसार यो ऐतिहासिक समिट नेपालकै पहिलो संरचित राष्ट्रिय खेल सम्मेलन मञ्च हुनेछ । सम्मेलनले उच्चस्तरीय कूटनीतिज्ञ, अन्तर्राष्ट्रिय प्रतिनिधि, कर्पोरेट नेतृत्व, सरकारी अधिकारी, खेल प्रशासक, सञ्चारकर्मी तथा विश्वव्यापी सरोकारवालाहरूलाई एउटै छानामुनि एकत्रित गर्ने जनाइएको छ। समिटमा नेपालका खेल क्षेत्रका नीतिगत, पूर्वाधार, सञ्चार, डिजिटल सामग्री तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयहरू समेट्दै पाँच उच्चस्तरीय प्यानल छलफल सत्रहरू सञ्चालन गरिनेछन् । पहिलो सत्रमा खेल कूटनीति, दोस्रोमा खेल पूर्वाधार, तेस्रोमा उदीयमान खेलहरूको उदय, चौंथोमा खेलमा सञ्चार तथा प्रसारण तथा पाचौंमा खेल सामग्री तथा इन्फ्लुएन्सर विषयमा छलफल हुनेछ । नेपाल स्पोर्टस समिट २०२६ का आयोजक आमिर अख्तरले आज आयोजित पत्रकार सम्मेलनमा नेपाल स्पोर्टस समिट २०२६ केवल एउटा कार्यक्रम नभएर यो खेल, कूटनीति, पर्यटन र आर्थिक विकासलाई एकीकृत गर्ने राष्ट्रिय अभियान भएको बताए । उनले भने, ‘हाम्रो दृष्टिकोण नेपालको खेल इकोसिस्टमलाई विश्वव्यापी अवसरहरूसँग जोड्दै अन्तर्राष्ट्रिय सहकार्यमार्फत देशको खेल भविष्यलाई रूपान्तरण गर्नु हो ।’ अर्का आयोजक भास्कर राजकर्णिकारले यो समिटले नीति निर्माता, लगानीकर्ता, खेल नेतृत्व र विश्व संस्थाहरूबीच संरचित संवादको वातावरण सिर्जना गर्ने उल्लेख गरे । ‘नेपालसँग प्राकृतिक लाभ, युवा ऊर्जा र अन्तर्राष्ट्रिय सद्भावना छ, समिटले यस सम्भावनालाई व्यावहारिक साझेदारी र दीर्घकालीन वृद्धिमा रूपान्तरण गर्नेछ।’