सरकारले ५ महिनामा सडक मर्मत/निर्माण शीर्षकमा उठायो ७ अर्ब कर - www.meroauto.com
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को ५ महिना (साउन-मंसिर)मा सडक निर्माण तथा मर्मत/सम्भार शीर्षकमा झण्डै ७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले सडक मर्मत तथा सुधार दस्तुर र सडक निर्माण तथा सम्भार दस्तुर शीर्षकमा ५ महिनामा कुल ६ अर्ब ९७ करोड १३ लाख रुपैयाँ राजस्व संकलन गरेको हो । अर्थ मन्त्रालयका अनुसार मंसिरसम्म सडक मर्मत तथा सुधार दस्तुर शीर्षकमा ४ अर्ब ७० करोड ८८ लाख रुपैयाँ राजस्व उठाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १६.०४ प्रतिशत धेरै हो । सरकारले चालु आवमा कुल १६ अर्ब ६२ करोड ४६ लाख रुपैयाँ सडक मर्मत तथा सुधार दस्तुर उठाउने लक्ष्य राखेको छ । ५ महिनामा वार्षिक लक्ष्यको २८.३२ प्रतिशत प्रगति हासिल भएको हो । सरकारले सवारी नवीकरण र विभिन्न मालवस्तु आयात गर्दा सडक मर्मत तथा सुधार दस्तुर शीर्षकमा कर लिने गरेको छ । उक्त रकम सडक मर्मतमा खर्च हुन्छ । त्यस्तै, मंसिरसम्म सडक निर्माण तथा सम्भार दस्तुर शीर्षकमा २ अर्ब २६ करोड २५ लाख रुपैयाँ राजव संकलन भएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ६.२६ प्रतिशतहो । चालु आवको ५ महिनामा सरकारले सडक निर्माण तथा सम्भार दस्तुर शीर्षकमा वार्षिक लक्ष्यको ३६.४७ प्रतिशत राजस्व उठाएको हो । सरकारले चालु ६ अर्ब २० करोड रुपैयाँ यस्तो कर उठाउने लक्ष्य राखेको छ । सरकारले सडक निर्माण तथा सम्भार दस्तुर पेट्रोलियम पद्धार्थ आयात र ठूला परियोजनाहरूमा लगाउँदै आएको छ । यसरी उठेको रकम मुख्यगरी नयाँ सडक तथा पूर्वाधारमा खर्च हुन्छ । यो बाहेक सरकारले पेट्रोलियम पद्धार्थ आयातमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर लगाउँदै आएको छ । चालु आवको ५ महिनामा पूर्वाधार करबापत १० अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो गत वर्ष सोही अवधिको तुलनामा १.०५ प्रतिशत धेरै हो । चालु आवमा सरकारले ३० अर्ब ९१ करोड रुपैयाँ पूर्वाधार कर उठाउने लक्ष्य राखेको छ । सरकारले आर्थिक वर्ष २०७२/७३ बजेटमार्फत १२०० मेगावाटको बुढीगण्डकी आयोजनाको पूर्वाधार निर्माणका लागि भन्सार बिन्दुमै पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल र हवाई इन्धन)मा प्रतिलिटर ५ रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेको थियो । आव २०७७/७८ को बजेटमार्फत बढाउँदै प्रतिलिटर १० रुपैयाँ पुर्याइएको थियो । The post सरकारले ५ महिनामा सडक मर्मत/निर्माण शीर्षकमा उठायो ७ अर्ब कर appeared first on Meroauto.