Redirecting...

पोखरा विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख मुनंकर्मी दम्पतीमाथि भ्रष्टाचार मुद्दा - nagariknews.nagariknetwork.com

पोखरा विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख मुनंकर्मी दम्पतीमाथि भ्रष्टाचार मुद्दा - nagariknews.nagariknetwork.com
Source: ngrk

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख विनेश मुनंकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले मुनंकर्मीविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।आयोगले उनीसँग २ करोड ५० लाख ३४ हजार ५ सय १७ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको दाबी गरेको छ।आयोगले मुनंकर्मी सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५४ फागुन १ देखि २०८० मंसिर १४ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी अनुसन्धान गरेको थियो।अनुसन्धानका क्रममा उनको वैध आय ३ करोड ७३ लाख ८१ हजार ४४४ रुपैयाँ मात्र देखिएको छ। तर, सोही अवधिमा उनको खर्च तथा लगानी भने ६ करोड २४ लाख १५ हजार ९६१ रुपैयाँ भेटिएको छ।मुनंकर्मीको पारिश्रमिक, जग्गा बिक्री, ऋण, सेयर बिक्री, लाभांश लगायतका आयभन्दा खर्चको हिस्सा अस्वाभाविक देखिएको आयोगको ठहर छ।उनले सो रकम घरजग्गा खरिद, घर निर्माण, सेयर खरिद, सुनका गरगहना, अध्ययन शुल्क र विदेशी मुद्रा सटही लगायतमा खर्च गरेको पाइएको छ।अख्तियारले मुनंकर्मीकी श्रीमती पूर्ण केशरी गोसाईलाई पनि मुद्दामा प्रतिवादी बनाएको छ।मुनंकर्मीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमतीको नाममा राखेको देखिएकाले सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई प्रतिवादी बनाइएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए।मुनंकर्मीले पेस गरेको सम्पत्ति विवरण र उनको वास्तविक जीवनशैलीबीच तालमेल नमिलेको तथा उच्च जीवनस्तर यापन गरेको देखिएको आरोपपत्रमा उल्लेख छ।आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो जफत, जरिवाना र कैद सजायको मागदाबी गरेको छ।