Redirecting...

बत्ती जाने गरेको गुनासो बढेपछि मन्त्री घिसिङले गरे भार प्रेषण केन्द्रमा अनुगमन - www.pardafas.com

बत्ती जाने गरेको गुनासो बढेपछि मन्त्री घिसिङले गरे भार प्रेषण केन्द्रमा अनुगमन - www.pardafas.com
Source: pfds

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र सहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्र (लोड डिस्प्याच सेन्टर) को आकस्मिक अनुगमन गरी देशको समग्र विद्युत् प्रणालीको अवस्थाबारे जानकारी लिएका छन् । काठमाडौँको स्यूचाटारस्थित केन्द्रमा सोमबार साँझ पुगेका मन्त्री घिसिङले विद्युत् उत्पादन, प्रसारण, वितरण, ग्रिड सञ्चालन, माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात र बाढी पहिरोबाट क्षतिग्रस्त आयोजनाहरूको अवस्थाका विषयमा विस्तृत छलफल गरे । देशका विभिन्न भागबाट बारम्बार बत्ती जाने गरेको गुनासो बढिरहेका बेला प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका मन्त्री घिसिङले विद्युत् प्रणालीलाई थप भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन तत्काल अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीतिगत एवं प्राविधिक सुधारका लागि निर्देशन दिएका छन् । मन्त्री घिसिङले बाढी पहिरोले क्षति पुर्‍याएका संरचनाहरूको तत्काल मर्मतसम्भार गरी विद्युत् सेवा सञ्चालन गर्न निर्देशन दिएका छन्। उनले छिनछिनमा बत्ती जाने समस्यालाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्न र मातहतका कार्यालयहरूलाई सोहीअनुसार तयारी अवस्थामा राख्न आग्रह गरे । विद्युतगृह, प्रसारण लाइन तथा सबस्टेसनहरूलाई पूर्ण क्षमतामा चलाउन, विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएका मर्स्याङ्दी करिडोर २२० केभी र हेटौंडा—ढल्केबर ४०० केभी प्रसारण लाइनको निर्माणमा विशेष ध्यान दिन पनि मन्त्री घिसिङले जोड दिए। आगामी हिउँदयामको विद्युत् व्यवस्थापनका लागि पूर्वतयारी गर्न पनि उनले प्राधिकरण व्यवस्थापनलाई आग्रह गरे । अनुगमनका क्रममा प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले देशले दैनिक औसतमा एक हजार मेगावाट विद्युत् निर्यात गरिरहेको जानकारी दिए । चालू आर्थिक वर्ष २०८२–८२ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ । नेपालले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा विद्युत् बिक्री गरिरहेको छ । त्यस्तै, भारतको प्रसारण संरचना प्रयोग गरी बङ्गलादेशमा पनि दैनिक ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा र बङ्गलादेशसँगको व्यापार अमेरिकी डलरमा हुने भएकाले प्राधिकरणले दुवै मुद्रामा आम्दानी गरिरहेको छ । प्राधिकरणले भारत र बङ्गलादेश गरी कुल १ हजार १६५ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेको छ । प्राधिकरणका कार्यकारी निर्देशक सिलवाल र केन्द्रका निर्देशक चन्दन कुमार घोषले विद्युत् उत्पादन, माग, आपूर्ति, निर्यात, प्रणाली सञ्चालनको अवस्था तथा चुनौतीहरूबारे मन्त्रीलाई जानकारी गराएका थिए । सिलवालले बाढी पहिरोले क्षतिग्रस्त संरचना मर्मतका लागि टोली तयारी अवस्थामा रहेको र सोही बमोजिम काम भइरहेको बताए ।