फेरि तङ्ग्रिँदै शिथिल बनिसकेको दामनको पर्यटन - www.pardafas.com
चिसो अनि स्वच्छ हावापानी र हिमशृङ्खलाको अनुपम दृश्यले प्रख्यात दामन-पालुङ क्षेत्रको पर्यटन फेरि तङ्ग्रिँदै गएको छ । हेटौँडा-काठमाडौँ जोड्ने प्रमुख राजमार्गको छेउमा पर्ने यो क्षेत्र कुनै समय पर्यटकको घुइँचोले थेगिनसक्नु हुन्थ्यो । तर पछिल्लो केही वर्ष कोरोनाको महामारी, वैकल्पिक सडक मार्गको प्रयोग र अन्य विविध कारणले गर्दा पर्यटक आगमनमा कमी आएको थियो । पछिल्लो समय भने दामन-पालुङ क्षेत्र पुनः पर्यटकको रोजाइमा पर्न थालेको छ । विशेषगरी गर्मी महिनामा यहाँको चिसो मौसम र प्राकृतिक सौन्दर्यले पर्यटकलाई आकर्षित गरिरहेको छ । हिमशृङ्खलाको मनोरम दृश्य हेर्न, अर्ग्यानिक खानाको स्वाद लिन तथा शुद्ध र चिसो हावा महसुस गर्न देश तथा विदेशका विभिन्न भागबाट पर्यटक यहाँ आइपुग्ने गरेका छन् । नेपालका तराई भू–भागमा गर्मी अत्यधिक हुने हुँदा चिसो वातावरण खोज्दै धेरैजसो आन्तरिक पर्यटक र छिमेकी देश भारतबाट समेत उल्लेख्य सङ्ख्यामा आगन्तुकहरू आउने गरेका छन् । पर्यटकहरू विशेषगरी गर्मी छल्न, शान्त वातावरणमा बस्न र हिमालका दृश्य अवलोकन गर्न यहाँ आउने गर्दछन् । यस्तै, जाडो महिनामा दामन र वरपरका क्षेत्रमा बाक्लो हिउँ पर्ने भएकाले हिउँ खेल्न चाहने आन्तरिक तथा विदेशी पर्यटकको चाप अझ बढी हुने गर्दछ । साथै दामन क्षेत्र धार्मिक महत्वले पनि उत्तिकै महत्त्व बोकेको क्षत्र हो । दामनमा रहेको ऋखेश्वर महादेव मन्दिरमा श्रावण महिनामा विशेष मेला लाग्दै आइरहेको छ । साथै एकादशी फागुपुर्निमा लगायतका पर्वहरूमा यस मन्दिरमा धार्मिक पर्यटकहरूको उल्लेख्य आवागमन हुने गरेको थाहा होटल एशोसिएशनका अध्यक्ष शिवकुमार खत्रीले बताए । वर्षमा ७-८ हजार पर्यटक दामन क्षत्रमा आउने गरेको बताए । स्थानीय सरकारसँगको समन्वयमा उक्त क्षेत्रका ब्यवसायीहरुले दामन पालङमा हिँउ खेल्नको लागि स्केटिङ पार्क तथा अन्य संरचनाहरूलाई व्यवस्थित डङ्गमा अगाडि बढाएर पर्यटनको विकासमा लागेको उनको भनाई छ । विगतका वर्षहरूमा पर्यटकको खचाखच आगमन हुने गरेको र पछिल्ला वर्षहरूमा सुकेको पर्यटन फेरि फस्टाउन थालेको अनुभव गरेको दामन घुम्न आएका पर्यटक बताउँछन् । दामन पालुङ क्षेत्रमा रहेका एतिहाँसिक संरचनाहरूलाई सरकार र स्थानीय निकायहरूले ध्यान पुर्याउन नसक्दा र प्रचार गर्न नसक्दा यहाँको पर्यटन जुन गतिमा मौलाउन पर्ने हो त्यो गति लिन नसकेको मकवानपुर मनहरि घर भएका पर्यटक शिवकुमार रिजाल बताउँछन् । स्थानीय व्यवसायीहरू पनि पर्यटक आगमन पुनः बढ्न थालेसँगै उत्साहित भएका छन् । होटल, होमस्टे तथा कृषि–पर्यटनसँग जोडिएका व्यवसायमा पुनः गति आउन थालेको उनीहरूको भनाइ छ । अर्कोतर्फ दामन-पालुङ क्षेत्र तरकारी उत्पादनमा देशकै एक प्रमुख स्रोतको रूपमा स्थापित हुँदै आएको छ । दैनिक झन्डै ५० टन तरकारी उत्पादन हुने यस क्षेत्रबाट काठमाडौँ, हेटौँडा, ललितपुर, भक्तपुर लगायतका सहरहरूमा नियमित रूपमा तरकारी आपूर्ति गरिँदै आएको छ । यहाँको उब्जनीले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नुका साथै कृषि पर्यटनको सम्भावना पनि बढाएको छ ।