एमाले महाधिवेशन उद्घाटन स्थलको तयारी तीव्र, शीर्ष नेताबाट सल्लाघारीको मैदान अनुगमन - janatatimes.com
भक्तपुर, मंसिर १७ । नेकपा (एमाले) को मंसिर २७ गतेबाट सुरु हुने ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन स्थल भक्तपुर सल्लाघारीको मैदान बुधबार पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरूले अनुगमन तथा निरीक्षण गर्नु भएको छ । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी क्षेत्रफलमा फैलिएको चौरमा उपमहासचिव प्रदीप ज्ञवालीसहितको टोलीले विस्तृत निरीक्षण गरेको हो। अनुगमन टोलीमा उपमहासचिव ज्ञवालीसँगै प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम लगायतका केन्द्रीय नेताहरू, एमाले भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, उपाध्यक्ष तथा वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, जिल्ला सचिव विष्णु तामाङलगायत सहभागी हुनुन्थ्यो । उपमहासचिव ज्ञवालीले उद्घाटन स्थलमा करिब दुई लाख सहभागी अट्ने क्षमता रहेको उल्लेख गर्दै उद्घाटनका दिन चौर भरिभराउ हुने बताउनुभयो। उहाँले महाधिवेशनका सबै तयारी उत्साहजनक रूपमा अघि बढिरहेको र विभिन्न समितिहरू तीव्र गतिले सक्रिय रहेको जानकारी समेत दिनुभयो। पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट उद्घाटन गरिने महाधिवेशनमा करिब दुई हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ। उद्घाटन सत्रमा देशभरबाट एक लाख ५० हजारभन्दा बढी कार्यकर्ताको उपस्थिति रहने व्यवस्था मिलाइएको जनाइएको छ। प्रचार विभाग प्रमुख गौतमका अनुसार आजको निरीक्षणपछि मञ्च निर्माण, प्रवेशद्वार, संरचना व्यवस्थापनलगायत प्रमुख पक्षहरूबारे स्पष्ट योजना तयार भएको छ। जिल्ला अध्यक्ष वचन देउजाले भक्तपुरमा महाधिवेशनको उद्घाटन हुन लाग्नु श्रद्धा र गौरवको विषय भएको बताउनुभयो। उहाँका अनुसार उद्घाटन सत्रलाई नमुना र भव्य बनाउन मञ्च निर्माणदेखि कार्यक्रम सञ्चालनसम्म करिब ६ सय स्वयंसेवक पोसाकसहित खटिने र उद्घाटनका दिन झण्डै २ हजार स्वयंसेवक परिचालन गरिने उहाँले जानकारी दिनुभयो । एमाले भक्तपुरका उपाध्यक्ष तथा वाग्मती प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले कार्यक्रम स्थलमा आवश्यक पूर्वाधार निर्माणकाे काम आजैदेखि डोजर परिचालन गरेर सुरु गरिएको बताउनुभयो। उहाँका अनुसार चौरको पूर्वतर्फ मुख्य मञ्च निर्माण गरिनेछ भने शौचालयसहितका पूर्वाधार क्रमशः तयार पारिँने छन्। उद्घाटनका दिन पूर्वतर्फबाट आउने सवारीसाधनलाई जगातीस्थित इँटा तथा टायल उद्योग परिसरमा र पश्चिमतर्फबाट आउने सवारी साधनलाई गठ्ठाघर–कमेरोटार क्षेत्रमा पार्किङ गरी र्यालीसहित कार्यक्रमस्थल प्रवेश गराउने व्यवस्था मिलाइएको थापाले जानकारी दिनुभयो।