'सपना हो कि बिपना?': हिमाचलमा एकैठाउँ नौ नेपाली 'जलेपछि' शोकमग्न छ सल्यानको टाकुरागाउँ - www.bbc.com
BBC भारतमा रहेका काइँला काकासहित उनको पूरै परिवारको "मृत्यु भएको" खबर एक्कासि कानमा पर्दा सल्यान जिल्लास्थित सिद्धकुमाख गाउँपालिका-२, टाकुरागाउँका गोपाल विक छाँगाबाट खसे झैँ भए। "सपनामा हो कि बिपनामा जस्तै भयो। जलेका शवहरू भेटिएपछि विश्वास गर्न बाध्य भइयो। नसोचेको घटना भयो हाम्रो परिवारमा," उनले भने। गोपाल विकका अनुसार घटना हुनुभन्दा केही दिनअघि पुष २४ गतेतिर उनले काका धनबहादुरसँग फोनमा कुरा गरेका थिए। 'नेपालीहरू निसासिएर मरेको देखियो': गोवामा बीभत्स घटना भएको क्षेत्र 'सुरक्षित मानिन्थ्यो' गोवाको नाइटक्लबमा 'ग्यास सिलिन्डर पड्किँदा' पर्यटक र कर्मचारीसहित २५ जनाको मृत्यु "कमाइ खासै केही छैन। वैशाखमा घर आएर बच्चाबच्चीलाई विद्यालयमा भर्ना गरेर फेरि 'कालापार' आउनुपर्ला। छोराछोरीको पढाइ लेखाइप्रति चिन्ता लागेको छ," कुराकानीमा धनबहादुरले भनेको गोपाल सम्झिन्छन्।गोपाल धनबहादुरका जेठा दाइका छोरा हुन्। उनका अनुसार अनुसार ३३ वर्षीय धनबहादुर १२/१३ वर्षको उमेरदेखि नै रोजागरी गर्न भारत जान थालेका थिए। तीन वर्षअघिसम्म उनी छ महिना नेपालमा र छ महिना भारतमा बिताउँथे। नौ नेपाली दिल्लीस्थित नेपाली दूतावासका अनुसार हिमाचल प्रदेशको सोलन जिल्लाको अर्कीबजारमा पुस २८ गते सोमवार बिहान सबेरै २ बजेतिर आगलागी भएको र ग्यासका सिलिन्डरहरू विस्फोट हुँदा एकैठाउँ बसेका नेपाली श्रमिक र तिनका परिवारजन परेको आशङ्का गरिएको जानकारी दिएको छ। उक्त घटनापछि नौ नेपाली सम्पर्कविहीन भए। प्रहरीले उपलब्ध गराएको सूचीमा ३३ वर्षीय धनबहादुर, उनकी पत्नी कविता, उनीहरूका दुई छोरी राधा र रेनुका एवम् काखे छोरा रेजानको नाम पनि छ। त्यस्तै ४२ वर्षीय काशीराम, उनकी पत्नी टीका, छोरी अनु र छोरा सन्दीप पनि त्यो सूचीमा छन्। मङ्गलवार मध्याह्नसम्म दुई जनाको शरीरका भाग फेला परेको तर डीएनए परीक्षणपछि मात्र उनीहरूको परिचय खुल्न सक्ने रहेको बताइएको छ। नेपाली दूतावासस्थित एक अधिकारीका अनुसार भग्नावशेष हटाएपछि घटनास्थलमा थप व्यक्तिका शव वा अवशेष फेला पर्न सक्ने ठानिएको छ।भारतीय अधिकारीहरूले आगलागीमा परेका कोही पनि जीवित फेला पर्न सक्ने सम्भावना नभएको जनाएका छन्। नेपालीलाई 'न करारपत्र न कुनै सुरक्षा': भारतको कामलाई वैदेशिक रोजगारीको मान्यता नदिँदा परेको सकस मेघालयमा 'नेपाली कामदारको हत्या', कोइलाखानीमा 'बुझेर' मात्र काम गर्न जान आग्रह बस्ने घरबाहेक उब्जाएर खाने जमिन थिएन Himachal Police हिमाचल प्रहरीले आगलागीमा परेर सम्पर्कविहीन भएका कोही पनि जीवित नभएको आशङ्का गरेको छ आफन्तहरूका अनुसार धनबहादुर विकले तीन वर्षअघि आफूसँगै श्रीमती र दुई छोरीलाई पनि लिएर गएका थिए। उनका छोरा त्यहीँ जन्मिएका हुन्। गत वर्ष श्रीमती कविता छोराको जन्मदर्ता गर्न घर आएर फर्किएकी थिइन्।पाँच दाजुभाइमध्ये धनबहादुर काइँला हुन्। जेठा दाइ र कान्छा भाइको पहिले नै निधन भइसकेको छ। माइला र साइँला दाइ अहिले दाङतिर बस्छन्। धनबहादुरको गाउँमा सानो झुप्रो घरबाहेक जग्गा जमिन केही छैन। त्यसैले उनी भारतमा हुने कमाइमा निर्भर थिए। "गाउँमा न उब्जाएर खाने जग्गा जमिन थियो न त रोजगारी नै। त्यसैले कालापार नगई नहुने बाध्यता थियो," गोपाल भन्छन्।गोपालले धनबहादुरका ससुरा र आफन्तलाई उक्त घटनाबारे जानकारी गराएका थिए।धनबहादुर र काशीरामका दुई परिवार काम गर्ने मालिकको घरको माथिल्लो तलामा बस्ने गरेको बताइन्छ। उक्त घरको तल्लो तलामा रहेको पसलमा आगलागी सुरु भएको ठानिएको छ। भारतको महाराष्ट्रमा समुद्रमा काम गर्ने दर्जनौँ नेपाली, उनीहरूको अवस्था यस्तो छभारतीय विमानस्थलमा पक्राउ पर्दै 'नक्कली दस्तावेज' बोकेका नेपाली गाउँमै अन्त्येष्टि गर्ने चाहना BBC दुवै परिवार बर्सेनि कालापार जाने र त्यही कमाइबाटै गुजारा चलाउँदै आएका थिए।आगलागीमा नौ जना परेको खबरले अहिले सल्यानको टाकुरीगाउँ शोकमा डुबेको छ। मङ्गलवार वडाका विद्यालय तथा सरकारी कार्यालयहरू बन्द भए। कालापारमा धनबहादुर र काशीरामको परिवार दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएको उनका आफन्तहरू बताउँछन्।श्रीमती,एक छोरी र एक छोरासँगै ज्यान गुमाएका काशीरामको नेपालको घरमा पहिलो श्रीमतीबाट ११ वर्षको एउटा छोरा छन्। अहिले उनी घरमै बाजेबज्यैसँगै बस्छन्।आगलागीमा परी ज्यान गुमाएका सबैको शव गाउँमै ल्याएर अन्त्येष्टि गर्ने चाचहना आफन्तहरूको छ। सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले शवहरू गाउँसम्म ल्याउनको लागि आवश्यक पहल र समन्वय गर्ने बताए।जनप्रतिनिधि र परिवारले सहयोग मागेर शवहरू ल्याउन स्थानीय प्रशासनले आवश्यक सहयोग र समन्वय गरेर शव ल्याइने बताइएको छ। भारतमा काम गर्न जाने श्रमिक पनि अब वैदेशिक रोजगार नीतिको 'दायरामा'भारतमा नेपालीलाई बन्धक बनाएर रकम असुल्ने 'नयाँ तरिका' बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।