Redirecting...

चन्द्रागिरी हिल्सले हकप्रद सेयर किन निष्काशन गर्न लाग्यो? यस्तो छ कारण - www.nepalclicks.com

चन्द्रागिरी हिल्सले हकप्रद सेयर किन निष्काशन गर्न लाग्यो? यस्तो छ कारण - www.nepalclicks.com
Source: nplk

काठमाडौं। होटलसहितको केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरी हिल्स लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले हाल बोनस शेयर वितरणपश्चात कायम हुने चुक्ता पुँजीको १ः१ अनुपातमा शतप्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव गरेको हो। उक्त प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारणसभामा पेश गरिनेछ। कम्पनीका फाइनान्स हेड विनायक पोखरेलले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको भार घटाउन र नयाँ परियोजनामा लगानी गर्न हकप्रद निष्कासन गर्न लागिएको जानकारी दिए। “चन्द्रागिरी हिल्समा बैंकको लगानी उल्लेख्य मात्रामा छ,” उनले नेपाल क्लिक्ससँग भने, “हकप्रदबाट प्राप्त रकमको प्राथमिक उपयोग बैंक ऋण चुक्तामा उपयोग गरिनेछ।” त्यस्तै, कम्पनीले भविष्यमा थप पूर्वाधार विस्तार गर्ने योजना पनि बनाएको छ उनले बताए। “टप स्टेसनसम्म सहज आवतजावतका लागि सानो केवलकार निर्माण गर्ने र हाल सञ्चालनमा रहेको वैक्वेट हल सानो भएकाले ठूलो क्षमताको नयाँ निर्माण गर्ने विषयमा छलफल भइरहेको छ,” पोखरेलले भने। चन्द्रागिरी हिल्सको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २०७७ माघ २३ गते सूचिकृत भएको थियो। हाल नेप्सेमा कम्पनीको कुल १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर सूचिकृत छन्। जसमा संस्थापक समूहको ८८ प्रतिशत र सर्वसाधारणको १२ प्रतिशत हिस्सा रहेको छ। सूचिकरणपछिका चार वर्षमध्ये कम्पनीले तीन वर्षसम्म शेयरधनीलाई लाभांश वितरण गर्न सकेको थिएन। तर, चालु आर्थिक वर्षमा भने कम्पनीले शेयरधनीलाई राहत दिने संकेत गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पुस २३ गते बस्ने साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ। नेप्सेमा होटल एण्ड टुरिजम समूहअन्तर्गत सूचिकृत चन्द्रागिरी हिल्सले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको चन्द्रागिरी डाँडामा केबुलकार, रिसोर्ट र अन्य पर्यटकीय सेवा सञ्चालन गर्दै आएको छ। कम्पनीको इतिहास हेर्दा, सन् २००९ मा ‘काठमाडौं फनपार्क’ का रूपमा स्थापना भई पछि सन् २०१६ मे १६ मा चन्द्रागिरी हिल्सका रूपमा पुनःसंरचना गरिएको हो। करिब ३६ हेक्टर क्षेत्रफलको जग्गा लिजमा लिएर सञ्चालन भइरहेको यो परियोजना आइएमई ग्रुपअन्तर्गत छ। यद्यपि चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको एक करोड २४ लाख रुपैयाँ नोक्सानमा छ। अघिल्लो आर्थिक वर्षको अन्तिम त्रैमासमा कम्पनीले २५ करोड ५९ लाख भन्दा बढी नाफा आर्जन गरेको थियो। यो वर्ष जेन्जी आन्दोलनका कारण चन्द्रागिरीको केबलकार र पाँचतारे होटल बन्द भएकाले पहिलो त्रैमासमा नाफामा गिरावट आएको हो। गत भदौ २४ गते भएको तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्णरुपमा क्षति पुगेको थियो। त्यसलगत्तै चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो। पछि दुई महिनापछि यो कम्पनीले सेवा सञ्चालनमा ल्याएको थियो।