भन्सार नियमावली आज मन्त्रिपरिषद्मा जान्छ : अर्थमन्त्री खनाल - www.pardafas.com
अर्थमन्त्री रामेश्वर खनालले भन्सार ऐन कार्यान्वयनमा जाने चरणमा रहेको बताएका छन् । मन्त्री खनालले भन्सार ऐन आएपनि नियमावली नआएकै कारण ऐनमा भएका व्यवस्था कार्यान्वयनमा जान नसक्ने अवस्थाको अन्त्य गर्न लागेको बताएका हुन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले निजी क्षेत्रलाई सहज र भन्सारलाई व्यवस्थित गराउन भन्सार ऐन जारी गरिएको जानकारी दिए । उनका अनुसार, भन्सार ऐनलाई पूर्ण रूपमा सरकारले कार्यान्वयन गर्नेछ । त्यसैका लागि मन्त्रीपरिषद्बाट नियमावली स्वीकृत गराउन लागिएको हो । सकभर आज मन्त्रिपरिषद्मा भन्सार नियमावली पुग्नेछ । भन्सार ऐनलाई लिएर कतिपयले दण्ड धेरै चर्को भयो भन्ने गुनासाहरू आउने गरेको बताउँदै खनालले दण्ड भरसक गर्नै नपर्ने स्थिति उत्पन्न हुनुपर्ने बताए । निजी क्षेत्र र भन्सार–अर्थ मन्त्रालय सहकार्य गरेर अब दण्डै गर्ननपर्ने अवस्थामा जानुपर्ने खनालले बताए । अर्थमन्त्री खनालले भन्सार सुधार रणनीति छिटो ल्याएर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । उनले आफू निजी क्षेत्रमैत्री अर्थमन्त्री भएकाले सुधारका लागि विभिन्न प्रयत्न गरिरहेको समेत बताए ।